रोग नियन्त्रण महाशाखाको देशलाई स्वस्थ बनाउने प्रयास जारी छ: निर्देशक डा. विवेककुमार लाल

  २०७६ असार १ गते १३:४५     विकासन्युज

डा. विवेककुमार लाल १ बर्ष देखी ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकको रुपमा कार्यरत छन् । महाशाखाले पहिला सरुवा रोगहरुको क्षेत्रमा मात्र काम गथ्र्यो भने अहिले आएर एचआईभी र टिभी बाहेकका सबै सरुवा रोग, मानसिक स्वास्थ्य, कुष्ठरोग, अपांगता र कुनैपनि प्रकोपहरु जिम्मेवारी भित्र पर्दछ। विं स २०३१ मा स्थापना भएको महाशाखाको २ बर्ष देखी क्षेत्र बिस्तार भई काम गरिरहेको छ । महाशाखाले देशभरको सबै ठाउँबाट रोगहरुको डाटा संकलन गरी राज्यलाई स्वास्थ्य क्षेत्रमा भएका कमि कमजोरीलाई सुधार गर्न मद्त गर्दछ । ईपिडिमियोलोजी महाशाखाको काम र नेपालमा सरुवा रोगको अवस्थाको बिषयमा महाशाखाका निर्देशक लालसँग डोमी शेर्पाले गरेको कुराकानीः

ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र सरकारले सरुवा रोगका क्षेत्रमा कसरी काम गरिरहेको छ ?
सरकारले कति रोगहरु नियन्त्रणका लागि राष्ट्रिय अभियानको रुपमा काम गर्छ । यसमा मलेरिया तथा औलो रोग नियन्त्रण, कालाजार नियन्त्रण कार्यक्रम, हात्तीपाईले, लेप्रोसी रोग नियन्त्रण कार्यक्रमहरु रहेका छन् । अन्य रोगहरुको राष्ट्रिय रुपमा कार्यक्रम नभए पनि त्यसलाई कसरी नियनत्रण गर्ने भन्ने आधारमा पनि काम भईरहेको छ। साथसाथै महाशाखा सजिलै आवतजावत हुने विमानस्थल र देशको सिमा क्षेत्रबाट सजिलै नेपाल प्रस्थान गर्ने मानिसको पनि रोग परीक्षण गर्दछ। हाल एक देशदेखी अर्को देश जानलाई सजिलो भएको कारण रोग पनि सजिलै एकदेखी अर्को देशमा सर्न थालेको छ । यही अवस्थालाई देशमा आउन नदिनको लागी पनि ईपिडिमियोलोजी महाशाखाले निगरानी गर्दै आएको छ।

हाल नेपालमा सरुवा रोगको अवस्था के छ ?
प्रभावको हिसाबले हेर्ने हो भने डेगुको संख्या सबैभन्दा बढी रहेको छ, यानिक पहिलाको भन्दा यसको बिरामीको संख्या बढ्दै गएको छ । गत बर्षको तथ्यांकमा २१०० को हारहारिमा यसका बिरामी थिए । औलोंको कुरा गर्नुपर्दा पोहोर साल ११८७ को हारहारिमा यसका बिरामीहरु थिए। यस वर्षको असार अन्तिमसम्ममा हामी सबै तथ्यांक संकलन गरेर पूरा डाटा प्रस्तुत गर्छौं । यस्तै विभिन्न जिल्लामा कालाजार पनि फैलिएको छ । हात्तीपाईले रोग सुरुमा देखिएको ६३ जिल्लाबाट नियन्त्रण हुँदै आएर १५ वटा जिल्लामा सीमित भएको छ । स्क्रब टाईफस रोग चाँही २०७२ सालको भूकम्प पश्चात देखिने थालेको हो, यो सानो मात्रामा धेरै ठाउँमा देखिएको छ । यस्ता कति पुराना रोगहरु नियन्त्रणमा छन् भने नयाँ रोगहरु देखिन थालेका छन् ।

मलेरिया र कालाजार जस्ता रोगहरु झन्डै ५० वटा जिल्लामै देखिएको छ । पहिला पहिला तराई क्षेत्रमा मात्र देखिने रोगहरु हिमाली जिल्लाहरुमा पनि देखिन थालेका छन् । डेगु रोगको प्रत्येक पटक जिल्ला फरक हुने गरेको छ । कुनै जिल्लामा ३.८ वटा रोग देखिएको छ भने कुनै जिल्लामा १ वटा मात्र रोग देखिएको छ ।

सरुवा रोग लाग्नुको मुख्य कारण के हुन् ?
रोग लाग्नुको कारण हरेक रोग पिछे फरक–फरक हुने गर्दछ । यस्तै सरुवा रोगपनि विभिन्न प्रकारका छन्, जुन विभिन्न कारणले हुने गर्दछ । जस्तै उदाहरणको लागि किटजन्य रोगहरु जस्तै मलेरिया, कालाजार, स्क्रब टाईफस, हात्तीपाईले, लामखुट्टे, भुसुनाको टोकाइबाट सर्ने गर्दछ । त्यस्तै एउटा व्यक्तीले अर्कोलाई हाच्छिउँ गर्दापनि सर्ने रोग छ, जस्तै उदाहरणको लागि बर्सेनी रुघाखोकी, सिजनल ईन्फ्ल्युन्जा रहेका छन् । यस्तै कुष्टरोग लागेको व्यक्तीसँग लामो समयसम्म सम्पर्क रहँदा यो रोग सर्ने गर्छ । त्यसैले रोग पिच्छे सर्ने माध्यम फरक छन् । कुनै सरुवा रोग एक संक्रमित व्यक्तीबाट दोस्रो संक्रमित व्यक्तीमा सिधै सर्ने गर्छ भने कुनै किरा, कुकुरहरुको टोकाइबाट सर्ने गर्दछ ।

कुन सरुवा रोगको छोटो समयमा उपचार नगरे भयानक रुप लिन्छ ?
मलेरिया रोग जुन केही दिनको उपचार गरेको खण्डमा निको भएर जान्छ। यस्तै कालाजार रोगको अहिले एक मात्र ईन्जेक्सन दियौं भने अधिकांशमा यसको उपचार हुन सक्छ । त्यस्तै, हाम्रो हात्तीपाईले रोगको पनि आमा औषधी सेवन सम्बन्धी कार्यक्रम सञ्चालन गरी मानिसहरुलाई बर्षको एक पटक ६ बर्ष सम्म खुवाउँछौं । त्यस्तै रेबिजबाट बच्नको लागि रेबिज लागेका कुकुरले टोकेको खण्डमा हामीले ३ पटक डोज दिन्छौं अनी त्यसको डोज पूरा हुन्छ। तर, यो रोगहरु केही दिन भन्दा ढिलो उपचार गरे यसले भयानक रुप लिन सक्ने सम्भावना बढेर जान्छ ।

सरुवा रोग बिशेष गरेर कुन मौसममा बढी देखिन्छ ?
कुनै सरुवा रोग मौसम परिवर्तन हुँदा हुन्छन् जस्तै मौसमी रुघाखोकी । त्यस्ता केही रोगहरु छन्, जुन वर्षाको समयमा लाग्ने गर्दछ जस्तै मलेरिया, कालाजार, डेङु । पानी पर्न थालेपछी लामखुट्टेहरुको बिकास पनि बढी हुन्छ र सजिलै यो रोग सर्ने हुन्छ ।

यसका सावधानी के कस्तो रहेका छन् ?
सावधानीको कुरा गर्नुपर्दा हामीले त्यस्तो साह्रो सावधानी अप्नाउनु पर्छ भन्ने छैन । हामीले सानो सानो कुरामा शतर्क भएरपनि स्वस्थ रहन सक्छौं । जस्तै धेरै मानिसहरु फोहोर पानीको सेवनको कारण बिरामी भएर आउँछन् । झाडापखला, टाईफाईड, हैजा जस्ता रोगहरु फोहोर पानीको कारण सर्ने गर्दछन् । बर्खायाममा पानी बढेपछी पानीको श्रोतहरु दुषित हुनेगर्दछ र यसलाई शुद्दीकरण नगरी खाएको अवस्थामा स्वास्थ्यमा समस्या आउने गर्दछ । यस्तै भिडभाडमा नजाने, मास्कको प्रयोग गर्ने, हाच्छ्यु गर्दा, खोकी लाग्दा मुख छोपेर खोक्ने । त्यस्तै, मलेरिया(कालाजार) भएका ठाउँहरुमा जाँदा सावधानीको लागि झुल लगाएर सुत्ने, घरबाहिर निस्कँदा लामो वाउला भएका कपडाको प्रयोग गर्ने सक्छौं ।

तपाईहरु कसरी डाटा संकलन गर्नुहुन्छ ?
हाम्रो यसको लागि २–३ वटा माध्यमहरु छन् । एउटा त समग्रस्वास्थ्य क्षेत्रको सूचना व्यवस्था प्रणाली भनिन्छ, त्यसबाट महिनाको अन्तिममा सबै सरकारी तथा गैरसरकारी सामुदायिक स्वास्थ्य संस्थाहरुबाट रिपोर्ट संकलन हुन्छ, यो पहिलो माध्यम हो । अर्को हामीले बिशेष गरेर सरुवा रोगको लागि छिटो रिपोर्ट आउने गरेर ८२ वटा सरकारी अस्पतालहरुबाट साप्ताहिक सूचना आउने एउटा रिपोर्टिङ सिस्टम बनाएका छौं । यस्तै गैरसरकारी संस्था र मेडिकल कलेजलाई समेटेर त्यस ठाउँबाट पनि रिपोर्ट आउने सिस्टम बनाएका छौं । त्यस्तै कुनैपनि ठाउँमा महामारी(प्रकोप) फैलियो भने ती ठाउँहरुबाट सिधै हामीलाई फोन अथवा ईमेलबाट वा अन्य सूचनाको माध्यमबाट सोझै खबर आउने हुन्छ ।

डाटा संकलनले तपाईहरुलाई कसरी सहयोग पुर्याएको छ ?
डाटा संकलनको दुईवटा फाईदा छन् । पहिलो त कुन रोग को के छ अवस्था भनेर हामी तथ्यांक नहेरी भन्न सक्दैनौं र अर्को रोगको व्यवस्थापनको लागि जे सामाग्रीहरु उपलब्ध गराउँछौं त्यसको लागि पनि रोगको अवस्था हेर्न जरुरी छ । डाटाकै आधारमा कार्यक्रम कुन दिशामा लैजाने पनि तय हुने गर्दछ । यसरी हामीलाई डाटा संकलनले सहयोग पुर्याउँदै आएको छ ।

सरकारले कुन-कुन सरुवा रोगको उपचार निशुल्क प्रदान गर्दै आएको छ ?
औलो रोग(मलेरिया)को लागि सरकारले निशुल्क उपचार खर्च प्रदान गर्दै आएको छ । हात्तीपाईले रोग बिरुद्कोद्ध औषधी निशुल्क उपलब्ध गराउँछ, सर्पदंशको औषधी उपचार खर्च, मौसमी रुघाखोकीमा प्रयोग हुने एन्टी भाईरल औषधीहरु निःशुल्क रुपमा प्रदान गर्ने व्यवस्था मिलाउँछ र कुनै ठाउँमा प्रकोपहरु आएको अवस्थामा उपचार गर्न जाँदा सरकारले सम्भव भएसम्म निःशुल्क खर्च उपलब्ध गराउँछ ।

सरकारले कति कति बजेट छुट्याएको छ ?
अहिले अवस्थामा हामीले जति पनि मात्रामा श्रोतसाधनहरु प्रभावकारी रुपमा बिस्तार गर्नुपर्ने हो त्यति भएको छैन किनभने बजेटको पनि कमी भएको छ । बजेट पनि पहिलाको भन्दा कम छ । यो बर्ष हामीलाई कुल बजेट ४२ करोड ५२ लाख छुट्टाएको छ जसमा डेङु नियन्त्रणको लागि १ करोड ६६ लाख, जुनोटिक रोग नियन्त्रणको लागि १५ करोड ६६ लाख, हात्तीपाईले रोग नियन्त्रणको लागि ५ करोड ७२ लाख, प्राकृतिक प्रकोप व्यवस्थापनको लागि ७१ लाख, कालाजार नियन्त्रणको लागि ५ करोड ४ लाख, औलों नियन्त्रणको लागि ५ करोड ३५ लाख र महामारी नियन्त्रणको लागि ७ करोड ६१ लाख छुट्टाईएको छ । गत बर्ष हामीसँग ४६ करोड बजेट छुट्टिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.