राष्ट्र बैंंकको निर्देशनबारे के भन्छन् बैंकरहरू ?

  २०७६ असार १२ गते १६:३६     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकले बैंकरहरूलाई बोलाएर १५ दिनभित्र उपयुक्त पार्टनर खोजेर मर्जरमा जान निर्देशन दिएसँगै बैंकरहरू तनावमा परेका छन् । नेपाल राष्ट्र बैंकले असार २७ गते मौद्रिक नीति आउने जानकारी गराउँदै सो समयभित्र मर्जरका लागि वाणिज्य बैंकहरुले आ-आफ्नो उपयुक्त पार्टनर खोज्न भनेको छ । तर, यति ठूलो वासलात भएका बैंकहरुलाई दुई सातामै मर्जरमा जाने भन्ने विषय सजिलो नभएको प्रतिक्रिया दिएका छन् ।

सो विषय उनीहरुले छलफलको क्रममा पनि उठाएका थिए, तर राष्ट्र बैंकले भने जसरी पनि १५ दिनभित्र पार्टनर खोज्न, नभए फोर्सफुल्ली मर्जरका लागि तयार रहन निर्देशन दिएकोे छ । बैंकरहरुले पनि नेपाल राष्ट्र बैंकले दिएको सो निर्देशन समय र व्यवस्थापनको हिसाबले त्यति प्रभावकारी नभएको टिप्पणी गरेका छन् । नेपाल बैंकका अध्यक्ष बासुदेव अधिकारीले राष्ट्र बैंकले दिएको निर्देशनको लय सही भएपनि समय पर्याप्त नभएको बताए । ‘गभर्नरज्यूको लवज राम्रो छ, तर समय छोटो भयो’ बैठकका सम्बन्धमा छोटो प्रतिक्रिया दिँदै उनले भने ।

मर्जरमा जान समस्या होइन, यसभित्रका जटिलतालाई कसरी व्यवस्थापन गर्ने तथा के कसरी जाने विषय भने जटिल भएको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । ‘बैकिङ प्रणालीमा देखिएका कमी कमजोरी मर्जबाट समाधान गर्न सकिन्छ भन्ने राष्ट्र बैंकबाट कुरा आएको छ,’ उनले भने ‘मर्जर त गर्ने, तर कसरी गर्ने के गर्ने भन्ने मुख्य सवाल हो ।’ ‘पार्टन खोज्न सजिलो छैन । मर्जर गर्न हुँदैन भन्ने कसैको पनि भर्सन होइन । संख्या बढी भएकोमा सबैको सहमति छ । मर्जर गर्ने कुरामापनि सबैको सहमति छ । एउटा बैंकलाई १० लाख नागरिक पर्छन् । २० लाखसम्म सेवा दिन सकिन्छ भन्ने हो,जुनसुकै कदम चाल्दा पनि हडबड गर्नु हुँदैन’ दाहालले भने ।

नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले राष्ट्र बैंकले मर्जरका लागि निर्देशन दिएको नभई छलफल मात्रै गरेको बताए । राष्ट्र बैंकले उठाएका सवालका विषयमा अघि बढ्न कुनै आपत्ती छैन,’ उनले भने- ‘नियामक निकायको अधिकार क्षेत्रभित्र पर्ने विषयमा हाम्रो कुनै असहमति छैन ।’ पार्टनका विषयमा सञ्चालक समितिको बैठक बसेर सल्लाह गर्ने हो । ‘मर्जर गर्ने कि नगर्ने, पुँजी कति पुर्याउने जस्ता विषय राष्ट्र बैंकको क्षेत्राधिकारको विषय हो, हामीले त्यसलाई मान्नुपर्छ, सहयोग गर्ने गरी अघि बढ्छौं ।’

तरलताको मिसम्याच, कर्जाको बढ्दो जोखिमका कारण खराब कर्जाको अंक बढ्दै जानु, राष्ट्र बैंकले प्राथमिकता तोकेका क्षेत्रमा पर्याप्त लगानी नगर्नु लगायतका समस्या रहेको राष्ट्र बैंकले औल्याएको छ । आधार र स्प्रेड दरलाई पनि स्थायित्व दिनु पर्नेमा राष्ट्र बैंकले जोड दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.