११ ब्रोकर कम्पनीले बिहीबार मार्जिन ट्रेडिङको लाइसेन्स पाउने(सूचिसहित)

  २०७६ असार ११ गते १८:०३     विकासन्युज

काठमाडौं । ११ वटा ब्रोकर कम्पनीले बिहीबार नेपाल स्टक एक्जेन्ज( नेप्से) बाट मार्जिन ट्रेडिङको लाइसेन्स पाउने भएका छन् । राष्ट्र बैंकले मार्जिन ट्रेडिङ कारोबार गर्न दिव्या सेक्युरीटीज(५९), आर्यतारा सेक्युरीटीज(५७), क्रिष्टल सेक्युरीटीज(५०), दिपशिखा सेक्युरीटीज(३८), सेक्युर्ड सेक्युरीटीज(३६), कोहिनुर सेक्युरीटिज(३५), भिजन सेक्युरीटीज(३४), दक्षिणकाली सेक्युरीटीज(३३), श्रीकृष्ण सेक्युरीटीज(२८), प्राइमो सेक्युरीटीज(१६) र नेपाल स्टक हाउस(१४)लाई  स्वीकृति दिएपछि नेप्सेले प्रमाणपत्र वितरण गर्न लागेको हो । राष्ट्र बैंकले १० वटा ब्रोकर कम्पनीलाई केही दिन अघि र एक वटालाई बुधबार मार्जिन ट्रेडिङ गर्ने स्वीकृति दिएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले जानकारी दिए ।

नेपाल स्टक एक्चेन्जका प्रवक्ता मुराहरि पराजुलीले मार्जिन ट्रेडिङका लागि भोलि ११ ब्रोकर कम्पनीसँग छलफल गर्न लागिएको बताए । ‘उनीहरूले भोलि मार्जिन ट्रेडिङको सुविधा पाउने छन् ,’ उनले भने ‘हामी यस विषयमा भएका प्रगतिका विषयमा छलफल समेत गरेर लाइसेन्स दिँदैछौं ।’ लगानीकर्तासँग सेयर किन्नका लागि पर्याप्त रकम नहुँदापनि सेयर किन्न सकिने सुविधालाई मार्जिन ट्रेडिङ भनिन्छ । यदि कुनै लगानीकर्ताले एक लाख रुपैयाँको सेयर किन्न चाहना गर्नुभएको छ, तर उहाँसँग ५० हजार रुपैयाँमात्रै छ भने वाँकी ५० हजार रुपैयाँ मार्जिन लोन लिएर एक लाख रुपैयाँको सेयर कारोबार गर्नु मार्जिन ट्रेडिङ हो । ।

यस्तो लोन सेयर ब्रोकरहरूले लगानीकर्तालाई उपलब्ध गराउँछन् । यसरी लोन दिलाए वापत सेयर ब्रोकरहरूले व्याज अथवा अन्य शूल्कहरू लिन्छन् । तपाईँलाई एक हजार रुपैयाँको सेयर किन्नुपर्यो । तर, तपाईँसँग पाँच सय रुपैयाँ मात्रै छ भने बाँकी पाँच सय रुपैयाँ मार्जिन लोनको रुपमा लिएर एक हजार रुपैयाँको मार्जिन कारोबार गर्न सक्नुहुन्छ । मार्जिन कारोबार कसरी गराउने र मार्जिन लोन दिनका लागि के कस्ता प्रक्रिया पूरा गर्ने भन्ने विषयमा नेपाल धितोपत्र बोर्डले केही निर्देशनहरु दिएको थियो । सोही निर्देशनको आधारमा मार्जिन कारोबार गर्न नेप्सेले कार्यविधि बनाएको छ ।

कस्ता कम्पनीले मार्जिङ लोन कारोबारको सुविधा पाउछन् ?

कम्तीमा १० हजार सेयरधनी भएको र पछिल्लो दुई आर्थिक वर्षमा १० प्रतिशतभन्दा बढी लाभांश दिएको कम्पनीलाई मार्जिन दिन सकिने व्यवस्था गरिएको छ । दोस्रो बजारमा कम्तीमा पनि दैनिक ८० प्रतिशत सेयर कारोबार भएको र आर्थिक वर्षको प्रथम ६ महिनाभित्रै वार्षिक साधारणसभा गरेको कम्पनीले मात्रै मार्जिन सुविधा पाउने प्रावधान छ ।

मार्जिन लोन बढीमा तीन महिनासम्मको लागि दिइन्छ । तीन महिनापछि यसलाई नवीकरण गर्नुपर्ने हुन्छ । मार्जिन ट्रेडिङकोे लागि लगानीकर्ताले ब्रोकरसँग सम्झौता गरेको हुन्छ । मार्जिन कति हुने, सम्भार मार्जिन कति हुने, मार्जिन कल कसरी गर्ने, मार्जिन कल नहुँदा रेखदेख कसरी गर्ने र त्यसको हिसाब किताब कसरी राख्ने भन्ने विषयहरु समेटिएको हुन्छ ।

मार्जिन कारोबारको लागि एउटा छुट्टै खाता खोलिन्छ । मार्जिन कारोबार गरिएको सेयर त्यसै खातामा जम्मा हुन्छ । बैंक हिसाबपनि मार्जिन खातामा नै राखिन्छ । मार्जिन कारोबारको अभिलेख दैनिक रुपमा नेप्सेलाई उपलब्ध गराउनुपर्ने हुन्छ । सेयर कारोबारी र ब्रोकरबीचमा सम्झौता भइसके पछि मार्जिन रकम सेयर कारोबारीले ब्रोकरको मार्जिन खातामा राख्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.