म्याग्दी मालपोत कार्यालयले शुरु गर्यो अनलाइन सेवा, तथ्याङ्क विश्वसनीय हुने

  २०७६ असार १२ गते १३:२५     विकासन्युज

काठमाडौं । मालपोत कार्यालय म्याग्दीले मालपोतसम्बन्धी अनलाइन सेवा शुरु गरेको छ । सेवाग्राहीको फोटो, औँठाछाप र हस्ताक्षर सबै डिजिटल नै प्रयोग गर्ने गरी अनलाइन सेवा शुरु गरेको हो ।

अनलाइन सेवाको डाटा सिंहदरबारमा रहने भएकाले त्यसको दुरुपयोग नहुने, भरपर्दो र  विश्वसनीय हुने मालपोत अधिकृत मुकुन्द पौडेलले बताए । अनलाइन सेवा प्रवाह भएपछि अहिलेको प्रविधिअनुसार, पारदर्शी र सुशासन अपनाउने, तथ्याङ्क राख्ने र राजश्व सङ्कलन गर्नेलगायतका काम हुने भएको छ ।

पुर्जा बनाउने, जग्गा रोक्का, नामसारी, जग्गा दर्तालगायतका सेवाका लागि दैनिक सयौं सेवाग्राही कार्यालयमा आउने गरेका छन् । अनलाइन सेवाले कामलाई चुस्त र विश्वसनीय बनाउने अधिकृत पौडेलको भनाइ छ । अनलाइन सेवा शुरु गर्नका लागि मालपोतका कर्मचारीलाई प्राविधिक तालीमसमेत प्रदान गरिएको थियो ।

उक्त प्रविधिको प्रयोगमार्फत् भूमि अभिलेख प्रणालीलाई व्यवस्थित, कर छली रोक्न र सेवा प्रवाहलाई छिटो छरितो बनाउने उद्देश्यले अनलाइन सेवा शुरु गरेको हो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले सेवाग्राहीलाई अनलाइन प्रणालीबाट जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराएर बुधबार सेवाको शुभारम्भ गरेका थिए ।

यसैगरी,पूर्वाधार र प्रविधिको थप व्यवस्थापन गरेर अनलाइन सेवालाई प्रभावकारी बनाउन  पहल गर्ने अधिकृत पौडेलले बताएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.