नेपाल टेलिकमद्धारा धनकुटामा द्रुत गतिको इन्टरनेट सेवा विस्तार

  २०७६ असार ८ गते १८:३७     विकासन्युज

काठमाडौ । नेपाल टेलिकमले धनकुटामा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र दु्रत गतिको ईन्टरनेट प्रयोगमा ल्याउन मिल्ने (एफटीटीएच) सेवाको बिस्तार गरेको छ । उक्त सेवाको बिस्तार कम्पनीले गत शुक्रबार गरेको हो । सोही कार्यक्रमको उद्घाटनमा बोल्दै प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईले भने–‘२०७६ साल भित्रमा प्रदेश नम्बर १ लाई डिजिटल प्रदेश बनाउने छौँ र सो कार्यमा नेपाल टेलीकमले सहयोगी भुमिका खेल्ने छ ।’ उनले प्रदेश नम्बर १ को सबै स्थानिय निकाय र शहरहरुमा डिजीटल सेवाको बिस्तार गर्ने लक्ष्य रहेको बताए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीलाई काठमाडौमा फोन गर्दै सो सेवाको उद्घाटन गरेका थिए । सेवा उद्घाटनकै अवसरमा नेपाल टेलिकमले पुरानो र खर्चालु तामाको तारबाट टेलिफोन र ईन्टरनेट उपलब्ध गराउने प्रविधिलाई विस्थापित गर्दै फाईबर मार्फत गुणस्तरीय सेवा दिन लागेको बताए । नेपाल टेलिकमका पूर्वाञ्चल क्षेत्रीय निर्देशनालयका निर्देशक रामप्रसाद उपाध्यायको सभापतित्वमा भएको उक्त कार्यक्रममा धनकुटाका प्रमुख जिल्ला अधिकारी सीताराम कार्की र धनकुटा नगरपालिका वटा नम्बर ७ का वडाध्यक्ष जंगबहादुर राईले नेपाल टेलीकमलाई धन्यवाद ज्ञापन गरेका थिए ।

हाल धनकुटामा जडान गरिएका फाइबर मार्फत ७ सय ५२ लाईन एफटीटीएच सेवा वितरण हुनेछ । कम्पनीले व्यक्तिगत र कर्पोरेट युजर प्याकेज उपलब्ध गराईरहेको छ । प्याकेजमा न्यूनतम मूल्य निर्धारण गरी एक बर्षकालागि ८ एमबीपीएसको प्याक जम्मा ८ हजार रुपैयाँमा उपलब्ध छ । नयाँ लाइन जडान गर्ने ग्राहकले एक थान वाइफाई राउटर र एक सय मिटर फाईबर निःशुल्क प्राप्त हुनेछ । साथै, नयाँ लाईन जडानकर्ताहरुले ३ महिनासम्म निःशुल्क कुरा गर्न सक्नेछन् । एफटीटीएच सेवा आर्एपीमा आधारित रहेको नेपाल टेलिकमका सह–प्रवक्ता कृष्ण प्रसाद भण्डारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.