एबीसी जाने पदमार्गमा बने २ झोलुङ्गे पुल, आरोहीलाई सुबिधा

  २०७६ असार ४ गते ११:०३     विकासन्युज


म्याग्दी । म्याग्दीस्थित अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा दुई झोलुङ्गे पुल निर्माण भएको छ । पर्यटन कार्यालय पोखराको सहयोगमा अन्नपूर्ण खोलामा थप दुई झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा छन् । पदमार्गअन्तर्गत फुतफुते झरनामा ३० मिटर र गुराँसे ओढारमा २५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएको हो ।

कार्यालयको रु १० लाख अनुदान र स्थानीयवासीको श्रमदानमा झोलुङ्गे पुल निर्माण गरिएको गाउँ संरक्षण व्यवस्थापन समिति नारच्याङका अध्यक्ष तेज गुरुङले बताए । यस वर्ष घोरल खसेको भिरको फेदीमा ३६ मिटर र भुसकेतको जङ्गलस्थित अन्नपूर्ण खोलामा ३४ मिटर लामो झोलुङ्गे पुल निर्माण शुरु भएको छ ।

प्रदेशको उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयले झोलुङ्गे पुल बनाउन रु १५ लाख विनियोजन गरेको छ । यसअघि छोटेपामा विसं २०६४ मा निर्माण भएको झोलुङ्गे पुल बाढीले बगाएको थियो । अन्नपूर्ण आधार शिविर जाने पदमार्गलाई सुरक्षित र व्यवस्थित बनाउन झोलुङ्गे पुल निर्माण गरिएको उपभोक्ता समितिका चन्द्रजित पुनले बताए ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने अन्नपूर्ण आधार शिविर पुग्ने पदमार्गमा पर्ने अन्नपूर्ण र निलगिरिखोलामा हाल काठका अस्थायी पुल (फट्के) आवतजावत गरिँदै आएको छ । केही ठाउँमा रुख ढलाएर खोलामाथि राखेर आवतजावत गर्ने बाटो बनाइएको छ ।

विसं २०६८ मा नारच्याङका बासिन्दाले आधार शिविर पुग्ने पदमार्ग पहिचान गरेका थिए । यसअघि हिमाल आरोहीहरु मुस्ताङको ताक्लुङ हुँदै करीब पाँच दिन भिर र जङ्गलमा जोखिमपूर्ण यात्रा गरेर आधार शिविर पुग्ने गर्दथे । नारच्याङ गाउँदेखि तीन दिनको पैदलयात्रापछि आधार शिविर पुग्न सकिन्छ । पदमार्ग पहिचान भएपछि सरकारी निकाय र स्थानीयवासीको सक्रियतामा पूर्वाधार निर्माणले तीव्रता पाएको छ ।

यस वर्ष हुमखोलादेखि आधार शिविर जोड्ने पदमार्ग स्तरोन्नतिको काम भइरहेको छ । नारच्याङका करीब ३० मजदुर एक महिनायता जङ्गलमै बास बसेर पदमार्ग स्तरोन्नतिको काममा जुटेका छन् । गत वर्ष मिस्त्रीखोला आधार शिविरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को रु १० लाख सहयोगमा २० जना क्षमताको आश्रयस्थल निर्माण गरिएको थियो । यस वर्ष एक्यापको रु १५ लाख सहयोगमा छोटेपा र आधार शिविरको पञ्चकुण्ड ताल परिसरमा १५÷१५ जना क्षमताको आश्रयस्थल बनाउन लागिएको छ ।

आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको फेदीमा रहेको आधार शिविर नजिकबाट हिमालको अवलोकन, हिमताल, वन्यजन्तु, पक्षी, वनस्पतिको अवलोकन गर्न सकिन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.