नक्कली प्रमाणपत्र बाेकेर सनराइज बैंककाे सञ्चालक बन्ने प्रयास विफल, अरू बैंकमा पनि आशंका

  २०७६ असार ६ गते ९:४५     विकासन्युज

काठमाडौं । सनराइज बैंक सञ्चालक समितिको सदस्य चयनका लागि पुस २२ गते ११ बजेदेखि २ बजेसम्मका लागि मनोनयन पत्र दर्ता गर्ने समय थियो । त्यसै अवधिमा आफूलाई सञ्चालक पदको उम्मेदवारी दाबी गर्दै आए भारतीय मूलका नागरिक अनुराग गोयल ।

बैंक तथा वित्तीय संस्था ऐनको प्रावधानअनुसार कुनै पनि बैंक तथा वित्तीय संस्थाको सञ्चालक बन्न स्नातक तह उर्तीण गरेको हुनुपर्छ । ऐनको सोही व्यवस्थालाई टेकेर गोयलसँग निर्वाचन समितिले शैक्षिक योग्यताको प्रमाणपत्र माग गर्यो । उनले शैक्षिक यौगयताको प्रमाणपत्र पेश त गरे तर अपुरो । भारतको विलियम क्यारी युनिभर्सिटीको एमबीए सरहको योग्यता प्राप्त गरेको उनको दाबी थियो । तर, जब समितिले उनले सो प्रमाणपत्रलाई आधिकारिकता नदिई उनको उम्मेदवारी दर्ता गर्न अस्वीकार गरिदियो, उनी अदालत गए ।

पाटन पुनरावेदन अदालतले उक्त निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै सनराइजको साधारणसभा र सञ्चालक समितिको निर्वाचन रोकिएन र बैंकले नयाँ सञ्चालक समिति पनि पायो तर उनी फेरि नयाँ सञ्चालक समितिको गठन प्रक्रिया अवैध रहेको भन्दै सोही अदालतमा अर्को निवेदन दर्ता गराएका छन् ।

उता निज अनुराग गोयलले पेश गरेको शैक्षिक प्रमाणपत्रको आधिकारिकताबारे शंका उत्पन्न भएपछि बैंक निर्वाचन समितिले २०७६ जेठ १४ गते त्रिभुवन विश्वविद्यालयलाई विलियम क्यारी युनिभर्सिटीको समकक्षताबारे चिठी लेख्याे । २०७६ जेठ १५ गते त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालयले बैंक सञ्चालक समितिलाई पत्र लेख्दै गोयलले पेश गरेको एमबिए शैक्षिक उपाधिको त्रिविसँग कुनै समकक्षता नरहेको जनाएको छ । योसँगै गोयलले पेश गरेको शैक्षिक प्रमाणपत्र नेपाली कानुनकाे नजरमा अमान्य भयाे ।

फेक सर्टिफिकेटका लागि चर्चित विश्वविद्यालय

विलियम क्यारी युनिभर्सिटी शैक्षिक प्रमाणपत्र बेच्ने यूनिभर्सिटीकाे रूपमा दक्षिण एशियाभर नै चर्चित रहेछ । भारतको उत्तरपूर्वी राज्य मेघालयको राजधानी सिलोङ्गमा रहेको भनिएको उक्त विश्वविद्यालयको नामबाट शैक्षिक प्रमाणपत्र बिक्री हुने गरेको हो । सोही विश्वविद्यालयको नाममा बनेको १०३ ओटा फेक सर्टिफिकेटसहित गत पुसमा भारतमा ४ जना व्यक्ति समातिएका थिए ।

त्यसो त सो विश्वविद्यालयलाई सबै विश्वविद्यालयहरु विभिन्न उपाधिका लागि अनुदान दिने विश्वविद्यालय अनुदान आयोग (युजीसी) ले सम्बन्धन समेत नदिएको बताइएको छ । विश्वविद्यालय आफैं के दाबी गर्दै आएको छ भने उसले आयोगसँग कुनै सम्बन्धन लिएको छैन र लिन पनि चाहेको छैन ।

नक्कली प्रमाणपत्र बाेकेर सनराइज बैंकमा सञ्चालक बन्ने गाेयलकाे प्रयास त विफल भएकाे छ तर यस्ताे धन्दा अरू बैंक र बीमा कम्पनीहरूमा पनि भएकाे हुन सक्ने आशंकमा  गरिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.