पाँच वर्षमा गरिबी शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको छः गृहमन्त्री थापा

  २०७६ जेठ ३१ गते १५:५४     विकासन्युज

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले नेपालको गरिबी पाँच वर्षमा शून्यमा झार्ने गरी सरकारले काम गरिरहेको बताएका छन् । पूर्वी चितवनको रत्ननगरमा शुक्रबार आयोजित वृत्ति परामर्श तथा रोजगार मेलाको उद्घाटन गर्दै उनले सरकारले अहिले रहेको १८ प्रतिशत गरिबीलाई शून्यमा झार्ने लक्ष्यसाथ काम अघि बढाइरहेको बताएका हुन् ।

यसका लागि औद्योगिक क्षेत्रको विकास आवश्यक रहेको उनको भनाइ थियो । जसअनुसार प्रत्येक प्रदेशमा एक औद्योगिक क्षेत्र निर्माण गर्न लागिएको उनले जानकारी दिए ।

रत्ननगर नगरपालिकाले आयोजना गरेको सो कार्यक्रममा गृहमन्त्री थापाले विकास र समृद्धिका लागि दक्ष जनशक्ति आवश्यक भन्दै विकास र समृद्धिका लागि दक्ष जनशक्ति र जनशक्तिका लागि प्राविधिक र व्यावसायिक शिक्षा आवश्यक रहेकोमा उनको जोड थियो ।

नेपाल कृषि प्रदान देश रहेको बताउँदै मन्त्री थापाले कृषिलाईऔद्योगिकीकरण गर्नुपर्ने आवश्यकता औल्याउँदै भने, “कृषिलाई औद्योगिकीकरण गरेर रोजगारीको सिर्जना गर्नुपर्छ ।”

अहिले श्रम बजारमा रहेका श्रमिकमा दक्षताको अभावका कारण उनीहरुको कमाइले घर खर्चसमेत चलाउन असहज भएको उनको भनाइ थियो । स्वदेशमा रोजगार दिने उद्योग र उद्योगीको सुरक्षाका लागि सरकार सधैँ तयार रहेको मन्त्री थापाले बताएका छन् ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरपालिकाका उपप्रमुख विमला दुवाडी, उद्योग सङ्घ चितवनका अध्यक्ष भेषराज दुवाडी, रत्ननगर उद्योग वाणिज्य सङ्घ रत्ननगरका अध्यक्ष राजाराम रेग्मी, क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष सुमन घिमिरे लगायतले बोलेका थिए ।

बेरोजगार युवालाई रोजगार दिने र कामको अभाव भएका उद्योगमा दक्ष कामदार उपलब्ध गराउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको हो । सो मेलामा काठमाडौँसहित विभिन्न जिल्लाका रोजगारदाताको सहभागिता रहेको छ । वृत्ति परामर्श तथा रोजगार मेलामा वृत्तिविकाससम्बन्धी परामर्श सेवा तथा जानकारी दिइने, सीपमूलक तालिम दिने संस्थाको प्रदर्शनी तथा तालिमबारे जानकारी दिइने प्रमुख वनले बताएका हुन् ।

मेलामा रोजगारसम्बन्धी सूचना दिइनुका साथै रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने, निःशुल्क सञ्चालन हुने आधारभूत सीपमूलक तालिमको बारेमा जानकारी गराइने, रोजगारको अवसर प्रदान गरिने र स्थानीय उत्पादनको प्रदर्शन गरेको छ ।

रोजगारको खोजीमा रहेका युवालाई लक्षित गर्दै सञ्चालन गरिएको सो कार्यक्रममा दुई हजार ५०० देखि तीन हजार युवाको सहभागिता रहने अपेक्षा गरिएको छ । मेलाबाट एक हजार ५०० जनाले वृत्ति परामर्श सेवा लिनेछन् ।

परामर्श लिएकामध्ये १५० देखि २०० जनाले रोजगारी प्राप्त गर्ने लक्ष्य लिएको छ । वनले रत्ननगर आसपासका क्षेत्रमा तत्कालका लागि ६०० जनाभन्दा बढी कामदारको खोजी भइरहेको र उक्त मेलामा रोजगार दाताका ३० वटा प्रदर्शनी कक्ष रहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.