वैदेशिक सहायतामा सञ्चालित आयोजनाहरूको समीक्षा, अर्थमन्त्रीले दिए यस्तो निर्देशन

  २०७६ असार ९ गते १९:२१     विकासन्युज


काठमाडौँ । अर्थ मन्त्रालयमा चालु आर्थिक बर्ष २०७५/७६ को वैदेशिक सहायतामा सञ्चालित आयोजनाहरूको कार्यान्वयन सम्वन्धमा समीक्षा बैठक सोमबार सम्पन्न भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाको उपस्थितिमा बैठक सम्पन्न भएको हो । उक्त अवसरमा बैदेशिक सहायतामा सञ्चालित आयोजनासँग सम्वन्धित मन्त्रालय र निकायहरुका सचिव, सहसचिव तथा आयोजना प्रमुखहरुको उपस्थिति रहेको थियो ।

बैठकमा अर्थमन्त्री खतिवडाबाट प्रदेश र स्थानीय तहबाट बजेट र खर्चको प्रतिवेदन हुने व्यवस्था गरिएकाले आउँदा दिनमा प्रदेश र स्थानीयतहबाट हुने खर्चको प्रगति समेत समय मै उपलब्ध भई खर्चको यथार्थ प्रतिवेदन हुने जानकारी गराए ।

यसैगरी खर्चको वास्तविक प्रतिवेदनका लागि सबै मन्त्रालयहरूले सोझै भुक्तानीको प्रतिवेदन समयमा नै गर्न समेत निर्देशन दिए । वैदेशिक सहायता तर्फ चालु आर्थिक वर्ष २०७५/७६ को जेठ मसान्तसम्म उत्साहजनक रुपमा ६३ अर्व सोधभर्ना प्राप्त भएता पनि अझै ४३ अर्व सोधभर्ना हुन बाँकी रहेकोले नेपाल सरकारको स्रोत र मुलुकको भुक्तानी सन्तुलनमा चाप परेको हुँदा मन्त्रालय तथा सम्वन्धित निकायहरुले यथाशीघ्र सोधभर्ना प्राप्ति तर्फ पहल गर्न आग्रह गरे ।

सो अवसरमा चालु आर्थिक वर्षमा सम्पन्न भएका कामको भुक्तानी समेत शीघ्र गर्न निर्देशन दिए । कार्यक्रममा विभिन्न मन्त्रालय र निकायका सचिव र प्रतिनिधिहरुले वैदेशिक सहायतामा सञ्चालित आयोजनाहरुको कार्यान्वयनमा क्रममा भोगेका समस्याहरु र सोधभर्नाको अवस्थाको बारेमा आफ्नो धारणा राखेका थिए । उक्त अवसरमा अर्थ मन्त्रालय, अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका प्रमुख श्रीकृष्ण नेपालले चालु आर्थिक वर्षको हालसम्मको समग्र र स्रोतगत खर्चको अवस्था एवं अपेक्षित प्रगति हुन नसकेका वैदेशिक सहायतामा सञ्चालित आयोजनाको बारेमा प्रस्तुतीकरण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.