नगरपालिकाको लापरवाहीका कारण ज्येष्ठ नागरिक सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित

  २०७६ असार ९ गते १५:३५     विकासन्युज

काठमाडौं । सप्तरी बोदे बर्साइन नगरपालिकाको लापरवाहीका कारण ज्येष्ठ नागरिक तथा एकल महिलाले सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका छन् । नगरपालिका कार्यालयले समयमै बैंक खाता खोल्न ध्यान नदिँदा नगरपालिकाको १० वटै वडाका करिब एक हजारभन्दा बढी ज्येष्ठ नागरिक तथा एकल महिलाले विगत आठ महिनादेखि सामाजिक सुरक्षाभत्ता पाउनबाट वञ्चित भएका हुन् ।

गत वर्षको मङ्सिर महिनायता सामाजिक सुरक्षाभत्ता बापत कुनै रकम पाउन नसकेको बोदे बर्साइन नगरपालिका–१ का ज्येष्ठ नागरिक शिवनन्दन यादवले बताए । चालू आर्थिक वर्षको दोस्रो र तेस्रो किस्ता बापतको पाउनुपर्ने सामाजिक सुरक्षाभत्ता हालसम्म पनि पाउन नसकेको ज्येष्ठ नागरिकको गुनासो छ ।

सामाजिक सुरक्षाभत्ताकै रकमबाट औषधि उपचार गराइरहेको थिए, बोदे बर्साइन– ५ का स्थानीयवासी ८१ वर्षीय फुलेश्वर दासले भने, “श्वासप्रश्वाससम्बन्धी रोगबाट पीडित रहे पनि भत्ता नपाउँदा उपचार गराउनसमेत समस्या भएको छ ।” भत्ताबापतको रकमका लागि पटकपटक वडादेखि नगरपालिकाको कार्यालयसम्म धाउँदै आए पनि भत्ता पाउन नसकेको उनको गुनासो छ ।

मन्त्रालयबाट नै सोबापतको रकम आउन ढिलाइ भएकाले ज्येष्ठ नागरिक तथा एकल महिला लगायतले पाउनुपर्ने सामाजिक सुरक्षाभत्ता वितरण गर्न नसकिएको नगरपालिकाका प्रमुख आतेशसिंह यादवले बताएका छन् ।

उनले अब मन्त्रालयबाट रकम निकासा भइसकेकाले केही दिनभित्रै सबै सेवाग्राहीको बैंकमा खाता खुलाएर दुवै किस्ताको रकम एकैपटक वितरण गरिने नगरप्रमुख यादवको भनाइ छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.