चिनौं यी अनलाइनमैत्री ब्रोकरहरु, चर्चित ब्रोकरका ग्राहक नै अनलाइन प्रयोगमा उदासिन

  २०७६ असार २ गते ९:३५     विकासन्युज

काठमाडौं । शेयर बजारमा बढी कारोबार गर्ने र त्यतिकै चलखेल समेत गर्ने आरोप लाग्दै आएका ब्रोकरहरु नै अनलाइन कारोबारमा उत्साहित नरहेको पाइएको छ । नेपाल स्टक एक्सचेञ्जको तथ्याङ्क अनुसार जेठ ३१ सम्म अनलाइन कारोबारका लागि युजरनेम र पासवर्ड लिएका ८ हजार ९ सय ४४ जना ग्राहकहरु आवद्ध रहेका ५० ब्रोकर कम्पनीहरुमा बढी कारोबार गर्ने कम्पनीहरु तुलनात्मक रुपमा पछाडि देखिएका छन् ।

बजारमा चर्चित नासा सेक्युरिटिज (ब्रोकर नं ५८), श्रीहरि सेक्युरिटिज (ब्रोकर नं ५६), श्रीकृष्ण सेक्युरिटिज (ब्रोकर नं २८), एशियन सेक्युरिटिज (ब्रोकर नं २८) जस्ता ब्रोकरहरुका ग्राहकहरु अनलाइन कारोबारप्रति उत्साहित नदेखिएका हुन् । यद्यपि अर्काे चर्चित आर्यतारा सेक्युरिटिजले भने १०.६६ प्रतिशत हिस्सा लिँदै सर्वाधिक प्रयाेगकर्ता भएकाे ब्राेकर कम्पनी बन्न सकेकाे छ ।

अनलाइन कारोबारका लागि सबैभन्दा धेरै युजरनेम र पासवर्ड उपलब्ध गराउने ब्रोकर कम्पनी आर्यतारा इन्भेष्टमेन्ट (ब्रोकर नं ५७) रहेको छ । उसको ९५४ जना अनलाइन ग्राहक छन् जुन कुल संख्याको १० प्रतिशत भन्दा बढी हो । त्यस्तै अनलाइन सेक्युरिटिज (ब्रोकर नं ४९) को ७४३ जना, भिजन सेक्युरिटिज (ब्रोकर नं ३४) को ७२८ जना, दिपशिखा सेक्युरिटिज (ब्रोकर नं ३८) को ६७१ जना र सुन्धारा सेक्युरिटिज (ब्रोकर नं ५२) को ५२९ जना अनलाइन ग्राहक छन् । बाँकी ब्रोकरहरुको भने त्यो संख्या ३५० जनाभन्दा कम छ ।

२५ ओटा ब्रोकरहरुको अनलाइन ग्राहक संख्या १०० जनाभन्दा पनि कम छ । श्रीकृष्ण सेक्युरिटिज, अग्रवाल सेक्युरिटिज जस्ता चर्चित ब्रोकरहरु यही वर्गमा परेका छन् । बाँकी कम्पनीहरुको भने १०४ जनादेखि ३२८ जनासम्म अनलाइन ग्राहक रहेको नेप्सेको तथ्याङ्क छ ।

अनलाइन कारोबारको विश्वसनीयताप्रति बजारमा चलेको हल्लाका कारण ठूला कारोबारीहरु अझैपनि अनलाइन प्रयोगप्रति आकर्षित छैनन् । त्यस्तै अनलाइन लिएपछि ‘म्यानुअल’ विधिबाट कारोबार नै गर्न नसकिने हो कि भन्ने भ्रमका कारण पनि अनलाइनको युजरनेम र पासवर्ड दिनेको संख्या बढ्न नसकेको विश्लेषण कतिपयको छ ।

हाल सूचीकृत कम्पनीको शेयरमा लगानी गरी शेयर अभौतिकीकरण गर्नेको संख्या करिब १५ लाख रहेको बताइए पनि दोस्रो बजारमा कारोबारका लागि ब्रोकर कम्पनीहरुमा खाता खोलेका ग्राहहरुको संख्या भने करिब ३ लाख मात्रै रहेको नेप्सेले जनाएको छ, त्यसमध्ये पनि कतिपयले केवाईसी अपडेट नगरेका कारण खाता निष्क्रिय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.