सडक विस्तारको काममा लापरबाही गर्ने ठेकेदारलाई १५ करोड जरिवाना

  २०७६ असार ३ गते ८:३९     विकासन्युज

दोलखा । दोलखालाई राजधानीसँग जोड्ने मुख्य मार्ग चरिकोट-खाडीचौर सडक विस्तारको काममा लापर्बाही गरी अलपत्र पारेको भन्दै कार्यरत दुईवटा ठेकेदार कम्पनीलाई सडक विभागले दैनिक साढे सात लाख रुपैयाँ हर्जाना तिराउने निर्णय गरेको छ ।

एक्जिम बैंकको सहयोगमा ४ वर्षअघि सुरु सिन्धुपाल्चोकको खाडीचौर बजारदेखि दोलखा सदरमुकाम चरिकोटसम्मको सडक विस्तारको काममा ढिलासुस्ती र लापर्बाही गरी अलपत्र पारेको भन्दै कारबाहीस्वरूप विभागले दुवै ठेकेदार कम्पनीबाट दैनिक साढे सात लाख हर्जाना भराउने निर्णय गरेको हो ।

सार्वजनिक खरिद नियमावलीअनुसार काममा ढिलासुस्ती गर्ने दुवै ठेकेदारले दुई सय दिनसम्म सडक विभागलाई उक्त हर्जाना बुझाउनुपर्नेछ। ४ वर्षअघि टेन्डर भएको खाडीचौरदेखि चरिकोटसम्मको ५५ किलोमिटर यो सडक खाडीचौर बजारदेखि मुडेभन्दा तल्लो मोडसम्म २५ र त्यहाँदेखि चरिकोट बजारसम्म ३० किलोमिटर गरी दुईवटा प्याकेजमा ठेक्का लागेको थियो। पहिलो प्याकेज ३९ करोड र दोस्रो प्याकेज ७० करोड रुपैयाँमा ठेक्का लागेको थियो ।

खाडीचौरदेखि मुडेसम्म पहिलो प्याकेजको ठेकेदार कम्पनी गौरीपार्वती निर्माण सेवाले दैनिक ३ लाख र मुडेदेखि चरिकोटसम्मको ठेकेदार कम्पनी शंकर माली निर्माण सेवाले दैनिक ४ लाख ५० हजार रुपैयाँ हर्जाना तिर्नुपर्नेछ। दुई सय दिनभित्र काम नसिध्याए पहिलो प्याकेजको जिम्मा पाएको गौरीपार्वतीले ६ करोड र दोस्रो प्याकेजको जिम्मा पाएको शंकर मालीले ९ करोड गरी १५ करोड रुपैयाँ हर्जाना सरकारलाई तिर्नुपर्नेछ।

सडक विस्तार आयोजनाका प्रमुख धर्मेन्द्रकुमार झाले काममा ढिलासुस्ती गरेका कारण ती निर्माण कम्पनीलाई हर्जाना लगाइएको सुनाए । ‘हर्जाना दुई सय दिनसम्म तिर्नुपर्नेछ,’ उनले भने, ‘यदि फेरि पनि २ सय दिनभित्र काम नभए ठेक्का तोड्ने प्रक्रियामा जानेछ।’ आजको नागरिक दैनिकमा समाचार छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.