ब्रोकर लाइसेन्सका लागि अबको प्रक्रिया के ? एनआईसी र सानिमा नेप्सेमा, अरु तयारीमा

  २०७६ असार ३ गते ९:२७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकमा ब्रोकर कारोबार सञ्चालनका लागि भन्दै १० कम्पनीले स्वीकृति पाएसँगै अब ती बैंकहरुले कहिले ब्रोकर सेवा दिन थाल्छन् भन्ने चासो सुरु भएको छ । नेपाल राष्ट्र बैंकमा निवेदन दिएका १९ ओटा वाणिज्य बैंकमध्ये नेपाल इन्भेष्टमेन्ट बैंक, बैंक अफ काठमाण्डू, एनआईशी एशिया बैंक, कुमारी बैंक, सिद्धार्थ बैंक, ग्लोबल आईएमई बैंक, जनता बैंक, मेगा बैंक, सेञ्चुरी कमर्शियल बैंक र सानिमा बैंकलाई ब्रोकर सेवाका लागि सहायक कम्पनी खोल्ने सम्बन्धमा राष्ट्र बैंकले स्वीकृति दिएको हो ।

सिभिल बैंककाे स्वीकृति प्रक्रियामा रहेकाे र नबिल बैंक, कृषि विकास बैंक, हिमालयन बै‌ंक, नेपाल बंगलादेश बैंक, माछापुच्छ्रे बैंक, लक्ष्मी बैंक, सिटिजन्स बैंक र सनराइज बैंकले पनि सहायक कम्पनी स्थापनाका लागि राष्ट्र बैंकमा निवेदन दिएका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंकलाई सहायक कम्पनीमार्फत् ब्रोकर कारोबार सञ्चालन गर्न पाउने व्यवस्थाअनुरुप सहायक कम्पनी खोल्न स्वीकृति दिइएको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मीप्रपन्न निरौलाले जानकारी दिए ।

लाइसेन्स पाएकामध्ये एनआईशी एशिया बैंक र सानिमा बैंक सहायक कम्पनी स्थापना गरि ब्रोकर लाइसेन्सका लागि नेपाल स्टक एक्सचेञ्ज पुगिसकेका छन् । ती बैंकहरुले लाइसेन्सका लागि दिएको निवेदन नेप्सेमा दर्ता भएको नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरि पराजुलीले दिए । बाँकी ८ कम्पनीहरु भने नेप्से पुगिसकेका छैनन् ।

कहिले पाउँछन् बैंकले लाइसेन्स ?

प्रवक्ता पराजुलीका अनुसार बैंकका सहायक कम्पनीहरुले नेप्सेमा निवेदन दिएसँगै आवश्यक प्रक्रिया पूरा गरी नेप्से बोर्डले कति संख्यामा र कुन प्रक्रियाबाट लाइसेन्स दिने र ती कम्पनीहरुको पूर्वाधार तथा सेवा शर्तहरुको बारेमा समेत बोर्डले निर्णय गर्ने बताए । नेप्से बोर्डले अध्ययन गरेपछि ब्रोकर लाइसेन्सका लागि उपयुक्त रहेका बैंकका सहायक कम्पनीहरुलाई लाइसेन्स दिन धितोपत्र बोर्डलाई सिफारिस गर्नेछ ।

यद्यपि त्यसका लागि नेप्सेले बजारमा ब्रोकरहरुको आवश्यकता, सम्भाव्यता, क्षमता लगायतका विभिन्न पक्षमा अध्ययन गर्नुपर्ने भएकोले यसका लागि समय लाग्सक्ने जानकारी दिए । ‘बैंकलाई ब्रोकर लाइसेन्स दिने भन्ने विषय हाम्रो लागि नौलो हो, त्यसका लागि नयाँ कार्यविधि बनाउनुपर्ने पनि हुनसक्छ, यसका लागि यति नै समय लाग्छ भन्न सकिन्न तर समय लाग्नसक्छ’ उनले विकासन्यूजसँग भने ।

 

याे पनि हेर्नुहाेस्

१० बैंकलाई ब्रोकरको काम गर्न राष्ट्र बैंकको अनुमति

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.