चन्द्रागिरि सामुदायिक अस्पतालको शिलान्यास,छुट्यायाे दुई करोड बजेट

  २०७६ असार १ गते १६:०७     विकासन्युज

काठमाडौं । ऐतिहासिक, धार्मिक र पर्यटकीय महत्व बोकेको चन्द्रागिरिमा नगरस्तरीय सामुदायिक अस्पताल निर्माण हुने भएको छ ।चन्द्रागिरि नगरपालिकाको रु एक करोड र प्रदेश नं ३ सरकारको रु एक करोडको लगानीमा चन्द्रागिरि नगरपालिका–८ मातातीर्थमा उक्त सामुदायिक अस्पताल निर्माण हुन लागेको हो ।

सो नगरस्तरीय अस्पतालको शनिबार नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले शिलान्यास गरेका छन् । कार्यक्रममा नेता नेपालले चन्द्रागिरि क्षेत्रका बिरामीलाई सेवा प्रदान गर्न उक्त अस्पतालले सहयोग पुग्ने विश्वास व्यक्त गरेका हुन् ।

“चन्द्रागिरिका जनतालाई मात्र नभएर धादिङका जनतालाई समेत अस्पतालले स्वास्थ्य सेवा प्रदान गर्न सहयोग पुग्नेछ”, उनले भने ।नगरप्रमुख घनश्याम गिरीले संविधानले प्रदान गरेको जनताले पाउनुपर्ने स्वास्थ्यसेवाको अधिकारलाई पूरा गर्न अस्पतालले सहयोग पुग्ने बताए ।

१५ देखि २५ शैयासहित निर्माण हुने उक्त अस्पताल साँढे तीनतले हुनेछ । प्रदेश सरकार र नगरपालिकाबाट नपुगेको रकम चन्द्रागिरि नगरपालिका–८ ले व्यहोर्ने नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले बताएका छन् ।

एक वर्षभित्र निर्माण सम्पन्न गर्नेगरी निर्माण हुनलागेको उक्त अस्पतालमा वार्षिक एक लाखभन्दा बढीले सेवा पाउने नगरपालिकाले जनाएको छ । चन्द्रागिरि नगरपालिका क्षेत्रफलका आधारमा प्रदेश नं ३ कै सबैभन्दा ठूलो नगरपालिका पनि हो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.