काठमाडौँ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको बुधबार स्थगित वार्षिक साधारण सभा असार ३१ गते हुने भएको छ। कम्पनीका अनुसार शुक्रबार मात्रै यस सम्बन्धमा सम्पूर्ण सेयरधनीलाई सूचना प्रकाशन गरेर साधारण सभाको विस्तृत जानकारी दिइने छ ।
कम्पनी नियमावली अनुसार साधारण सभामा ६७ प्रतिशत सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व हुनु पर्नेछ । तर, बुधबार ५१ प्रतिशत संस्थापक र ५६ प्रतिशत मात्रै सर्वसाधारण शेयरधनी उपस्थित भएका कारण साधारण सभा स्थगित भएको थियो ।
साधारणसभामा ४ जना सञ्चालक निर्वाचनसँगै कम्पनीको निर्वाचन नियमावलीसमेत संशोधन गरी गणपुरक संख्या ५१ प्रतिशत कायम गर्ने प्रस्ताव गरिने बुझिएको छ ।
आठ लाख १८ हजार शेयरधनी रहेको उक्त कम्पनीमा चार जना सञ्चालकको निर्वाचनका लागि तीन महिला सहित १२ जनाले उम्मेदवारी दिएको कम्पनीले जनाएको छ ।
© bikashnews.com