२७.५ मेगावाटको सुनकोशी मरिन ड्राइभर्सन आगामी आवबाट, ठेक्का प्रक्रिया नै ६ महिना लाग्ने

  २०७६ असार ४ गते १२:२४     विकासन्युज

काठमाडौं । सरकारले पछिल्लो समय राष्ट्रिय गौरवका आयोजना घोषणा गरेको सुनकोशी मरिन बहुउद्देश्यीय ड्राइभर्सन निर्माण कार्य आगामी आवदेखि शुरु हुने भएको छ ।

साढे २७ मेगावाट विद्युत सहित एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्य सहित सिँचाइ विभागले पाँच वर्षअघि यो बहुउद्देश्यीय ड्राइभर्सन आयोजनाको गृहकार्य थालेको हो ।

हाल आयोजना निर्माणका लागि वातावरण प्रभाव मूल्यांकन( ईआईए) को काम भइरहेको आयोजना प्रमुख शुशीलचन्द्र आचार्यले जानकारी दिए । ‘फिल्ट काम सकिएको छ,’ उनले भने ‘अब छिट्टै सार्वजनिक सुनुवाइ गर्दैछौं ।’

आयोजना ठेक्का लगाउनेदेखि छनोट प्रक्रियासम्म ६ महिना लाग्न सक्छ । ठेकेदार छनोट पछि काम शुरु हुने आचार्यले बताए । आयोजना चार वर्षमा सम्पन्न गर्ने योजना आयोजनाले गरेको छ ।

प्रारम्भिक चरणमा उक्त आयोजना सम्पन्न गर्न करिब ८७ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । सो लागतमध्ये विद्युत उत्पादनमा ५३ अर्ब र सिँचाइमा ३७ अर्ब खर्च गर्ने योजना थियो । यद्यपी विद्युतमा गरिएको लगात अनुमान ४२ मेगाका हो । विद्युत उत्पादन नै घट्ने भएपछि लागत पनि घट्ने आचार्यले बताए । प्रारम्भिक अनुमान साढे १४ मेगावाट घट्ने देखिएको छ ।

तराई मधेशमा सिँचाइ र विद्युतको सुविधा उपलब्ध गराउने लक्ष्यका साथ सरकारले सो आयोजनालाई प्रमुख प्राथमकितामा राखेको छ । उक्त परियोजनालाई छिटो सम्पन्न गर्न अत्याधुनिक प्रविधिको प्रयोग गरिने भएको छ । भेरी बबई डाइभर्सन आयोजनाको सुरुङ निर्माणमा टनेल बोरिङ मेशिन (टीबीएम) को प्रयोगका कारण सहज भएकाले सो आयोजनामा समेत पनि टीबीएम प्रविधिको प्रयोग गर्ने सोचमा सरकार लागेको छ । भेरी बबई डाइभर्सन आयोजनाको प्रगतिका आधारमा पनि सुनकोशी–मरिन डाइभर्सन आयोजना अगाडि बढाउन सकिने आधार र विश्वास पैदा भएकोे विभागका उपमहानिर्देशक कृष्ण बेल्बासेले बताए ।

टीबीएमको प्रयोगपछि सुरुङ खन्न थालिएको एक वर्षमै ७५ प्रतिशत बढी निर्माण सम्पन्न गर्न सकिन्छ । आयोजनामा कुल १२ दशमलब दुई किलोमिटर लामो सुरुङ खन्नुपर्नेछ । आयोजनाबाट २ नम्बर प्रदेशका चार जिल्ला बारा, सर्लाही, रौतहट, धनुषा तथा महोत्तरीको एक लाख २२ हजार हेक्टर जमीनमा सिँचाइ पुग्नुका साथै मरिन उपत्यकामा पनि सिँचाइ सुविधा उपलब्ध हुनेछ । परियोजनाबाट २ नम्बर प्रदेश आमजनतालाई खानेपानी उपलब्ध गराउने लक्ष्यसमेत राखिएको छ ।

लामो समयदेखि चर्चामा मात्रै सीमित रहेको ‘सुनकोशी मरिन डाइभर्सन परियोजनाको विस्तृत परियोजना प्रतिवेदन(डीपीआर) तयार भइसकेको छ । सिन्धुलीको खुर्कोट नजिक सुनकोशी नदीमा बाँध बाँधेर सुरुङमार्फत पानी मरिन उपत्यकामा खसालिने छ । आयोजनाले विकास र पुर्वाधारको माध्यमबाट सुनकोशी मरिन डाइभर्सन परियोजनाले हिमाल र पहाडलाई जोड्नुका साथै राष्ट्रिय एकता निर्माण गर्न मद्दत पुग्ने बताइएको छ । योजना सम्पन्न हुन चार वर्ष लाग्ने आयोजना प्रमुख आचार्यले बताए । नेपालमा सनुकोशी मरिन ड्राइभर्सन वाहेक २१ वटा राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.