लघुवित्तहरु मर्जरप्रति कसरी भए जागरुक, राष्ट्र बैंकको दवावले कि आफ्नै ?

  २०७६ असार २ गते ७:४९     विकासन्युज

काठमाडौं । यतिबेला नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालको अभिव्यक्तिले बजार तातेको छ । लघुवित्त कम्पनीहरुले शेयर बजारमा अनावश्यक चलखेल गरेका कारण ती संस्थालाई फोर्स मर्जरमा लैजान बाध्य भएको बताउँदै त्यसो नगर्नुपर्ने भए एक महिनाभित्र आफैं गाभिने समयसीमा पनि उनले दिएका थिए ।

गभर्नरको यो भनाइसँगै लघुवित्त संस्थाका संस्थापक र शेयरधनीहरुमा तरंग छाएको छ । यसको प्रभावस्वरुप आइतबारको शेयर बजारमा माइक्रोफाइनान्स समूहको शेयरमा उच्च गिरावट देखियो । गभर्नरले लघुवित्त संस्थाहरुको ‘अस्वाभाविक’ शेयरमूल्यप्रति असन्तुष्टि जनाएकेले पनि यो क्षेत्रको शेयर मूल्यमा थप चाप देखिएको हो, त्यसो त आइतबारको समग्र बजार पनि नकारात्मक नै रह्यो ।

गभर्नर नेपालले त्यस्तो अभिव्यक्ति दिँदैगर्दा दुई दर्जन भन्दा बढी लघुवित्त संस्था भने हाल मर्जरको तयारीमा अघि बढिसकेका छन् । राष्ट्र बैंकले आन्तरिक रुपमा तयारी गर्नुबाहेक राष्ट्र बैंकले औपचारिक रुपमा सरोकारवाला पक्षहरुसँग छलफल गरेको छैन । नेपाल लघुवित्त बैंकर्स संघका महासचिव समेत रहेका विजय लघुवित्तका प्रमुख कार्यकारी अधिकृत वसन्तराज लम्सालले हालसम्म औपचारिक रुपमा राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुको मर्जर र एक्विजिसनबारे औपचारिक छलफल नगरेको बताए ।

‘सामान्य अनौपचारिक छलफल हुनु छुट्टै हो, संस्थागत रुपमा राष्ट्र बैंकसँग हाम्रो कुनै छलफल भएको छैन । अनौपचारिक भेटघाटको क्रममा अब यसरी भएन, तपाईँहरु पनि मर्जरमा जानुपर्यो भन्नुभएको चाहिँ थियो ।’ लम्सालले विकासन्यूजसँग भने ।

कसरी आयो मर्जरकाे एसिलिरेसन ?

औपचारिक रुपमा मर्जरको धारणा नबनाएको भए पनि नेपाल राष्ट्र बैंकले लघुवित्त कम्पनीहरुलाई हकप्रद जारी गरेर पुँजी वृद्धि गर्ने विकल्प भने केही समय अघिदेखि नै बन्द गरिदिएको थियो । थोरै पुँजी भएका त्यस्ता कम्पनीहरुलाई हकप्रदमार्फत् पुँजी बढाउने बाटो बन्द गरिदिँदा पुँजी पर्याप्तता अनुपात कायम गर्न नै मुस्किल पर्ने अवस्था आएपछि लघुवित्तहरुले वैकल्पिक बाटो रोज्न बाध्य भएको लम्सालको भनाई छ ।

बाध्यकारी मर्जरबारे पहिल्यै जानकार

बाध्यकारी मर्जरबारे हालसम्म पनि कुनै औपचारिक निर्देशन प्राप्त नभएको भए पनि यसअघि नै लघुवित्तका संस्थापक र बै‌ंकरहरु राष्ट्र बैंकको सम्भावित बाध्यकारी मर्जरबारे बेखबर भने थिएनन् । ‘नेपाल राष्ट्र बैंकका अधिकारीहरुको अभिव्यक्ति, निर्देशन र सञ्चार माध्यममा आएका समाचारहरुले नयाँ मौद्रिक नीतिमा कुनै न कुनै रुपमा यस्तो व्यवस्था आउँछ भन्ने लागेकै हो । गभर्नरज्यूको अभिव्यक्तिले यसलाई थप पुष्टि गर्ने काम भने गर्यो ।’ लघुवित्त क्षेत्रकै अर्का एकजना बैंकरले विकासन्यूजसँग भने ।

उनले गभर्नरले लघुवित्त संस्थाका सञ्चालक तथा कार्यकारी प्रमुखहरुमाथि लगाइएको बजार प्रभावित पार्ने गरेको आरोप भने अस्वीकार गरे । ‘बजार माग र आपूर्तिमा आधारमा निर्धारण हुने हो । लघुवित्त संस्थाहरुको शेयरको आपूर्ति यसअघि कम थियो, त्यसैले मूल्य बढी थियो । शेयर आपूर्ति कम हुँदा वाणिज्य बैंकको शेयर पनि ७/८ हजार पुगेकै थियो, अहिले १००० भन्दा कम छ । लघुवित्त संस्थाको पनि त्यस्तै हो, अहिले मूल्य विस्तारै कम हुँदै गएको छ, त्यसैले एकाध उदाहरण हुन सक्लान् तर गभर्नरज्यूले सबै लघुवित्त कम्पनीका लगानीकर्ताले बजार चलखेल गर्छन् भन्नेजस्ताे अभिव्यक्ति दिनुभयाे, त्याे सही हाेइन ’ – उनले भने ।

यद्यपि केन्द्रीय बैंकले ल्याउने नियमहरु आफूहरुले पालना गर्नेमा भने आफूहरु प्रतिवद्ध रहेको उनीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.