बीमामा व्यक्तिगत अभिकर्ता कमजोर बन्दै, संस्थागत अभिकर्ता बढाउन नारायण पौडेलको नियुक्ती

  २०७६ जेठ ३० गते १९:४५     विकासन्युज

काठमाडौं । जीवन बीमामा व्यक्तिगत अभिकर्ताको भूमिका कमजोर बन्दै गएको निष्कर्षसहित प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थागत अभिकर्ता मार्फत विजनेश बढाउने रणनीति लिएको छ ।

नयाँ रणनीतिलाई कार्यान्वयन गर्न कम्पनीले नारायण पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ । बैंक तथा वित्तीय संस्थालाई संस्थागत अभिकर्ता बनाउने र उनीहरु मार्फत बीमा पोलिसी बिक्रीलाई जोड दिने नीति अनुसार पौडेललाई नियुक्त गरिएको कम्पनीका एक जना सञ्चालकले बताए ।

‘पछिल्लो समय व्यक्तिगत अभिकर्ता मार्फत भन्दा संस्थागत अभिकर्ता मार्फत बीमा पोलिसी बिक्री बढेको छ । बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा बैंकास्योरेन्स बढाउन नयाँ सिईओले प्रभावकारी भूमिका खेल्न सक्नुहुन्छ भन्ने हाम्रो विश्वास हो’ प्रभु लाइफ इन्स्योरेन्सका सञ्चालकले भने ।

नेपाल राष्ट्र बैंकमा ३० वर्ष सेवा गरी जेठ २५ गते अवकाश लिएका पौडेललाई बैंकिङ क्षेत्रको पछिल्लो अवस्थाबारे राम्रो जानकारी छ । राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा नियमन विभाग प्रमुखबाट अवकाश पाएका पौडेलसँग नीतिगत, संस्थागत र व्यक्तिगत ज्ञान राम्रो छ ।
‘बीमाको विजनेश अभिकर्ताबाट हुन्छ । डेपुटी सीईओ किशोर लामिछानेले व्यक्तिगत अभिकर्तातर्फ हुनुहुन्छ, सीईओ पौडेलले संस्थागत अभिकर्ता हेर्नुहुन्छ । उहाँहरुको क्षमता त्यहि क्षेत्रमा छ’ सञ्चालक समितिको विश्लेषण छ ।

‘जेठ ३० गते बसेको सञ्चालक समितिले पौडेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय लिएको हो । अब बीमा समितिबाट स्वीकृति लिन्छौं । साउन १ गतेदेखि उहाँले जिम्मेवारी समाल्नुहुनेछ’ सञ्चालक समिति सदस्यले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.