बागलुङमा मात्रै छ महिनामा ४६ आपराधिक घटना, बढी घरेलु हिंसा

  २०७६ असार ८ गते १२:१८     विकासन्युज

काठमाडौं । पछिल्लो छ महिनामा जिल्लामा आपराधिक र मानवअधिकार उल्लङ्घनका ४६ घटना भएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागलुङले ‘मानव अधिकार वर्ष पुस्तक– २०२०’ का लागि शनिबार गरेको अर्धवार्षिक पूर्वसमीक्षा कार्यक्रममा उक्त तथ्य सार्वजनिक भएको हो ।

सबैभन्दा बढी घरेलु हिंसाका २१ घटना छन् । जसमध्ये ११ घटना मिलापत्रमा टुङ्गिएका छन् । तीन घटना अदालत पुगेको र बाँकी प्रक्रियामा छन् । इन्सेकद्वारा सार्वजनिक विवरणमा जबर्जस्ती करणीका सात र करणी उद्योगका नौ घटना भएका छन् ।

राजनीतिक अधिकारसम्बन्धी एक, धम्की तथा कुटपिटसम्बन्धी एक, सामाजिक अधिकारसम्बन्धी एक, बालअधिकारको एक, जातीय विभेदको एक, बहुविवाहसम्बन्धी तीन र महिला अधिकारसम्बन्धी एउटा घटना भएका छन् ।

इन्सेक प्रतिनिधि सिर्जना पन्तले भनिन् “मानव अधिकार वर्ष पुस्तकका लागि पछिल्लो छ महिनाभित्रका ४६ घटना प्रलेख गरिएको छ”। स्थलगत अध्ययनसँगै प्रहरी र अदालतको स्रोतबाट इन्सेकले घटना विवरण सङ्कलन गर्ने गरेको छ । देशको मानवअधिकारको अवस्था झल्कने गरी इन्सेकले वर्षेनी मानवअधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको र हिंसा र अपराधसँग जोडिएका घटनालाई पनि पछिल्लो समय मानवअधिकारसँग जोडेर हेर्ने गरिएको छ

समिक्षा कार्यक्रममा बागलुङका प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्रीले घटनाका दोषीलाई संरक्षण गर्न नहुनेमा जोड दिएका छन् । “मानवअधिकारको रक्षाका लागि सम्बद्ध सबै पक्ष जिम्मेवार हुनुपर्छ”, उनले भने, “मुख्य दायित्व राज्यको रहन्छ ।” रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.