एनसीसी बैंकको साधारणसभा अर्को वर्ष धकेलियो तर सञ्चालक बन्न दौडधुप जारी, बोनस २१ प्रतिशत

  २०७६ असार ९ गते १५:३७     विकासन्युज

काठमाडौं । एनसीसी बैंकको साधारणसभा अर्को आर्थिक वर्ष धकेलिएको छ । आर्थिक वर्ष २०७३/७४ र २०७४/७५ को को साधारणसभा यहि असार मसान्तसम्म गर्ने बैंकको प्रयास असफल भएको छ ।

लेखापरिक्षण प्रतिवेदन राष्ट्र बैंकबाट स्वीकृत गराउन नसकेपछि साधारणसभा असारमा हुने सम्भावना टरेको छ । ‘राष्ट्र बैंकबाट लेखापरिक्षण प्रतिवेदन स्वीकृत भएको छैन । राष्ट्र बैंकबाट स्वीकृत भई आएपछि बोर्डबाट लाभांशको प्रस्तावसहित अन्तिम प्रतिवेदन राष्ट्र बैंकमा पठाउनुपर्छ । साधारणसभाको लागि २१ दिन अघि सूचना दिनुपर्छ । अब असारभित्र साधारणसभा गर्न सम्भव छैन’ बैंक सम्बद्ध स्रोतले भन्यो ।

एनसीसी बैंकको वार्षिक प्रतिवेदन राष्ट्र बैंकले हेरिरहेको र केही दिनभित्रै अन्तिम निर्णय दिने राष्ट्र बैंकका प्रबक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।

आगामी साउन भित्रमा दुई आर्थिक वर्षको साधारणसभा गर्ने बैंकको तयारी रहेको छ। चालु आर्थिक वर्षको साधारणसभा आगामी पुससम्म गर्ने, विगत दुई आर्थिक वर्षको साधारणसभा भने सकेसम्म चाँडो गर्ने बैंक स्राेतले बतायाे ।

राष्ट्र बैंकमा पठाएको प्रतिवेदन स्वीकृत भएर आएमा बैंकले सेयरधनीलाई २१ प्रतिशत लाभांश दिन सक्ने सञ्चालक इमानसिंह लामाले बताए । तर राष्ट्र बैंकले प्राेभिजन थपेमा लाभांश दर घट्न सक्छ ।

हाल बैंकको चुक्ता पुँजी ७ अर्ब १ करोड रुपैयाँ छ । पुँजी ८ अर्ब बनाउन बैंकले करिब १५ प्रतिशत बोनस सेयर दिनुपर्छ । बाँकी नगद लाभांश दिनसक्छ ।

प्रोक्सी संकलन गर्न दौडधुप

आगामी साधारणसभामा बैंकले ६ जनाको सञ्चालक समिति चयन गर्दैछ । एनसीसी बैंकमा राष्ट्र बैंकले टेकओभर गरेपछि र चार वटा विकास बैंक मर्ज भएपछि पहिलो पटक सेयरधनीले सञ्चालक समितिको चयन गर्दैछन् ।

एनबी समूह र निर्मल प्रधान समूहबीच टकरावले फेरी पनि बैंकको सञ्चालक समितिमा सर्वसहमतिको सम्भावना कम भएको ठूला सेयरधनीहरु बताउँछन् ।

एनबी समूहले आफ्नो तर्फबाट उम्मेदवार तय गरेको छैन । प्रधान समूहबाट निर्मल प्रधान आफै सञ्चालकको उम्मेदवार बन्ने तयारी छ ।
यी दुई समूहबीच सञ्चालक मात्र होइन, अध्यक्ष नै आफ्नो पक्षमा पार्ने उदेश्यसहित सेयरधनीसँग लविङ गरिरहेका छन् ।

उता मर्ज भएका विकास बैंकहरुको तर्फबाट राजाराम खड्का, इमानसिंह लामा, शम्भु अधिकारी, चन्द्र बास्तोलासहितले प्रोक्सी संकलन गरिरहेका छन् ।

मर्ज भएका चार विकास बैंकले कम्तिमा आफ्नो तर्फबाट एक जना सञ्चालक सुरक्षित गर्न चाहेका छन् । उता एनसीसी बैंकका सेयरधनीहरु आफ्नो पक्षमा कम्तिमा ४ जना सञ्चालक जिताउन कोसिस गरिरहेका छन् ।

७ जनाको सञ्चालक समितिमा एक विज्ञ र एक महिला सञ्चालक हुनैपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.