प्रतिस्पर्धाले बीमा कम्पनी र बैंकबीच सहकार्य बढायो : शिवनाथ पाण्डे

  २०७६ असार ८ गते १०:२५     विकासन्युज

शिवनाथ पाण्डे, प्रमुख कार्यकारी अधिकृत, सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

११ वर्ष पुरानो सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको पहिलो ९ वर्ष निकै असहज देखिन्थ्यो । प्रमुख कार्यकारी अधिकृत सहित उच्च व्यवस्थापन समूहमा अस्तिरता थियो । कम्पनीको व्यवसाय विस्तार सुस्त थियो । लेखापरिक्षण, साधारणसभा जस्ता कार्य नियमित हुन सकेका थिएनन् ।
कम्पनीले प्रमुख कार्यकारी अधिकृतको रुपमा शिवनाथ पाण्डेले पाएपछि सुधारका संकेतहरु देखिएका छन् । वित्तीय विवरण पछिल्लो समय बढ्दो क्रममा रहेको छ । कम्पनीको चुक्तापुँजी, जगेडा कोषदेखि जीवन बीमा कोषसम्मको सूचाङ्क बढ्दो र सुधारका क्रममा रहेको छ । २०७३ असार मसान्तमा चुक्तापूँजी ५०, जगेडा कोषमा २५ करोड ७२ लाख, जीवन बीमा कोषमा १ अर्ब ६४ करोडसहित २ अर्ब ४२ करोड रुपैयाँको वासलात रहेको यस कम्पनीको चुक्तापुँजी १ अर्ब १३ करोड रुपैयाँ भएको छ । जगेडा कोषमा ४५ करोड ७४ लाख रुपैँया रहेको छ । जीवन बीमा कोषमा ४ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ । लेखापरीक्षण, साधारणसभा नियमित भएका छन् । एनएफआरएस लागू भएपछि साधारणसभा गर्ने जीवन बीमा कम्पनीमो सूर्या लाइफ दोस्रो कम्पनी हो । प्रस्तुत छ यसै सन्दर्भमा कम्पनीको वर्तमान अवस्था र भावी योजनामा केन्द्रीत भई प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेसँग गरिएको विकास बहस ।


आर्थिक वर्ष सकिएको ११ महिनापछि साधारणसभा गर्दा पनि दोस्रो बन्दै हुनुहुन्छ । किन यस्तो भयो ?

हाम्रो असार ११ गते वार्षिक साधारणसभा हुँदैछ । त्यसका लागि आवश्यक पर्ने वार्षिक प्रतिवेदन, वित्तीय प्रतिवेदन तयार भएका छन् । बीमा समितिले भनेजस्तै एनएफआरएस अनुसार प्रतिवेदनहरू बनाउँदा ठूलो भएको छ । हामीले पहिलेको व्यवस्था अनुसार र हालको व्यवस्थाअनुसार दुवैलाई मर्ज गरेका छौं । समस्टिगत रुपमा भन्दा बीमा समितिबाट स्वीकृति पाएर वार्षिक साधारणसभा गर्ने कम्पनीहरूमा हामी दोस्रोमा पर्छौ ।

एनएफआरएस अनुसार कम्पनीको वित्तीय प्रतिवेदन तयार गर्दा धेरै कुरा नयाँ भए । के गर्ने कसो गर्ने भन्ने कुराको बीमा क्षेत्रमा निर्देशित गाइडलाईन भएन । यस्तो अवस्थामा हामीले प्रोफेसनल मान्छे हायर गर्यौँ । यसबाट पनि एउटा ग्राउण्ड बन्न मद्दत पुगेको छ । अब यसमा बसेर हामीले हरेक बर्ष एकाउण्टिङ् र अडिट गर्दै जान्छौ । अबका वर्षमा धेरै सजिलो हुनेछ ।

सूर्या लाइफले बनाएको रिपोर्टमा बीमा समितिको कुनै कैफियत रह्यो ?

लिखित रुपमा कैफिय त रहेको छैन । तैपनि सुधारका ठाउँहरु धेरै हुन्छन् र सुधार गर्दै जानुपर्छ पनि । मौखिक रुपमा केही सुधारको कुरा भएका छन् ।

तपाई चार्टर्ड एकाउन्टेन्ट पनि हुनुहुन्छ । एनएफआरएस अनुसार बनाएको व्यालेन्सिटमा केही परिवर्तन आउँन सक्छ ?

हामीले अन्तर्राष्ट्रिय स्तरको फाइनान्स स्टयाण्डर्ड लागू गरेका छौँ । यो फम्र्याटमा चार्टर्ड एकाउन्ट संस्थाले नै केही परिमार्जन गर्न आवश्यक देख्यो वा बीमा समितिले केही परिमार्जन गर्यो भने केही परिवर्तनको गुन्जायस हुन्छ । तर, ठूलो परिवर्तन हुने छैन ।

पुस मसान्त वा ढिलोमा चैत मसान्तसम्मका कम्पनीले साधारणसभा गरिसक्नुपर्ने हो । तर बीमा कम्पनीहरुले असारमा आएर साधारणसभा गर्दैछन् । यसपालि एनआरएफलाई दोष दिए । अर्कोवर्ष साधारणसभा कहिलेसम्म होला ?

पहिले बीमा विजनेशको नेचरलाई पनि बुझ्नुपर्छ । जीवन बीमा कम्पनीले ५ देखि २०/२५ वर्षसम्मको दायित्व बोकेका हुन्छ । बीमाको एक्चुरी नेपालमा छैनन् । हामीले डाटा बाहिर पठाउँदै आएका छौ । उहाँहरूले एक्चुरी भ्यालुयसन गरेपछि हामीलाई रिर्पोट दिनुहुन्छ । त्यही रिपोर्ट स्वीकृतिको लागि बीमा समितिमा बुझाउँछौं । त्यसलाई बीमा समितिले पनि क्रस भेरिफाई गर्छ । बीमा समितिले स्वीकृति गरेपछि मात्र वार्षिक साधारणसभामा लैजाने निर्णय हुन्छ ।

पुसमा साधारणसभा गर्न नसकेपछि प्रिरिर्टन फाइल पेस गर्नुपर्छ कम्पनी रजिष्ट्रार कार्यालयमा पेस गर्नुपर्छ । कानुनले तोकेको समयमा साधारणसभा नहुँदा जरिवाना तिर्नुपर्छ । त्यो फेरी कम्पनीको खर्चको रुपमा आउँछ । कम्पनीले समयमा काम नगरेर के गरेर बस्छ भन्नु हुन्छ, उफ्रिनु हुन्छ । व्यवस्थापकीय विषयमा हामीलाई जवाफ दिन सजिलो छैन । पुष मसान्तभित्र कुनै पनि कम्पनीले वार्षिक साधारणसभा गर्न सकेका छैनन् । यो वास्तविकतालाई हेरेर कानुनी रुपमा सुधार गर्नुपर्ने कार्य धेरै छन् ।

 

यस पटक सूर्या लाइफको साधारण सभाबाट सेयरधनीहरु कतिको खुशी हुनेछन् ?

यसपालि करिब १३ प्रतिशत बोनस सेयर प्रस्ताव गरेका छौं । म सीईओ भएर आएपछि तीन आर्थिक वर्षको लेखापरिक्षण र साधारणसभा एकै पटक भएको हो । पहिलोपल्ट ५ प्रतिशत र दोस्रो वर्ष १० प्रतिशत लाभांश दिएका थियौं । यस वर्ष १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि आवश्यक नगद लाभांश दिदैछौं । यो प्रतिफल नराम्रो होइन । भरखरै बामे सर्दै गरेको कम्पनी हो । चुक्ता पुँजी २०० करोड भएपछि भने विजनेश वृद्धिसँगै लाभांश दर मेन्टेन गर्न पनि धेरै चुनौती छन् ।

चुक्ता पुँजी कसरी २०० करोड बनाउने योजना छ ?

चैत्र मसान्तमा १ सय १३ करोड रुपैयाँ छ । बोनस सेयरपछि १२९ करोड जति हुन्छ । त्यसपछि हकप्रद सेयर निष्काशन गर्छौ । असारभित्रै हकप्रद सेयर निष्काशन आह्वान गर्छौ । भदौसम्ममा हकप्रद सेयरको पैसा पनि आईसक्छ । हकप्रद सेयरको पैसा आएपछि हाम्रो सेयर पुँजी २ अर्बभन्दा बढी हुन्छ ।

असारभित्रै हकप्रद सेयर निष्काशन सार्वजनिक आह्वान गर्न सम्भव छ ?

सम्भव छ । ११ गते साधारणसभा गछौं । तत्काल कम्पनी रजिष्ट्रार कार्यालयमा माईनुट दिन्छौ । १५ गते आधारभूत सेयरधनीलाई पैसा हाल्नु अनुरोध गर्छौ । क्रेडिट रेटिङको काम सकिन लागेको छ । पुँजी वृद्धिको टाइमलाइनको चाप सेवनलाई पनि थाहा छ । हामी कुरा गर्छौ । असार ३१ सम्ममा हकप्रद सेयर घोषणा गर्न सकियो भने बीमा समितिले पनि त्यसलाई सहज रुपमा लिन्छ भन्ने हाम्रो विश्वास हो ।

पुँजी वृद्धिसँगै व्यापार वृद्धि कति गाह्रो देख्नुहुन्छ ?

गत वर्ष १४/१५ करोड नाफा गरेर झण्डै १३ प्रतिशत लाभांश दिन सकियो । अर्को वर्ष यति नै लाभांश दिन २५ करोडभन्दा बढी नाफा गर्नुपर्छ । हामीले हाम्रो स्रोतहरु उच्च प्रतिफल दिने क्षेत्रमा लगानी गरेका छौं । साथै, हामीले विजनेशको योजना पनि समय अनुसार परिवर्तन गर्नु पर्ने हुन्छ । नयाँ प्रडक्ट डिजाईन, शाखा विस्तार, नेटवर्क विस्तारमा जोड दिन्छौं ।

अबको बिजनेश योजना के छन् ?

हाम्रो कमजोरी पत्ता लगाउँदै सुधारको प्रयास भएका छन् । यो कम्पनीमा ७÷८ वर्षको अन्तरालमा ७/८ जना नै सीईओहरू फेरिनु भएको अवस्था रहेछ । व्यवस्थापन बलियो किन भएन भन्ने कुरामा समेत केही कारण त पक्कै हुनु पर्ने हो । सबै सिईओमा क्षमता नै नभएको भन्ने पनि त होइन होला । १/२ जनामा केही समस्या होला तर सबैको हकमा त त्यो पक्कै लागू नहोला ।

हामीले एक सालमा ३ वटा एजीएम गर्यौ । कर्मचारीमा रहेको असन्तुष्टि हटायौ । तलब, सुविधामा समेत वृद्धि गर्यौ । नयाँ कर्मचारी पनि ल्याएका छौं । हुन त केही साथीले छोडेर पनि जानुभयो । व्यक्ति भनेको त आउँने जाने चलिरहन्छ । तर, संस्था भनेको एकनास चलिरहनुपर्छ ।

त्यस्तै, प्रडक्ट पनि पुरानो हुँदा चल्दैन । हामीले त्यस्ता प्रडक्ट हेरफेरका विषयमा पनि ख्याल गर्दै आएका छौँ । एजेन्टलाई पनि तालिम दिएर अघि बढ्न सहयोग गर्दै आएको छौ । यस्ता कुरामा ध्यान दिएमा बिजनेश आफै आउँछ । अरुलाई हेरेर आत्तिन हुन्न । नयाँ कम्पनीहरु आएको सन्र्दभमा पनि हामी शान्त भएर, स्टेवल भएर बस्यौँ नि ।

 

बीमा कम्पनीहरुबीचको प्रतिस्पर्धामा सूर्या लाइफ कहाँ छ ?

हाम्रो कम्पनी अहिले यति नम्बरमा छ म भन्दिन । अबको दिनमा यति नम्बरमा पुर्याउँछौं भनेर पनि भन्दिन । त्यसमा म विश्वास पनि गर्दिन । संस्थालाई राम्रो बनाउन सबै कर्मचारी, अभिकर्ताले इमान्दारपूर्वक काम गर्ने हो ।

हामीले दिने सेवा राम्रो हुनुपर्यो । राम्रा बीमा पोलिसी राम्रा हुनुपर्यो । कम्पनीले पालाना गर्नु पर्ने नियमहरु पालना भएको हुनुपर्यो । सेयरधनीलाई सकेसम्म राम्रो प्रतिफल दिन सकियोस् । धेरै ठूला कुरा गरेर केही पनि हुँदैन । निश्चित विजनेशको टार्गेट लिएर काम गर्छौ । समय सापेक्ष प्रडक्टको सुधार जरुरी हुन्छ । प्रडक्ट बेचेपछि पनि त्यसका बारेमा चलाख हुनुपर्छ । क्लेम, रिन्यू देखि ऋणसम्मको कुरालाई बुझ्न पर्छ ।

त्यस्तै, हामी पेपरलेस काम गर्ने, खर्च कटौति गर्ने कार्यमा हामीले जोड दिदैछौं । अनलाइनबाटै बीमा पोलिस किन्न सक्ने अवस्था बनाउन सकिन्छ । अहिले नै हामीले टर्म पोसिली अनलाइमा गएका छौं ।

शाखाहरूको विजनेश कस्तो छ ?

सूर्या लाइफले हाल ८३ वटा शाखाबाट सेवा दिइरहेको छ । सबै शाखाको विजनेश एकनास हँदैन । पोखराको शाखा र मनाङको शाखाबाट उस्तै विजनेशन हुन सक्दैन । जीवन बीमा व्यवसाय शाखा विस्तार गरेर मात्र पनि बीमा लेख बिक्री हुँदैन । अभिकर्ता मार्फत काम गर्नुपर्छ ।

बैकास्योरेन्सको प्रभाव बजारमा कस्तो छ ?

व्यक्ति भन्दा संस्थागत अभिकर्ता बढी प्रभावकारी भएको देखिन्छ । प्रतिस्पर्धाले पनि बीमा कम्पनीहरू र बैंकहरुबीच सहकार्य बढेको देखिन्छ । तर एउटा बैंकले सबै बीमा कम्पनीको बीमा पोसिली बेच्ने काम हुन थाल्यो भने त्यसले दुविधा सिर्जना गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.