राष्ट्रियसभामा विनियोजन विधेयक पेश, के-के भन्छन् सांसदहरु ?

  २०७६ असार ११ गते १३:०१     विकासन्युज

काठमाडौं । राष्ट्रियसभाको बुधबार बसेको बैठकमा सभाका सचिव राजेन्द्र फुयाँलले ‘विनियोजन विधेयक २०७६’ पेश गरेका छन् । प्रतिनिधिसभाबाट सन्देशसहित सो विधेयक पठाइएको थियो । यसअघि बैठकको शून्य समयमा सांसद दीपा गुरुङले ग्रामीण क्षेत्रमा रहेका क्याम्पसलाई सञ्चालन गर्न सरकारले दिने रकम वृद्धि गरी रु दश लाखदेखि १५ लाखसम्म पुर्याउन उनले माग गरिन् ।

सांसद दुर्गाप्रसाद चापागाइँले मानो रोपेर मुरी उब्जाउने समयमा मलखाद अभाव भएकामा सरकारको ध्यानाकर्षण गराउँदै मलको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारवाहीको दायरामा ल्याउन जोड दिए । सांसद नन्दा चापागाइँले राष्ट्रियसभाको विधायन समितिमा गुठीसम्बन्धी कानूनलाई एकीकृत र संशोधन गर्न बनेको विधेयक २०७५ माथि छलफल नै नभएको अवस्थामा पत्रपत्रिकाले झारा टार्ने तरिकाले छलफल भयो भन्नु गलत रहेको बताएका छन् ।

सांसद बद्री पाण्डेले कञ्चनपुर पुनर्वास नगरपालिकाको नगरसभा उद्घाटनमा भाग लिन गएका नेपाली काङ्ग्रेसका स्थानीय नेता तथा कार्यकर्तामाथि साङ्घातिक हमला गरिएकामा विरोध जनाउँदै सो घटनामा सरकारले सुरक्षाको प्रत्याभूति दिन नसकेको आरोप लगाए ।

अर्का सांसद रमेशजङ्ग रायमाझीले काठमाडौँ उपत्यकाभित्र विशेषगरी साँझको समयमा बाटोमा हिँडिरहेका युवतीमाथि सिरिञ्ज रोप्नेलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गरे । राष्ट्रियसभाको दोस्रो बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले ‘विनियोजन विधेयक, २०७६ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।

उक्त विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद प्रकाश पन्तले मौलिक हक कार्यान्वयनका लागि बनेका ऐन कार्यान्वयन गर्न विनियमावली ल्याउन माग गर्दै सामाजिक सुरक्षामा बजेट वृद्धि गर्न पनि जोड दिए ।

त्यस्तैैगरी,सांसद खिमलाल भट्टराईले आर्थिक समृद्धि हासिल गर्न नयाँ बजेटले सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै बजेट वितरणमुखी नरहेको टिप्पणी गरेका छन् । सांसद बद्री पाण्डेले बजेटको सिद्धान्त र व्यवहार बीचमा तालमेल नरहेको र शिक्षा तथा स्वास्थ्यमा कम बजेट विनियोजन गरिएकामा आपत्ति जनाउँदै प्रधानमन्त्री रोजगारी कार्यक्रममा विनियोजित रकम हिनामिना भएकामा सरकारको ध्यानाकर्षण गराए ।

सांसद डा. विमला राई पौडेलले स्वदेशी उद्योग संरक्षणमा बजेटले प्राथमिकता दिनु सकारात्मक रहेको उनले बताएकी हुन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.