हिमालयन बैंक र म्याक्स मनिबीच ४९ करोडको विवाद सल्टदै, यसै साता मलेसियामा सम्झौता हुँदै

  २०७६ जेठ २९ गते १४:२६     विकासन्युज

काठमाडौं । विप्रेषण कारोबारमा विवाद गर्दै आएका नेपालको हिमालयन बैंक र मलेसियाको म्याक्स मनिबीच विवाद सल्टिने भएको छ । दुई पक्षबीच विवाद समाधान गर्ने र भुक्तानी गर्ने विधिका विषयमा अनौपचारिक सहमति भएको छ ।

यसै सातामा नेपालको केन्द्रीय बैंक र मलेसियाको केन्द्रीय बैंकका प्रतिनिधिहरुको उपस्थितिमा दुई संस्थाबीच समझदारी पत्रमा हस्ताक्षर हुँदैछ । यो विवाद मिलाउन नेपाल र मलेसियाका केन्द्रीय बैंकहरुले हस्तक्षेपकारी भूमिका खेल्दै आएकाले समझदारी पत्रमा हस्ताक्षर गर्दा केन्द्रीय बैंकका प्रतिनिधिहरुलाई साक्षी राख्न लागिएको हो ।

नेपाल राष्ट्र बैंक, विदेशी विनिमय विभागका प्रमुख सरिता भट्ट हाल मलेसियामा रहेकोले उनको उपस्थितिमा सम्झौता हुन लागेको हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणाले बताए ।

रेमिट्यान्स कारोबारमा हिसाव लेनदेनमा दुई संस्थाबीच विवाद भएको थियो । उक्त विवाद केन्द्रिय बैंकसम्म पुगेपछि नेपाल राष्ट्र बैंकले नेपालमा म्याक्स मनिको कारोबार बन्द गरिदिएको थियो ।

राष्ट्र बैंकले मलेसियाको केन्द्रीय बैंकलाई पत्र लेखेर हिमालयन बैंकले पाउनु पर्ने भुक्तानी दिलाईदिन पत्र लेखेको थियो । त्यस्तै, मलेसियाको केन्द्रीय बैंकले पनि म्याक्स मनिलाई विवादित रकम ‘बैंक नागरा मलेसिया’ मा जम्मा गर्न निर्देशन दिएको थियो ।

हिमालयन बैंकले म्याक्स मनिसँग ४९ करोड रुपैयाँ लिनुपर्ने दावी गर्दै आएको थियो । ‘म्याक्स मनिबाट पैसा आउँछ । तर सबै पैसा उसले एकै पटक भुक्तानी दिन सक्दैन । पहिला कति भुक्तानी गर्ने र कति किस्तामा कहिलेसम्म पुरै भुक्तानी गर्ने भन्ने सम्झौता पत्रमा उल्लेख गरिनेछ’ राणाले भने ।

म्याक्स मनि सम्बद्ध स्रोतका अनुसार दुई संस्थाबीच कारोबार हिसावको अडिट स्वतन्त्र चार्टर्ड एकाउन्टेन्टबाट गराउने र त्यसको रिर्पोटका आधारमा कारोबार सेटल गर्ने समझदारी हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.