कुमारी बैंकको सञ्चालक समिति सर्वसहमतिमा चयन, अमिरप्रताव राणा अध्यक्ष बन्ने निश्चित

  २०७६ जेठ २८ गते २१:०६     विकासन्युज

 

काठमाडौं । कुमारी बैंकका सेयरधनीहरुको लागि खुशीको खबर छ । नयाँ सञ्चालक समितिमा सर्वसहमति जुटेको छ । सञ्चालक समितिमा संस्थापक सेयरधनीको तर्फबाट अमिरप्रताव राणा र कृष्णप्रसाद ज्ञवाली निर्विरोध भएका छन् । पब्लिक सेयरधनीबाट महेश पोखरेल र अनुराधा चौधरी सर्वसहमत भएका छन् । बैंकको अध्यक्ष राणा बन्ने लगभग निश्चित भएको छ ।

चार जना सञ्चालक पदको लागि निर्वाचन हुन लागेकोमा चार जनाको मात्र उम्मेदवारी परेको र उम्मेदवारी दर्ता गर्ने समय सकिएको बैंकका कम्पनी सचिव नरेन्द्र छतकुलीले जानकारी दिए ।

अमिरप्रताव राणा

औपचारिक रुपमा घोषणा हुन सबै प्रक्रिया पुरा हुनुपर्छ, साधारणसभासम्म कुर्नै पर्ने उनले बताए । बैंकको विशेष साधारणसभा जेठ ३१ गते डाकिएको छ ।

विज्ञ सञ्चालकको रुपमा गणेश कुमार पाठकले निरन्तरता पाउने भएका छन् । सञ्चालक समिति ५ जनाको मात्र हुने छ ।

विज्ञ सञ्चालक सहित ५ जना मात्र सञ्चालक समिति रहेको २८ वटा वाणिज्य बैंक मध्ये सम्भवत कुमारी मात्र हो ।

बैंक तथा वित्तीय संस्थामा ५ देखि ७ जनाको सञ्चालक समिति गठन हुनुपर्ने र एक जना महिला अनिवार्य हुनु पर्ने कानुनी व्यवस्था छ ।

कसको पृष्ठभूमि के ?

युवा उद्यमी राणा नेपालको सबैभन्दा ठूलो फुटवेयर इन्डष्ट्रिज गोल्ड स्टारका प्रबन्ध निर्देशक हुन् । उनले औषधि, एलपीजी ग्यास लगायत उद्योगहरु पनि समालिरहेका छन् । उनको बुबा नूरप्रताव राणा कुमारी बैंकको संस्थापक अध्यक्ष हुन्, जसले लामो समय यस बैंकको नेतृत्व लिएका थिए । अमिर पनि अघिल्लो बोर्डमा सञ्चालक थिए ।

उनी बैंकको अध्यक्ष बन्ने लगभग निश्चित भएको जानकारहरु बताउँछन् ।

कृष्ण प्रसाद ज्ञवाली मनाङ एयरका प्रबन्ध निर्देशक हुन् । उनी ट्राभल, होटल, रेमिट्यान्स लगायत व्यवसायमा संलग्न छन् ।

महेश पोखरेलसँग सिद्धार्थ बैंकमा १२ वर्ष सञ्चालक समितिमा रहेर काम गरेको अनुभव छ । पाेखरेल २० वर्ष अघिदेखि सेयर बजार सक्रिय छन् ।

बैकिङ र मार्केटिङ दुई विषयमा मास्टर डिग्रि हासिल गरेकी अनुराधा चौधरी हाल कलेजमा पढाउछिन् । उनी कुमारी बैंकका पूर्व डाईरेक्टर जगदीश चौधरीको छोरी हुन् ।

गत बैशाख २६ गते सम्पन्न बैंकको साधारणसभामा निर्वाचनको अजेण्डा थियो र महिला सञ्चालन हुन पाउने पर्ने मागसहित अदालतमा मुद्दा परेपछि निर्वाचन रोकिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.