दीगाे शहरी विकासमा केन्द्रित ललितपुर महानगर, के के छन् याेजना ?

  २०७६ असार १० गते १४:५७     विकासन्युज

ललितपुर । खैरो कोटसहित नेपाली राष्ट्रिय पोशाकमा उपस्थित भएका नगरसभा सदस्यहरुमाझ संघीय सरकारका मन्त्री, संघीय तथा प्रदेश सांसदलाई साक्षी राखेर ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनले आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै ललितपुर महानगर क्षेत्रलाई दिगो विकाससहित स्वस्थ र समुन्नत सांस्कृतिक शहर बनाउने लक्ष्य लिएका छन् । उनले महानगरले ‘ललितपुर नगर स्वस्थ समुन्नत सांस्कृतिक शहर’ भन्ने दीर्घकालीन सोचसहित महानगर अघि बढेको समेत बताए ।

अगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत र बजेटमार्फत् ललितपुर महानगरपालिकाले मूलभुत रुपमा नगरपालिकाको सार्वजनिक सेवा प्रवाहमा सुशासन, पारदर्शिता र जवाफदेहीतालाई आगामी वर्षको प्रमुख लक्ष्य बनाएको छ । त्यस्काहेक रोजगारमुखी विकास, शहरी पूर्वाधार निर्माण सम्पदा संरक्षण, पर्यटन विकास, वातावरण संरक्षण, सामाजिक समानता र समावेशीकरण, माननव संशासन विकास, गरिबी न्यूनीकरणलाई बढी प्राथमिकता दिनेगरी नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

पूर्वाधार निर्माणका लागि महानगरले पूर्वाधार विकास अवधारणा निर्माण गरी सोहीअनुसार सडक र ढल निर्माण गर्ने जनाएको छ । त्यस्तै महानगर क्षेत्रभित्रको सडक ढल खानेपानी, भवन तथा पार्क निर्माणका लागि बहुवर्षीय योजना कार्यान्वयनका लागि रणनीतिक आवधिक योजना तयार गरिने उल्लेख गरिएको छ ।

ललितपुरले एक वडामा कम्तीमा पनि एउटा पार्क र सार्वजनिक शौचालय बनाउने व्यवस्था गर्ने र ५० लाखसम्मको लागत साझेदारीमा शौचालय बनाई १० वर्षसम्म सञ्चालन गर्नेगरी सम्बन्धित वडाले सम्झौता गर्नसक्ने व्यवस्था समेत गरेको छ । त्यस्तै, खानेपानी, ढल  र विद्युत् पोलहरुको पूर्वाधार पूरा भएका सडकहरुलाई पिच गर्दैजाने र एकपटक पिच भएका सडक २ वर्षसम्म भत्काउन नदिने व्यवस्था समेत महानगरले गर्ने भएको छ ।

महानगरले वातावरण सम्पदा संरक्षण गर्न भन्दै ४ मिटर भन्दा कम चौडा भएका स्थानमा ढलान नगर्ने बरु इँटा र ढुङ्गाको ब्लक छाप्ने व्यवस्था गर्ने भएको छ । त्यस्तै, पुरातात्विक सम्पदाहरुलाई ताररहित बनाउन सम्बन्धित संस्थाहरुसँग समन्वय गर्ने लक्ष्य समेत लिइएको छ । त्यस्तै, २४ नम्बर वडामा महानगरीय सभागृह, २७ नम्बर वडामा महानगरीय अस्पताल, महानगरीय व्यवसायिक शिक्षालय, तथा खेलकुद मैदानसमेत बनाउने, प्रत्येक ठूला सडकहरुमा साइकल लेन बनाउने, ठूला बसहर र विद्युतीय बसहरुलाई प्राथमिकता दिने लक्ष्य लिएको छ ।

महानगरका सबै सेवाहरुलाई छिटो गर्न भन्दै महानगरले विद्युतीय प्रणालीलाई विशेष महत्व दिएको छ जसअन्तर्गत सबै सेवाहरुको बारेमा मोबाइल एपमार्फत् जानकारी दिने, नक्सापास, बोलपत्र लगायतलाई विद्युतीय माध्यमबाट गर्ने, इमिडिया सचेतना कार्यक्रम गर्ने लगायतका कार्यक्रम छन् । नक्सापास भएको २ वर्षभित्र पनि भवन निर्माण सम्पन्न नभएका वा महानगरको सम्पर्कमा नआएकाको नक्सापास खारेज गर्ने, नक्सापास नगरी बनेका घरहरुलाई करको दायरामा ल्याउने व्यवस्था गर्ने योजना समेत महानगरको छ ।

रोजगारी अभिवृद्धि गर्ने भन्दै महानगरले महानगरले एक घर एक उद्यम नारासहित रोजगारी अभिवृद्धिमा जोड दिने भएको छ यसका लागि महिला र युवालक्षित स्वरोजगार कार्यक्रमलाई प्रभापकारी बनाइने नीति लिने लक्ष्य लिइएको छ । त्यस्तै कृषिमा आश्रितहरुलाई सहयोग पुग्नेगरी कृषि सूचना केन्द्र अद्यावधि गर्ने, अत्याधुनिक प्रविधिको प्रयोगमार्फत खेती गर्न प्रोत्साहित गर्ने, टनेल खेतीमा प्रोत्साहन तथा उच्च मूल्ययुक्त उत्पादनमा जोड दिने, बीउ एटीएम प्रविधिलाई प्रवद्र्धन गर्ने नीति समेत लिएको छ ।

कर तिर्नेलाई प्रोत्साहन, छल्नेको सुविधा कटौती

महानगरले करको दायरामा नआएकाहरुलाई दायरामा ल्याइ नियमित रुपमा कर तिर्ने व्यवस्था गर्नेगरी राजश्व नीति ल्याउने भएको छ । त्यसका लागि कर तिर्न अटेरी गर्ने, झुटो विवरण पेश गरी कर छल्नेहरुलाई कारबाही गरी महानगरले दिने सेवा कटौती गर्दैजाने नीति समेत लिइएको छ । त्यसका लागि अन्य सुविधाहरु लिँदा सम्पत्ति कर चुक्ता प्रामाणपत्र अनिवार्य गर्ने व्यवस्था गर्न प्रदेश तथा केन्द्र सरकारसँग समन्वय गर्ने समेत लक्ष्य लिइएको छ ।

पहिलोपटक करको दायरामा आउन चाहनेलाई आफ्नो सम्पत्तिको स्वघोषणा गरी कर तिर्ने छुटछ दिने, वडाबाट कुनै सफिारिस दिँदा करचुक्ता गरेको प्रमाणपत्र पेश गरे १५ प्रतिशत छुट दिने, नक्सा पासविना घरको तल्ला थप्नेलाई पछि नक्सापास गर्दा सामान्य भन्दा तेब्बर शुल्क लिने व्यवस्था समेत गरेको छ । महानगगर क्षेत्रभित्रका भूकम्पपीडित लाभग्राही सूचीमा रहेकाहरुको घरको नक्सापास भने महानगरले एकपटकका लागि नि:शुल्क गरिदिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.