‘पायोनियर’ बैंकर पृथ्वीबहादुर पाँडे नै भन्छन्ः ‘अब बैंकमा लगानी नगर्नुस्’

  २०७६ असार ७ गते १८:५४     विकासन्युज

काठमाडौं । शुक्रबार कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहल नेपाल इन्भेष्टमेन्ट बैंकका शेयरधनीहरूले भरिएका थिए ।

त्यही सभाहलको अघिपट्टी थिए, चुक्ता पुँजीका आधारमा नेपालकै सबैभन्दा ठूलो बैंकको रुपमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकका दुई हस्तीहरु पृथ्वीबहादुर पाँडे र ज्योतिप्रकाश पाण्डे ।

सबैलाई दाजुभाइ जस्तो लाग्ने तर वास्तविक रुपमा दाजुभाइ नरहेका ती दुई हस्तीका अगाडि सभामा बोल्ने वक्ताहरू पनि नतमस्तक जस्तै भए, इन्भेष्टमेन्ट बैंकको चैत मसान्तमा देखिएको खराव वित्तीय विवरणप्रति कुनैपनि वक्ताले प्रश्न उठाउने हिम्मत गरेनन् ।

उनीहरूले त्यसको मेलै पाएनन् । सभामा बोलेका सबै वक्ताहरूलाई बोल्ने अनुमति अध्यक्ष पाण्डे आफैंले दिए । सभामा उठेका प्रश्नहरूको उत्तर पनि आफैं दिएका थिए । सभाको सुरुवातमा छोटो सम्बोधन गरेका पाण्डेले सो सम्बोधनमै पनि बैंकिङ क्षेत्र पहिलेजस्तो नभएको आशयसहितको अभिव्यक्ति दिएका थिए । वक्ताहरूको प्रश्नको उत्तर दिने क्रममा त झन उनले खुलेरै भने अब अधिक नाफाको लागि बैंकमा लगानी नगर्नुस्, अन्य क्षेत्र नै बढी फाइदाजनक छ ।

पृथ्वीबहादुर पाण्डको यो संकेतमा अन्तिम त्रैमासको आफ्नो बैंकको रिपोर्टको प्रभाव कति थियो वा बैंकको हालको अवस्थाको प्रभाव कस्तो थियो वा बजार प्रतिस्पर्धा र जोखिमको अवस्था कस्तो थियो, त्यो समयले नै बताउला तर बैंरहरूको नाममा १/२ स्थानमै आउने उनको भनाइ बैंकिङ क्षेत्रमा लगानीकर्तालाई भने पक्कै पनि मननीय छन् ।

आफ्नो भनाइलाई पुष्टि गर्न उनले २/३ ओटा तर्क पनि प्रस्तुत गरे । उनको भनाइअनुसार निरन्तर बढ्दो कर्मचारी खर्च, घरभाडा लगायतले बढ्दै गएको सञ्चालन खर्च र उद्योगीहरूको आन्दोलनको कारण कसिँदै गएको ब्याजदर अन्तर । उनले आफ्नै केन्द्रीय कार्यालयको उदाहरण दिँदै सुरुमा साढे २ कराेड रहेको दरबारमार्ग अफिसको खर्च ८ करोड पुगेको बताउँदै सोही अनुपातमा अरु ठाउँमा पनि खर्च बढ्दै गएको सुनाए । यद्यपि गतिमा एग्रेसिभ रुपमा बढेको ऋणको जोखिमको प्रभावले बैंकिङ क्षेत्रलाई कति थिच्दै लगेको छ भन्ने उनले बताएनन्, न त कसैले त्यस्तो प्रश्न नै गरे ।

पाण्डेले दरबारमार्ग अफिसको १५ वर्षको सम्झौता सकिन लागेको भन्दै सो सकिएपछि दरबारमार्ग अफिसलाई लाजिम्पाटमा सारेर पुतलीसडक कार्यालयलाई सुविधा सम्पन्न केन्द्रीय कार्यालयको रुपमा विकास गर्ने योजना समेत सुनाए । ‘यो बैंकमा तपाईको, मेरो सबैको लागनी छ, तपाईँहरुको अलि कम होला, मेरो अलि धेरै होला तर सबैको छ, केही पैसा जोगाउन सकियो भने पनि त्यो पैसा तपाईँ हाम्रो खल्तीमा जान्छ ।’ उनले यसो भन्दैगर्दा सभाहल तालीले गुञ्जियो ।

उनले नयाँ शाखा खोल्दा त्यो शाखा नाफामा जान ७/ वर्ष लाग्ने बताउँदै चलिरहेको बैंकलाई लिँदा त्यो जोखिम कम हुने भएकोले इन्भेष्टमेन्ट बैंकले पनि ससाना बैंकहरुसँग मर्जर चाहेको बताए । ठूला बैंकसँग मर्जरलाई असम्भव नै नदेखे पनि निकै जोखिमपूर्ण देखेका उनले भने ‘हाइयर दि इन्सिट्युसन, हाइयर दि कम्लिकेसन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.