२०७६ असार ३ गते १६:१४ कृष्ण न्यौपाने
काठमाडाैं । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा स्थापना हुने गण्डकी विश्वविद्यालयका लागि प्रदेश सरकारले साढे दश करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७६/७७ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले विश्वविद्यालय स्थापनाका लागि रु १० करोड ४० लाख बजेट विनियोजन गरेकाे हो । उच्च शिक्षामा दक्ष तथा व्यावसायिक जनशक्ति उत्पादन गर्न सम्भाव्यता अध्ययन प्रतिवेदनका आधारमा विश्वविद्यालय स्थापनाका लागि उक्त रकम विनियोजन गरिएको मन्त्री गुरुङले जानकारी दिएका छन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अहिलेको शिक्षा प्रणालीले सीपमूलक जनशक्ति उत्पादन गर्न नसकेको भन्दै व्यावसायिक र प्राविधिक शिक्षा अहिलेको प्रमुख आवश्यकता रहेको बताउँदै आएका छन् । मुख्यमन्त्री गुरुङले विश्वविद्यालय स्थापनाको प्रक्रिया आगामी वर्षदेखि शुरु हुने जानकारी दिँदै भने, “विश्वविद्यालय स्थापनाका लागि रु आठ अर्ब बजेट अनुमान गरिएको छ । आगामी आर्थिक वर्षदेखि काम शुरु गर्ने तयारीमा छाैं ।”
विश्वविद्यालय स्थापनाका लागि प्रदेश सरकारले बेलचौतारामा ४७५ रोपनी सार्वजनिक जग्गा पहिचान गरेको छ । भानुभक्त क्याम्पससँगै जोडिएको जग्गामा स्थापना हुने विश्वविद्यालयका लागि सङ्घ सरकारसँग जग्गा माग गरिएको छ । उक्त जग्गा प्रदेशलाई उपलब्ध गराउन गत पुस १३ गते मन्त्रिपरिषद्को बैठकले माग गरिसकेको छ । विश्वविद्यालय स्थापना गर्न गठित प्रारम्भिक अध्ययन समितिले शुक्लागण्डकीमा विश्वविद्यालय स्थापना गर्न उपयुक्त भएको प्रतिवेदन दिएपछि प्रदेश सरकारले विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो ।
विश्वविद्यालय स्थापनाको सम्भाव्यता अध्ययनका लागि प्रदेश सरकारले प्रा. डा. गणेशमान गुरुङको संयोजकत्वमा एक समिति गठन गरेको थियो । उक्त समितिले स्थलगत अनुगमनपछि शुक्लागण्डकी नगरपालिका विश्वविद्यालय स्थापनाका लागि उपयुक्त रहेको प्रतिवेदन सरकारलाई बुझाएको थियो । विश्वविद्यालयमा प्राकृतिक विज्ञान, प्राविधिक तथा व्यावहारिक व्यवस्थापन, समाजशास्त्र मानवशास्त्र, प्रविधि, आविष्कार र शिक्षामा स्नातक, स्नातकोत्तर, एमफिल र पिएचडी गराउने योजना छ ।
शुक्लागण्डकी नगरपालिकामा प्रदेशस्तरीय विश्वविद्यालय स्थापना हुने खबरले स्थानीयवासी खुशी भएका छन् । उक्त नगरपालिकाका प्रमुख किसान गुरुङले प्रदेशस्तरीय विश्वविद्यालय शुक्लागण्डकीमा स्थापना हुनु खुशीको कुरा भएको भन्दै आवश्यक सहयोगका लागि नगरपालिका तयार रहेको बताए ।
तनहुँ उद्योग वाणिज्य सङ्घ खैरेनीटार एकाइका उपाध्यक्ष एवं स्थानीयवासी सुजित हिराचनले बेलचौतारामा स्थापना हुने विश्वविद्यालयका बजेट विनियोजन हुनु खुशीको कुरा रहेको बताउँदै भने, “सरकारको निर्णय सकारात्मक छ, यसले समग्र शुक्लागण्डकी क्षेत्रकै विकासमा टेवा पुर्याउने विश्वास लिएका छाैं।” शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडाका तीर्थराज खनालले शुक्लागण्डकीमा विश्वविद्यालय बन्नु समग्र तनहुँबासीकै हितमा हुने बताएका हुन् ।
दु्रत विषादी परीक्षण केन्द्रको स्तरोन्नति गरिने गण्डकी प्रदेश सरकारले तनहुँको आँबुखैरेनी र स्याङ्जाको मालुङ्गामा स्थापना भएको दु्रत विषादी अवशेषण परीक्षण केन्द्रलाई स्तरोन्नति गर्ने भएको छ । आर्थिक वर्ष २०७६/७७ काे बजेटमा प्रदेशको प्रवेश नाका आँबुखैरेनी र स्याङ्जामा स्थापना भएको विषादी अवशेष दु्रत विश्लेषण प्रयोगशालालाई स्तरोन्नति गरिने उल्लेख छ ।
दु्रत विषादी अवशेष परीक्षण केन्द्रलाई प्रयोगशालाको रुपमा स्तरोन्नति गरी एकीकृत खाद्य, कृषि तथा पशुपक्षीजन्य उपजको गुणस्तर चेकपोष्टको रुपमा विकास गर्न बजेट विनियोजन भएको उल्लेख गरिएको छ । तरकारीलगायत खाद्यान्नमा हुने विषादी न्यूनीकरण गर्दै विषादीरहित तरकारी प्रदेशभित्र भित्र्याउने उद्देश्यले मन्त्रालयले प्रयोगाशाला स्थापना गरेको थियो ।
हाल सञ्चालन भइरहेको केन्द्रबाट प्रदेश भित्रिने कुखुरा, माछा, मासु तरकारीलगायतका खाद्य पदार्थ परीक्षण गरिएको छ । परीक्षणले अखाद्य देखिएका खानेकुरा भित्र्याउन रोक लगाइनेछ । प्रयोगशालामा अखाद्य पदार्थ पहिचान गर्ने उपकरण जडान गरिएको छ । प्रयोगशालामा शाखा अधिकृत, प्राविधिक सहायक, नायब प्राविधिक सहायकलगायत गरी सात जना कर्मचारीको दरबन्दी छ ।
यसैगरी, तनहुँ जिल्लाको दक्षिणी भेगमा विद्युत् विस्तार कार्यका लागि तनहुँ हाइड्रोसँग समन्वय गरिने, तनहुँको शुक्लागण्डकी र भिमादलाई स्याटलाइट सिटीको रुपमा विकास गरिने र मौसमी तथा बेमौसमी कृषि उपजको संरक्षण र सुरक्षित भण्डारणका लागि तनहुँमा चिस्यान केन्द्र निर्माण गरिने बजेटमा उल्लेख गरिएको छ । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.