नेपाली काङ्ग्रेसको जागरण अभियान, प्रतिनिधिसँगअन्तरक्रिया जारी

  २०७६ असार १२ गते १२:०६     विकासन्युज

काठमाडौं । नेपाली काङ्ग्रेसले जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया जारी राखेको छ । पार्टीले बुधबारदेखि शुरु गरेको जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँगको छलफल तथा अन्तरक्रिया बिहीबार बिहान ८ बजेबाट पुनः शुरु गरेको हो ।

बुधबार मात्र २६ प्रतिनिधिले छलफल तथा अन्तरक्रियामा भाग लिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । काङ्ग्रेसले वैशाख २५ देखि जेठ २५ सम्म देशभर सञ्चालन गरेको ‘हिमाल, पहाड, तराई–मधेस नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियान’मा खटिएका केन्द्रीय प्रतिनिधिसँग छलफल गरेको हो ।

बैठकमा पार्टीको संरचना तल्लो तहसम्म लैजानुपर्ने, पार्टीभित्रको आन्तरिक विवाद तत्काल टुङ्ग्याउनुपर्ने, सरकारको गलत क्रियाकलापलाई जनतासम्म लैजानुपर्ने लगायतका विषयमा कुरा उठेको पार्टीबाट केन्द्रीय प्रतिनिधिका रूपमा धनकुटा खटिएका नेता दीपक खड्काले जानकारी दिए । छलफल तथा अन्तरक्रियामा केन्द्रीय प्रतिनिधिले जागरण अभियानका क्रममा जिल्लाका नेता तथा कार्यकर्ताले दिएको राय सुझावलाई सभापति, पदाधिकारी तथा पूर्व पदाधिकारीसमक्ष राखेका छन् ।

अभियानका क्रममा काङ्ग्रेसले एक महिनासम्म सबै जिल्ला, क्षेत्र, गाउँ–नगर र वडास्तरमा दुई हजार बढी बैठक, भेला, सभा, र्याली, विचार–बहसलगायत कार्यक्रम गरेको थियो । छलफल तथा अन्तरक्रियामा उठेका विचारलाई असार २२ देखि शुरु हुने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा छलफलमा लैजाने काङ्ग्रेसले जनाएको छ । काङ्ग्रेसले दोस्रो चरणको जागरण अभियान आगामी भदौ २४ देखि असोज ७ गतेसम्म र तेस्रो चरणको जागरण अभियान पुस ७ देखि १६ सम्म सञ्चालन गर्दैछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.