केबल टिभी सेवा प्रदायकहरुको एकै स्वर, ‘क्लिन फिड अव्यवहारिक छ, लागु भए व्यवसाय बन्द गर्छौं’

  २०७६ असार १० गते १८:०६     विकासन्युज

काठमाडौँ । सरोकारवालाहरुले सरकारले हचुवाको भरमा क्लिन फिड लागु गर्न लागेको भन्दै उक्त विद्येयक कार्यान्वयनमा ल्याए नेपालमा केवल व्यवसाय नै धराशयी हुने चिन्ता व्यक्त गरेका छन् ।

नेपालका केवल टिभी सेवा प्रदायकहरुले मंगलबार राजधानीमा आयोजित कार्यक्रममा सामूहिक रुपमा यस्तो चिन्ता व्यक्त गरेका हुन् । छन् । कार्यक्रममा बोल्दै ईन्टरनेट तथा डिजिटल टिभी समन्वय समितिका संयोजक दिनेश सुवेदीले राज्यको जिम्मेवारी आफूहरुले वहन गरिरहेको अवस्थामा सरसल्लाह र छलफल नै नगरी ‘क्लिन–फिड’ लागु गर्न लागेको आरोप लगाए ।

उनले भने,‘यही अवस्थामा यो विद्येयक कार्यान्वयन भए सम्पूर्ण व्यवसाय नै धराशयी बन्छ । सरकारले हचुवाको भरमा कुनै गृहकार्य नै नगरी यो नीति ल्याएको हो । राष्ट्रिय प्रशारण ऐनमार्फत आउनुपर्ने कुरा विज्ञापन ऐनमार्फत ल्याउन खोजियो । यसो गर्नु भनेको भएको उद्योग नै धराशीय बनाउनु हो ।’

फाइल तश्वीर

उनले सरकारले भिजिट नेपाल २०२० मनाउन गैरहेको अवस्थामा धेरै भन्दा धेरै विदेशी च्यानलमार्फत प्रचारप्रसार गर्नुपर्ने बेलामा उल्टै बन्द गराउन खोज्नु दुःखद् भएको पनि टिप्पणी गरे ।  डिस होमका प्रवन्ध निर्देशक सुदीप आचार्यले क्लिन फिड विश्वभरि छ भनेर हौवा फैलाईएको बताएका छन् । क्लिन फिड लागु भए नेपाली च्यानलमात्रै हेरेर आफूहरुले केवल सञ्चालन गर्न नसक्ने उनको दाबी छ । उनले भने,‘यदि यो विद्येयक कार्यान्वयन भए हामी साँचो लगेर सरकारलाई बुझाउँछौं ।’

नेपाल केवल टेलिभिजन महासंघका अध्यक्ष सुधिर पराजुलीले विज्ञापन विधेयक अव्यावहारिक रहेको बताएका छन् । उनले केवल टिभी प्रसारण गर्ने राष्ट्रिय नीति हुँदाहुँदै विज्ञापन ऐनअन्तर्गत राखेर विधेयक किन ल्याईयो भन्दै प्रश्न समेत गरे ।

उनले भने,‘यदि यो विधेयक संसदबाट पारित भई ऐनका रूपमा आयो भने हाम्रो अरवौंको लगानी डुब्छ र हामीले व्यवसाय बन्द गर्नुपर्छ ।’ उनले क्लिनफिड लागू हुँदा सेवा दिन सकिन्छ या सकिँदैन भनेर परीक्षणस्वरूप आफूहरुले हिजो दिउँसो ३ बजेदेखि आज दिउँसो ३ बजेसम्म २४ घण्टा विदेशी च्यानल बन्द गरेको पनि स्पष्ट पारे ।

कार्यक्रममा सशुल्क च्यानल वितरकका ध्रुब शर्माले क्लिन फिड लागु गर्नेबारे सरकारको तयारी नपुगेको सुनाए । उनले आफूहरुले सरकारको विरोध नगरेको जिकिर गरे । तर, हिजोदेखि आज दिउँसो ३ बजेसम्मे २४ घण्टाका लागि गरिएको विदेशी च्यानल वन्द रिहर्सल भएको उनको प्रतिक्रिया थियो । उनले भने,‘यी च्यानलहरु बन्द हुँदा उपभोक्तामा कस्तो असर पर्छ भनेर हामीले फिडब्याकमात्रै लिएका हौं । अरु केही पनि होईन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.