ऐतिहासिक एकीकरण स्थलमा पदमार्ग जोडिने (फोटो फिचर)

  २०७६ असार ८ गते ११:५८     विकासन्युज

काठमाडौं । हरिहरपुरगढीलाई सिन्धुलीगढीसँग जोड्ने करिव ७५ किलोमिटर लामो पदमार्ग औपचारिक रुपमा सुरु भएको छ । पूर्वमन्त्री तथा सांसद हरिबोल गजुरेलले पदमार्गको घन्टेमा उद्घाटनपछि पूर्वमन्त्री गजुरेललगायत एक सयभन्दा बढी सहभागीहरुले करिव एक किलोमिटर पदयात्रा गरेका थिए। सांसद हरिबोल गजुरेलले नेपालको इतिहासमा महत्वपूर्ण अर्थ राख्ने दुई गढीलाई जोडेर पदमार्ग निर्माण गर्दा यसले सिन्धुलीको आर्थिक तथा सामाजिक विकासमा अर्थ राख्ने बताए ।

पदमार्ग निर्माणको अभियानमा स्थानीयवासीको उत्साहप्रद सहभागिताप्रति आभार व्यक्र गर्दै पर्यटनको विकासमा स्थानीयवासीको साथ र सहयोग महत्वपूर्ण हुने बताए। यस्तै, कार्यक्रममा प्रदेश सदस्य विनोदकुमार खड्काले सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा सिन्धुली जिल्ला फड्को मार्ने चरणमा रहेको भन्दै पर्यटनसँग पदमार्गको सम्बन्धबारेमा चर्चा गरे । यसैगरी, प्रदेशसभा सदस्य बुद्धिमान माझीले सिन्धुलीको हरिहरपुरगढी क्षेत्रमा औद्योगिक क्षेत्रको प्रस्ताव गरिएको बताउँदै सिन्धुलीलाई कृषि क्षेत्रमा अगाडि बढाउनुपर्ने जनाए ।

कार्यक्रममा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विकासका दृष्टिले सिन्धुलीले धेरै सम्भावना बोकेको भन्दै राजनीतिक दलका नेताहरु विकासका लागि एकमत हुने गरेको बताए  । यस्तै, हरिहरपुरगढी गाउँपालिका अध्यक्ष कारसाङ लामाले पर्यटनको गुरुयोजना बनाएर हरिहरपुरगढी गाउँपालिकाको विकासमा योजनाबद्ध रुपमा काम थालिएको जानकारी दिए ।। कार्यक्रमममा नेकपा (नेकपा) का केन्द्रीय सदस्य तथा गढी संरक्षण समितिका अध्यक्ष कमलजंग राईले घण्टे, गढीलगायत हरिहरपुरगढी क्षेत्रको ऐतिहासिक महत्वको खोजविन गरिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा सांसद हरिबोल गजुरेलले पदमार्गका लागि जग्गा दिएर सहयोग गर्ने शम्भु राई, रुकमणि श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, मानबहादुर मानन्धर र हरिबहादुर श्रेष्ठलाई कदरपत्र दिएर सम्मान गरे । कार्यक्रममा प्रदेश सभा सदस्य राजन दाहाल, मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जन, गणपति राजीव थापा, प्रहरी नायव उपरीक्षक लोकदर्शन थापा, शसस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक दिनेश शर्मालगायतको उपस्थिति रहेको थियो ।

स्थानीय विकास साझेदारी कार्यक्रमअन्तर्गत सांसद गजुरेलले ४० लाख रुपियाँ पदमार्गका लागि विनियोजन गरेका थिए । तत्कालीन गोर्खाली सेनाले अंग्रेजी सेनालाई परास्त गरेको सिन्धुलीगढी सदरमुकाम सिन्धुलीबाट १३ किलोमिटर दुरीमा छ । यो पदमार्गले दुवै गढीलाई जोड्ने छ । नेपाल एकिकरणका क्रममा तत्कालीन गोर्खाली सैनिकहरू हिँडेका ऐतिहासिक स्थलहरूलाई पर्यटकीय पदमार्गले जोड्ने योजना अनुसार अभियानले पहिलो खण्ड हरिहरपुरगढीको घण्टेदेखि हात्तीढुंगासम्म पदमार्ग निर्माण सम्पन्न गरेको हो ।
पदमार्ग निर्माणमा दैनिक १ सय जनाभन्दा बढी उपभोक्ता डेढ महिनासम्म खटिएको पदमार्ग निर्माण गर्न गठन गरिएको उपभोक्ता समितिका अध्यक्ष तथा समृद्ध सिन्धुली अभियानका संयोजक लीलानाथ घिमिरेले बताए । पदमार्गको सुरुआत स्थल घण्टेमा कलात्मक प्रवेशद्वार बनाइएको छ । त्यस्तै खोरभञ्ज्याङ र जितपुरमा काठको कलात्मक प्रतीक्षालय निर्माण गरिएको छ । चौधौं शताब्दीमा बनाइएका हरिहरपुरगढी र सिन्धुलीगढीलाई जोडेर पर्यटन प्रबर्धन गर्न पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष लीलानाथ घिमिरेले बताए । बाराको सिम्रौनगढमा बंगाल मुसलमानको भिषण आक्रमणबाट सिम्रौनगढ राज्यको पतन भएपछि बाराका तत्कालित राजा हरिसिंह सिन्धुली आएर सानो किल्ला बनाएर बसेका थिए ।

पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानलाई रोक्न आएका अंग्रेजी फौजलाई विक्रम संवत १८२४ मा वीर गोर्खालीले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा लडेर परास्त गरेका थिए । संसारमा आफ्नो साम्राज्य खडा गर्न अगाडि बढेको बेलायती साम्राज्यलाई परास्त गरेको सम्झनामा हरेक बर्ष विजयोत्सव मनाइन्छ । श्रब्यदृष्य समाग्री समेटिएको वेवसाइट हरिहरपुरगढी डटकम पनि यसै अबसरमा सुरु गरिएको छ । यस वेवसाइटमा पदमार्गको भिडियो, हरिहरपुरगढीबारे जानकारी, बाटोमा पर्ने गन्तब्यहरु र तस्बिरहरु समेटिएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.