आधुनिक प्रणालीतर्फ उन्मुख कृषकलाई नयाँ प्रविधिका सामग्री वितरण

  २०७६ असार ११ गते ११:२१     विकासन्युज

काठमाडौं । धुलिखेल नगरपालिकाले किसानको आयस्तरमा वृद्धि गर्नका लागि परम्परागत खेती प्रणालीबाट आधुनिक प्रणालीतर्फ अगाडि बढाउन कृषकलाई मेसिनरी सामग्री वितरण गरेको छ ।

नगरपालिकाभित्रका कृषिलाई प्राथमिकीकरण गरेर किसानलाई प्रविधि हस्तारण गर्दै उनीहरुले गर्दै आएका उत्पादन र लागत सहभागितामा सहजीकरण होस् भन्ने उद्देश्यले मेसिनरी सामग्री वितरण गरेको नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले बताए । “त्यसका लागि हामीले नगरपालिकाबाट दुग्ध उत्पादक किसानलाई चिस्यान केन्द्र, किसानलाई थ्रेसर मेसिन, खेत खन्ने मेसिन, धान काट्ने मेसिन र मकै छोडाउने मेसिनलगायतका विभिन्न खाले मेसिन अनुदानमा वितरण गरेका छौँ”, उनले भने, “यसबाट ग्रामीण तहको कृषि उत्पादनमा पनि वृद्धि गर्दै आयआर्जनमा वृद्धि हुने र किसानमा रहेको परम्परागत खेती प्रणालीमा आधुनिकीकरण प्रवेश गराउँदै उनीहरुको जीवनस्तरमा नै सुधार ल्याउने उद्देश्यका साथ यो काम गरिरहेका छौँ ।”

त्यससँगै कृषि उत्पादनलाई बजारीकरण गर्नका लागि उत्पादनलाई बजारसँग जोडेर काम गरिरहेको नगरपालिकाले जनाएको छ । नगरप्रमुख ब्याञ्जुले नगरभित्रका पाँच ठाउँमा तरकारी र फलफूल सङ्कलन केन्द्र बनाउँदै गरेको र ती सबै ठाउँका तरकारी तथा फलफूललाई एक ठाउँमा केन्द्रित गरी यहाँबाट काठमाडौँ पुर्याउनका लागि काठमाडौँमा पनि केन्द्र स्थापना गर्न आवश्यक भएकाले ती ठाउँमा पनि सङ्कलन केन्द्र स्थापनाको तयारीमा रहेको बताएका छन् ।

“त्यसका लागि करिब दुई हजार किसानलाई आबद्ध गराएर किसानमा प्रविधि, सीप, दक्षता, र सशक्तीकरण गर्ने काम गर्छौँ”, उनले भने । त्यससँगै परम्परागत रूपमा सञ्चालन हुँदै आएको आरनलाई सुधार गर्नका लागि मेसिन वितरण गरिएको छ ।

नगरपालिकाले आदिवासी जनजाति, दलित, युवा पिछडिएका वर्गको हितका लागि परिषद्हरु गठन गरेको र त्यसबाट बेरोजगार युवा, महिला, दलित, जनजातिलाई सीपमूलक तालिम दिने, सीप सिकेकालाई काम गर्नका लागि सामग्री हस्तारण गर्ने र त्यसका लागि पुँजी नभएकाहरुका लागि अरु थप गरिबी निवारण मेयर कोषबाट निब्र्याजी ऋणसमेत दिएर जीवनस्तर उकास्ने काममा अगाडि बढिरहेको नगरपालिकाले जनाएको छ ।

उक्त नगरपालिकाले ती सबै उद्देश्यलाई पूर्ति गर्नका लागि कृषकलाई ५० प्रतिशत अनुदानमा ७५ ट्र्याक्टर वितरण, प्लाष्टिक टनेल १०० थान, मकै छोडाउने मेसिन नौ, नमूना आरन सुधारका लागि प्रविधियुक्त मेसिनरी सामग्री वितरण गरिएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.