लगानीकर्ताले कम्तिमा १५-२० प्रतिशत नाफा खोजेका हुन्छन्: भरत रानाभाट

  २०७६ जेठ ३० गते १३:५१     विकासन्युज

भरत रानाभाट स्टक ब्रोकर एशोसिएशन अफ नेपालका अध्यक्ष हुन् । कोहिनूर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज प्रा‍लि (स्टक ब्रोकर न‌ं ३५) का प्रबन्ध निर्देशक समेत हुन् । त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तरसम्मको अध्ययन गरेका रानाभाट पोखराका स्थानीय हुन् । शंकरदेव क्याम्पसमा अध्ययन गर्दै गर्दा साधारण शेयर भर्न थालेका उनले सोही समयमा शेयर बजारबारे जानकारी लिने अवसर पाएका हुन् । २०६८ सालमा कोहिनूरले ब्रोकर लाइसेन्स पाएसँगै उनी यो क्षेत्रमा क्रियाशील छन् । जेठ १५ गते आगामी आवको बजेट भाषणपछि सेयर बजार घट्दो क्रममा छ । सेयर बजारमा सुधार गर्नु पर्ने विषय के के छन् ? कस्ता कम्पनीको सेयर किन्दा बढी लाभ हुन्छ ? लगायत समग्र शेयर बजारको अवस्थाबारे केन्द्रित रही गरिएको विकास बहसः

सेयर बजारमा सुधार गर्नुपर्ने विषय के के छन् ?
राम्रो र अन्तर्राष्ट्रिय सेयर बजार बनाउनको लागि अझै धेरै सुधार आवश्यक छ । केही समयअघि अर्थमन्त्रालयले डेपुटी गभर्नर शिवराज श्रेष्ठको नेतृत्वमा गठन गरेको उपसमितिले धेरै राम्रो सुझाव दिएको छ । त्यसलाई कार्यान्वयन गर्ने हो भने बजारमा धेरै सुधार हुन्छ ।
हामी बल्ल अनलाईन ट्रेडिङ सिस्टममा प्रवेश गरेका छौं । विदेशी लगानीकर्तालाई नेपालको पुँजी बजारमा भित्र्याउने, गैरआवासीय नेपालीहरूले नेपाली कम्पनीको सेयर किन्न अवस्था बनाउन अझै धेरै काम गर्नुपर्छ ।

पुँजी बजारको दायरा पनि फराकिलो बनाउन जरुरी छ । नेपालको पुँजी बजारमा अझै पनि इक्विटी शेयर मात्र किनबेच हुन्छ । अरु अप्सन छैन । नयाँ नयाँ अप्सन आउनु आवश्यक छ । नेप्सेमा सूचिकृत भएको सरकारी ऋणपत्र, बैंकका ऋणपत्रको कारोबार हुँदैन । म्यूचल फण्डले पनि लगानीकर्तालाई आकर्षित गर्न सकेको छैन । ऋणपत्रको बारेमा लगानीकर्तालाई बुझाउन पनि सकिएन ।

लगानीकर्ताहरू किन ऋणपत्र तथा म्यूचल फण्डतर्फ आकर्षित भएनन् ?
पहिलो, हामीले लगानीकर्तालाई यो विषयमा बुझाउने प्रयास नै गरेका छैनौ । दोस्रो, हाम्रो समाजमा लगानीकर्ताको स्वभाव पनि धेरै गतिशिल छैन । एउटा बैंकमा ७ प्रतिशत व्याजमा निक्षेप राखिरहेको निक्षेपकर्ता अर्को बैंकले ९ प्रतिशत व्याज दिँदा पनि बढी व्याज दिने बैंकमा निक्षेप सार्दैन । जम्मा २ प्रतिशत मात्र फरक त रहेछ भनेर बस्छन् । पुँजी बजारमा पनि थोरै नाफाले लगानीकर्ताहरू आकर्षित गरिरहेको हुँदैन । सानो पुँजी लगानी भएको लगानीकर्ता धेरै भएर पनि यस्तो भएको हुन सक्छ ।

लगानीकर्ताका लागि सेयर बजारमा धेरै विकल्पहरू छन् । २ सय भन्दा बढी कम्पनी छन् । त्यसमा राम्रा कम्पनीहरु पनि धेरै छन् । लगानीकर्ताले राम्रो कम्पनी छान्न सक्नुपर्छ ।

पछिल्लो समय बैंकहरुले निक्षेपमा नै करिव १० प्रतिशत व्याज दिएका छन् । निक्षेपमा १० प्रतिशत व्याज भनेको धेरै राम्रो आम्दानी हो । सेयरमा लगानी गरेर १५-२० प्रतिशत नाफा हुने नदेखिएसम्म उनीहरु निक्षेपबाट पैसा झिकेर सेयरमा लगानी गर्दैनन् । निक्षेपको व्याजदर उच्च भएकोले पनि सेयर बजारको विकासमा यसको सकारात्मक भूमिका हुँदैन । लगानीकर्ताको स्वाभाव कस्तो देखियो भने नाफा भए पनि धेरै नाफा खोज्ने, नोक्सान नै भयो भने पनि ठूलो नोक्सान सहने देखियो ।

किन यस्तो भएको होला ?
सेयर बजारमा मात्र होइन, अन्य बजारको अवस्था पनि त्यस्तै छ । विकशित देशमा व्यवसायीहरुले १-२ प्रतिशत नाफामा कारोबार गरिरहेका हुुन्छन् । तर, नेपालमा जुनसुकै व्यापार व्यवसायमा पनि लगानीकर्ताले १५-२० प्रतिशत नाफा लिईरहेकै हुन्छन् । बैंकहरुले १३-१४ प्रतिशत व्याज दिदाँ पनि चाहेजति पैसा उठाउन सकेनन् । किनभने बैंकले दिने व्याजभन्दा अरु क्षेत्रमा गर्ने लगानीको प्रतिफल बढी छ ।

अब कस्ता कम्पनीको सेयर किन्दा बढी लाभ हुने देख्नुहुन्छ ?
लगानीकर्ताका लागि सेयर बजारमा धेरै विकल्पहरू छन् । २ सय भन्दा बढी कम्पनी छन् । त्यसमा राम्रा कम्पनीहरु पनि धेरै छन् । लगानीकर्ताले राम्रो कम्पनी छान्न सक्नुपर्छ । नेप्से परिसूचक छोटो अवधिमा ११ सय अंकबाट १३ सय पुग्यो । नेप्से परिसूचक २ सय अंक बढ्दा पनि केही कम्पनीको सेयर मूल्य झनै घट्यो भने केही कम्पनीको सेयरको भाउ ह्वात्तै बढेको छ । राम्रो कम्पनी छनोट गर्नेहरुले यहि बीचमा एक सय प्रतिशतभन्दा बढी लाभ लिन सफल भए ।

जस्तो शिवम् सिमेन्ट कम्पनीको सेयर मूल्य झरेर ३ सयसम्म पनि पुग्यो । अहिले बढेर ७ सय नजिक छ । ३ सयदेखि ३५० सम्ममा यस कम्पनीको सेयर किन्नेलाई अहिले १०० प्रतिशत फाइदा भयो । ५०-५५ प्रतिशत लाभांश दिदै आएको नेपाल टेलिकमको सेयर अहिले ७ सयमा किन्न पाइन्छ । ३५-४० प्रतिशत लाभांश दिँदै आएको नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर करिव ५ सयमा किन्न पाइन्छ । सेकेण्डरी बजारमा किनेको सेयरले पनि ७-८ प्रतिशत प्रतिफल दिएकै छ । यो राम्रो अवस्था हो । भलै मुद्दती खातामा आउने व्याजभन्दा अझै कम छ ।
सेयर बजारमा लगानी गर्नेले कम्पनीले कमाएर दिने लाभांश मात्र हेर्दैनन् । पुँजीगत लाभ पनि हुन्छ । अहिले ५ सयमा किनेको सेयरको मूल्य दुई वर्षपछि हजार÷बाह्र सय पुग्न पनि सक्छ । विगतमा बीमा समूह, लघुवित्त समूहको शेयरमा लगानी गर्नेले पुँजीगत लाभ उच्चदरमा लिएको हामीले देख्यौं । बैकिङ क्षेत्रले रिर्टन राम्रो दिँदै आएको छ ।

ब्रोकर कम्पनीहरुले लगानीकर्तालाई कस्तो सेवा दिईरहेका छन् ?
हाम्रो बजारमा ब्रोकर कम्पनीको सेवाबारे प्रश्न उठ्छन्, टिकाटिप्पणी हुन्छन् । तर, लगानीकर्ताको तर्फबाट ब्रोकर कम्पनीले भोगेको समस्याबारे कमै चर्चा हुन्छ । शेयर किन्न आदेश दिने, तोकिएको समयभित्र भुक्तानी नदिने, पैसा उठाउन ब्रोकर कम्पनीले धेरै मिहेनत गर्नुपर्ने अवस्था पनि छ । सेयर बिक्री भएको दुई दिनभित्र पैसा आफ्नो हातमा परोस् भन्ने लगानीकर्ताले शेयर किनेपछि दुई दिनभित्र भुक्तानी दिनुपर्छ भन्ने पनि तथ्यलाई पनि मनन् गर्नुपर्यो ।

सेकेण्डरी बजारमा किनेको सेयरले पनि ७-८ प्रतिशत प्रतिफल दिएकै छ । यो राम्रो अवस्था हो । भलै मुद्दती खातामा आउने व्याजभन्दा अझै कम छ ।

घरबाटै सेयर किनबेचको आदेश दिन सक्ने, घरबाटै भुक्तानी दिनेसम्मको बजार विकास होस् भन्ने हाम्रो चाहाना हो । त्यसको लागि आवश्यक पूर्वाधार पनि तयार हुनुपर्यो । पेमेन्ट प्रणालीमा पनि सुधार हुनुपर्छ । लगानीकर्तालाई उचित शिक्षा पनि दिनुपर्छ । भनिन्छ, पुँजी बजारमा लगानी गर्नेको संख्या १५ लाख भईसक्यो । उनीहरुले पुँजीबजारबारे उचित शिक्षा कहाँबाट लिने ? कलेजबाट सेयर बजारबारे प्रयाप्त र व्यवहारिक ज्ञान लिन नसकेको ठूलो जमातलाई उचित शिक्षा आवश्यक छ । त्यसको लागि उचित पूर्वाधार सहितको सुविधा सम्पन्न र दक्ष जनशक्ति पनि भएको प्रशिक्षण दिने संस्थाको पनि आवश्यकता भएको भनी हामीले धितोपत्र बोर्डसँग पनि कुरा गरेका छौं । बुझेर लगानी गर्नेहरुले बजारमा बढी लाभ र कम नोक्सान लिने सम्भावना हुन्छ ।

ब्रोकर कम्पनीहरुले सेवा शुल्क लिन्छ तर लगानीकर्तालाई सुसूचित गर्ने, प्रशिक्षण गर्ने काम किन गर्दैनन् ?
कुनै पनि व्यापारमा आफ्ना ग्राहकलाई उचित जानकारी दिने, उसलाई पनि लाभ दिने प्रयास व्यापारीले गरेका हुन्छन् । ग्राहकलाई नोक्सान मात्र भयो भने ऊ भोलि किन हाम्रोमा आउने ? आउँदैन । लगानीकर्तालाई प्रशिक्षण गर्ने, तालिक दिने जस्ता सेवा हामीले दिनै पाउँदैनौ, कानुनले रोक्छ ।

स्टक ब्रोकरहरुको सेवा क्षमता कस्तो छ ?
स्टक ब्रोकर कम्पनीहरुको लागि धितोपत्र बोर्डले निश्चित मापदण्ड तोकेको छ । सञ्चालकको योग्यता, कम्पनी पुँजी, जनशक्ति, कार्यालयको आकार, कार्यालयमा प्रयोग हुने प्रविधि सहितको मापदण्डहरु छन् । ती मापदण्ड पूरा नहुनेले लाइसेन्स नै पाएनन् । त्यति मात्र होइन, अहिले ब्रोकर कम्पनीहरुले नियामकले तोकेभन्दा बढी लगानी गरेका छन् । तोकेको भन्दा ठूलो कार्यालय राखेका छन् । तोकेकोभन्दा बढी कर्मचारी राखेको छन् । पुँजी २० लाखबाट २ करोड पुग्यो, मार्जिन लेण्डिङको लागि ५ करोड भनियो, त्यो पूरा भएको छ ।

अनलाइन कारोबार हुँदैमा लगानीकर्ता फ्लोरमा जान छोड्दैनन् । ताजा सूचनामा अपडेट हुन, लगानीकर्ताको मनोविज्ञान जान्न, फुर्सदिला मान्छेले आफूलाई व्यस्त राख्ने चाहानेहरु जहिले पनि ब्रोकरको अफिसमा नै आउँछन् ।

अनलाइन कारोबार शुरु भईसकेपछि पनि सेयर ब्रोकरको अफिसमा किन मानिसहरुको भीड लाग्छ ?
अनलाइन कारोबार हुँदैमा लगानीकर्ता फ्लोरमा जान छोड्दैनन् । ताजा सूचनामा अपडेट हुन, लगानीकर्ताको मनोविज्ञान जान्न, फुर्सदिला मान्छेले आफूलाई व्यस्त राख्ने चाहानेहरु जहिले पनि ब्रोकरको अफिसमा नै आउँछन् । विकशित देशमा पनि यस्तो ट्रेन हुन्छ । संस्थागत लगानीकर्ता, अफिसमा काममा व्यस्त हुने लगानीकर्ताहरु हिजो पनि ब्रोकरको अफिसमा आउँदैन थिए भने अहिले पनि आउँदैन ।

ब्रोकरको अफिसमा आएर लगानी गर्ने लगानीकर्ताले बढी लाभ लिन्छन् कि घरमा वा अफिसमा बसेर लगानी गर्ने लगानीकर्ताले बढी कमाउँछन् ?
ब्रोकर कम्पनीमा आउनेहरु छिटो निर्णय लिन्छन् । कुनै कम्पनीको सेयर मूल्य बढ्यो, अझ बढ्छ भन्द वरिपरी भएका ८-१० जनाले सेयर किने भने त्यो कम्पनीको बारेमा केही पनि जानकारी नै नभएको व्यक्तिले पनि त्यहि कम्पनीको सेयर किन्छ । यस्तो लगानीको जोखिम बढी हुन्छ । घट्न थाल्यो भने पनि छिट्टै निर्णय लिन्छ । घरमा बसेर लगानी गर्नेले कम्पनीको विषयमा अध्ययन गरेर मात्र निर्णय लिन्छ । तर ताजा खबरको आधारमा निर्णय लिनुपर्ने अवस्थामा ब्रोकरकोमा धाउने लगानीकर्ताले फाइदा लिन्छ, घरमा बस्नेले लिनसक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.