प्रतिनिधिसभाकाे आजको बैठक, कसले के बाेले ?

  २०७६ असार ६ गते १४:०९     विकासन्युज

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सांसद इन्दुकुमारी शर्माले सरकारले शुरु गरेको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम छिटो र सर्वसुलभ बनाउनु पर्नेमा सरकारको ध्यानाकर्षण गराएकी छिन्। प्रतिनिधिसभाको शुक्रबारको विशेष समयमा उनले नेपालको संविधानको मौलिक हकमा व्यवस्था गरेको स्वास्थ्य सेवाको हकलाई ध्यानमा राखी निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुलभ बनाउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

सांसद शर्माले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा जिल्लाहरुमा प्रभावकारी हुन नसकेको र सरकारी अस्पतालमा समेत छिटोछरितो नहुने गरेको भन्दै सबै सरकारी अस्पलतामा सहज र सर्वसुलभ तरिकाले सेवा दिन आग्रह गर्दै उनले सबै सरकारी अस्पतालमा निःशुल्क खानेपानीको व्यवस्था गर्नु पर्नेमा पनि जोड दिएकी छिन् ।

त्यस्तैगरी, सांसद राजेन्द्र गौतमले सङ्खुवासभामा केही दिनअघि आएको हावाहुरीका कारण ६० घरका कृषकको अलैँची खेती नष्ट भएकाले ती कृषकलाई क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराए ।

सांसद प्रभु साहले रौतहट जिल्लामा घटेको १५ वर्षीय नाबालिकामाथि बलात्कार जस्तो जघन्य अपराधको घटनामा मिलापत्र गरेकामा आपत्ती जनाउँदै बलात्कार, हत्या, आतङ्कजस्ता कुरामा मिलापत्र गर्ने कार्यप्रति सरकारको ध्यान जानुपर्ने सुझाव दिएका छन् ।

अर्का सांसद मीना पाण्डेले सर्लाही जिल्लामा कुमार चौधरीलाई प्रहरीले समातेर हत्या गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै पछिल्लो समय हत्याजस्तो गम्भीर प्रकृतिका मानव अधिकार हननका बढदै गएकामा चिन्ता व्यक्त गरे ।

अन्त्यमा, सांसद राधा ज्ञवालीले कृषि, सहकारी तथा प्राकृृतिक स्रोत समितिको बैठकमा तराईका अधिकांश जग्गा चौधरीको नाममा रहेको र ती जग्गाको मालिक भारतीय भएको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको उल्लेख गर्दै त्यस्तो विषयमा आफूले कुनै कुरा नभनेको स्पष्ट पारेकी छिन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.