विकासमा दक्ष जनशक्तिलाई रेडकार्पेट

  २०७६ असार ११ गते ८:५३     भीमप्रसाद उपाध्याय

रेल ईन्जिनियरिङमा दक्षता र उच्चशिक्षा बढाउन/पढाउन र ईन्टर्न गराउन अब सरकारले आफ्ना २५ जना विभिन्न विषयका सम्बद्ध ईन्जिनियरलाई विदेश पठाउनुपर्छ र निजामति ईन्जिनियरिङ सेवाको सिभिल समूहभित्र रेल समूह गठन गरी यसमा रूची हुने कर्मचारीलाई समूहकृत गरेर सेवा र विभाग सञ्चालन गर्न थाल्नुपर्छ । सडक विभागका जो पायो त्यो ईन्जिनियरलाई धकेलेर रेल विभाग पठाउने र उसलाई रेलविज्ञ भनाउने हास्यास्पद काम रोक्नुपर्छ । अन्य उपाय नहुदा क्राईसिस म्यानेजमेन्ट गर्नु ठीकै हो तर सधैं क्राईसिसमा राखेर म्यानेजमेन्ट गरिनु मुर्खराज हुन्छ ।

शिक्षा मन्त्रालयमार्फत बाहिरका विद्यार्थीलाई रेल वा कुनै अन्य विषय पढ्न विदेश पठाउदैमा फर्केपछि निजामति सेवा प्रवेश गर्न लोकसेवा दिन भ्याकेन्सी हुने नहुने पास गर्ने नगर्ने हुन सक्छ । त्यस्तो जनशक्तिको निजामति सेवा प्रवेश गर्ने सुनिश्चितता हुँदैन । रोजगारी नीति नहुँदा अहिले नै वर्षेनि सयकडौं ईन्जिनियर विभिन्न विधामा पढेर नेपाल फर्केर सडकमा हल्लिरहेका र केही वर्षभित्र विदेश भासिन बाध्य भैरहेका छन् ।त्यसैले सेवारत स्थायी ईन्जिनियर नै रेल वा पानी जहाज ईन्जिनियरिङ पढाएर उसकै समूह सेवामा काम लगाउने गर्ने गरी सेवासमूह गठन गरिएकै हुनुपर्छ ।

सहरी पूर्वाधार निर्माण र व्यवस्थापन अलग्गै गतिशील जटिल निरन्तर अध्ययन गर्दै सुधार र ईनोभेशन गर्ने विशिष्ट्य विषय हो । हाईवे बनाउने र घर बनाउने ईन्जिनियर वा विभागले यसलाई सम्बोधन गर्न सक्दैन यिनका चरित्र नै मिल्दैनन् ।

नेपालका नगरपालिकाहरूको सबैभन्दा कमजोर पक्ष भनेकै ईन्जिनियरिङ विकास र व्यवस्थापनको संस्थागत र दक्ष, अनुभवी र स्मार्टनेसको अभाव नै हो । गतिशील र रेस्पोन्सिभ विशिष्ट्य संस्थागत संस्कृतिबिहीन कार्यालय र जनशक्तिले जनअपेक्षा अनुरूप स्मार्ट सेवा दिन सक्दैन । टेक्निकल एडमिनिष्ट्रेशन स्वाहा हुँदै गएको दुःखद अवस्थामा नेपालको सरकारी संस्थाहरू छन् ।सक्षम संस्थाविना जनताले सुखसुविधा सरल र सहज पाउने कुरा एकादेशको कथा हुन्छ ।

वीरगञ्जका ४७ वर्षीय नेपाली इञ्जिनियर अफजल हुसेन विद्युतीय पावर प्लान्टका क्षेत्रमा १८ वर्षको अनुभव सँगालेका जर्मनीको ईलेक्ट्रो(मेकानिकल कम्पनी सिमेन्सका दुबईमा कामगर्ने एक्ला नेपाली सिनियर ईञ्जिनियर हुन् । उनी सिमन्स कम्पनीमा विद्युत उत्पादनमा प्रयोग हुने मेकानिकल पार्टसका साथै तेल तथा ग्यास टर्वाईनका विज्ञ मानिन्छन् ।

सिमेन्सको जर्मनीपछिको दोस्रो ठूलो कार्यालय दुवईमा छ तर मध्यपूर्व, युरोप, उत्तरअमेरिका लगायत विश्वका विभिन्न देशमा विद्युतीय मेसिनमा खराब आउनासाथ उनी त्यही देशमा पुग्छन्, मेसिनको कुन भागमा के खराबी भएको हो पत्ता लगाउँछन् र मर्मतसम्भार गर्ने अर्को टोलीलाई सल्लाह दिन्छन्, मेसिन मर्मत भइसकेपछि फाईनल ईन्सपेक्सन पनि आफै गर्छन् । अफजलका अनुसार नेपालबाहेक विश्वका सबै देशले सिमेन्स कम्पनीका मेसिनहरु विद्युत उत्पादनका लागि जडान गरेका छन् । ईन्जिनियर अफजल हुसेनलाई आफ्नो मातृभूमि नेपालमा पनि केही योगदान गर्ने चाहना छ ।

विकसित देशमा विद्यार्थीहरू विज्ञान र गणित नपढ्ने पढ्न रूचि नराख्ने गर्दा ती देशको अहिले निदहराम भैरहेको देखिन्छ । विज्ञान र प्रविधि पढ्ने जति आप्रवासी हुन थालेका छन् । यस्तो तालले मुलुकको प्रविधि क्षमता ह्रास हुदैजाने र प्रतिस्पर्धि अर्थतन्त्र वन्न नसक्ने हुनाले STEM Education (Science,Technology, Engineering & Maths) नीति लागू गरिरहेका छन् । बढी भन्दा बढीलाई बिज्ञान, टेक्नोलजी , ईन्जिनियरिंग र गणिततिर आकर्षित र प्रोत्साहित गरिदै छ । खुशीको कुरा नेपाल र भारतमा अब्बल विद्यार्थी जति यिनै विषयमा पढ्न रूचि गर्छन्, तर सरकारको भने यसमा कुनै शिक्षा वा रोजगार वा उपयोग नीति नै नास्ति !

अहिले भारतको निति आयोगका उपाध्यक्ष भारतीय प्रमका मोदीका बिकास ब्रेन डा अरविन्द गैरआवासीय भारतीय हुन् । राजीब गान्धी प्रम हुदा टेक्नोलजी कमिशनका अध्यक्ष र मनमोहन प्रमको पालामा नलेज कमिशनका उपाध्यक्ष वनाइएका राजीबका टेक्टोलजी ब्रेन र मनमोहनका नलेज ब्रेन भारतका टेलिकमका पिता मानिने डा साम पित्रोदा गैरआवासीय भारतीय हुन् ,पित्रोदा अहिले पनि युएन र अन्य दर्जनौं विश्व संस्थाहरूका मानार्थ र सक्रिय पदाधिकारी पनि छन् ।

पित्रोदाका नाममा ८० वटा पेटेन्ट दर्ता छ विभिन्न मुलुकमा । रिजर्ब बैंकका पुर्व गभर्नर डा रधुबीर राजनपनि गैर आवासीय भारती हुन् । यी जस्ता भारतीय जब मुलुकलाई जरूरी पर्छ विदेशी पासपोर्ट तिलान्जली दिएर स्वदेशमा घुडा धसेर लाग्छन् र बाहिर बसेपनि मुलुकलाई योगदान गरिरहन्छन् ।

विगतमा नेपालमा राजा महेन्द्रले पनि विदेशमा भएका पशुपति सम्सेर, भेषबहादुर, मोहम्मद मोहसिन जस्ता विद्वानहरूलाई नेपाल फर्काएर सिनास जस्ता विभिन्न थिंकट्यांक संस्थाहरू खोलेर जिम्मा दिएका थिए । घूडा धसेर काम गरेर मात्र पुग्दैन, घूडा धसेर पढेको , अनुभव बटुलेको, दिमाग तथा गर्दन खियाएको नेपाली जहॉ भएपनि रेडकार्पेट बिछ्याउनु पर्छ। बिकास र समृद्धि हास्यरस कथा हैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.