नेपाली पूँजी बजार अझै बाल्यावस्थामा, प्रविधिमैत्री बजारले लगानीकर्ताहरु लाभान्वित

  २०७६ असार ८ गते १०:२३     विकासन्युज

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले नेप्से स्थापना भएको पच्चीस वर्ष भइसके पनि नेपालको कुल जनसंख्यालाई आधार मन्दा यो अझै बाल्यावस्थामा नै रहेको बताएका छन् । पोखरामा आयोजित ‘नेपाली पूँजी बजारका समाकालिन सवालहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै साउदले सो विचार व्यक्त गरेका हुन् ।

नेप्से र पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेस पूर्व विद्यार्थी मञ्चले संयुक्त रुपमा आयोजना गरेको सो कार्यक्रममा बोल्दै उनले हाल पूँजी बजार प्रविधि मैत्री हुनाले यसबाट लगानीकर्ताहरुले पारदर्शी रुपमा कारोबार गर्न पाएको बताए । नेप्सेले अनलाइन प्रणाली शुरु गर्दाको दिनहरुलाई सम्झँदै उनले भने,“बजारबाट अनियमित तबरले अकुत धन आर्जन गर्नेहरुले अनलाइन प्रणालीलाई लागु हुन नदिन त्यसबेला यसका विरुद्ध धेरै अनर्गल प्रचारबाजी समेत गरेका थिए ।”

सोही कार्यक्रममा बोल्दै अर्थ मन्त्रालय बैंक तथा वित्तिय महाशाखाका उप सचिव बैकुण्ठ निधि शर्माले पूँजी बजारमा लगानी गर्दा अरुको लहलहैमा नलागेर लगानीकर्ताहरुले अध्ययन तथा विश्लेषण गरेर मात्र अगाडि बढ्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले नेपालको पूँजी बजारका विविध पक्षहरुका बारेमा बोलेका थिए भने वरिष्ठ सूचना प्रविधि अधिकृत प्रभाकर घिमिरेले नेप्सेको वेभसाइटमार्फत गरिने अनलाइन कारोबारका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा पोखरा विश्वविद्यालय केन्द्रीय आंगिक कलेज स्कूल अफ बिजनेसका निर्देशक डाक्टर रविन्द्र घिमिरेले पनि आफ्नो धारणा राखेका थिए ।

पोखरा विश्वविद्यालयको केन्द्रीय आंगिक कलेज र पोखरा कलेज अफ म्यानेजमेन्टका विभिन्न विद्यार्थी क्लवहरुको समन्वयमा सम्पन्न कार्यक्रमको अन्तरक्रिया सत्रमा अञ्जली पौडेल, गौरव पराजुली, कपिल पौडेल, निरज खड्का, बिनु श्रेष्ठ, मनोज पौडेल लगायतले बोलेका थिए ।

कार्यक्रम पूर्व विद्यार्थी समाजका अध्यक्ष डाक्टर चैतन्य अधिकारीको अध्यक्षता र सदस्य सुवास मल्लको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.