मर्दी खोला खानेपानी आयोजनाको शिलान्यास, तीन वर्ष भित्रै काम सम्पन्न गर्ने लक्ष्य

  २०७६ जेठ २८ गते १७:२६     विकासन्युज

पोखरा । खानेपानी मन्त्री बिना मगरले पोखरा महानगरपालिका वडा नम्बर १९ स्थित मर्दी खोला खानेपानी प्रशोधन शुद्धीकरण आयोजनाको मंगलबार शिलान्यास गरेकी छन्। मर्दी खोलाको पानीलाई प्रशोधन गरेर शुद्धीकरण गरी पिउनका लागि योग्य बनाउने उद्देश्यले पोखरामा खानेपानी सुधार आयोजनाको काम सुरु भएको हो ।

आयोजनाको शिलान्यास गर्दै खानेपानी मन्त्री मगरले देशै भरि प्रशोधित खानेपानी पुर्याउन सरकार योजनाका साथ अघि बढेको बताएका छन् । प्रशोधित स्वच्छ खानेपानीद्धारा नै रोगको महामारी नियन्त्रण गर्न सकिने उनले बताए । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री मगरले भनिन्, ‘८८ प्रतिशत जनताले आधारभूतस्तरको खानेपानी पाएका छन् । २० प्रतिशतले मात्र प्रशोधित स्वच्छ पानी पिउन पाएका छन् । सरकारले प्रशोधित खानेपानी पुर्याउन यसपालि बजेटमा प्राथमिकता दिएको छ ।’

शुद्ध र प्रशोधित पानीको सुनिश्चित गर्नका लागि चुनौती रहेपनि सन् २०३० सम्ममा दीगो विकासका लक्ष्य पुरा गर्नुपर्ने दायित्व सरकारको काधमा रहेको उनले बताए । मन्त्री मगरले भनिन्, ‘अहिले पनि धेरै जनताले शुद्ध र प्रशोधित खानेपानी खान पाएका छैनन । यसमा कसैको ध्यान गएको छैन । रोग लागेपछि हामी औषधी लिएर पुग्छौं । बजेट छुट्याउने गर्छौं तर पानी प्रशोधित गर्ने योजनामा ध्यान दिदैनौँ।’

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले २ वर्ष भित्र आधारभूतस्तरको खानेपानी सेवा पुर्याउने अभियानमा प्रदेश सरकार जिम्मेवारीका साथ अघि बढेको बताए । संघीय सरकारसंग सहकार्य गरेर अघि बढ्न र एक घर एक धाराको नीतिलाई सफल पार्न प्रदेश सरकार तयार रहेको मन्त्री बस्नेतले प्रतिबद्धता जनाए ।

गण्डकी प्रदेशका प्रदेश सदस्य कृष्ण थापाले विकास निर्माणको काममा कोही कसैले पनि विरोध गरेर उपलब्धि हासिल नहुने बताए । विकास निर्माणको काममा विरोध नगर्न र सबै मिलेर अघि बढ्न प्रतिबद्धता जनाउनुपर्ने धारणा राखे।

कार्यक्रममा प्रदेश सभा सदस्य रामजी बराल, पोखरा महानगरपालिकाका मेयर मान बहादुर जि सी, खानेपानी संस्थानका महाप्रबन्धक डा. भुपेन्द्र प्रसाद र नेपालका लागि जापानका राजदूत मासामिची साइगो लगायतका वक्ताले यो आयोजना सफल बनाउन सबैलाई आग्रह गरेका थिए ।

खानेपानी मन्त्रालयको उपत्यका बाहिर सुरु हुन लागेको यो पहिलो ठूलो आयोजना हो भने मेलम्ची पछि मन्त्रालयको यो दोस्रो ठूलो आयोजना हो । यो आयोजनाबाट कास्की पोखरा महानगरपालिका क्षेत्र भित्र दैनिक साढे ४ लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुने जनाईएको छ ।

अबको तीन वर्षमा आयोजनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पोखरामा खानेपानी सुधार आयोजना सुरु गर्न जापान सरकारले नेपाललाई ४ अर्ब ८१ करोड रुपैंयाँ अनुदान दिने सम्झौता गरेको थियो । सोही सम्झौता अनुसार खानेपानी मन्त्रालय अन्तर्गतको नेपाल खानेपानी संस्थानले आयोजनाको काम अघि बढाउन लागेको छ । जापानले यो अनुदान रकम सिभिल ठेक्काको लागि दिएको नेपाल खानेपानी संस्थानले जनाएको छ ।

जापानले दिएको कुल अनुदान रकममध्ये ४ अर्ब २१ करोडमा सिभिल कार्यका लागि जापानमै बोलपत्र आह्वान भएको थियोे । जसमध्ये हाजमा एन्दो कर्पोरेशन कम्पनीले अनुमानित लागत रकम भन्दा ८ दशमलव २ प्रतिशत कममा बोलपत्र कबोल गरेको थियो । हाजमा कम्पनीसँग संस्थानले २०७५ फागुन २४ गते सम्झौता गरेको थियो । हाजमा कम्पनीले ३ अर्ब ९४ करोड २७ लाख रुपैयाँमा उक्त कामको ठेक्का पाएको हो ।

खानेपानीको क्षेत्रमा यो अहिलेसम्मकै ठुलो आर्थिक सहयोग भएको संस्थानका महाप्रबन्धक डा. भुपेन्द्र प्रसादले बताए । अनुदान रकम पानी शुद्धीकरणका लागि ट्रिटमेण्ट प्लान्ट निर्माण र पाईपलाईन विस्तारमा खर्च हुने महाप्रबन्धक डा. भुपेन्द्र प्रसादले जानकारी दिए । दैनिक साढे ४ करोड लिटर पानी प्रशोधन गर्ने प्लान्ट मर्दी खोलामा राखिने र खानेपानी आपूर्तिका लागि १ सय किलोमिटर पाइप बिछ्याइने आयोजनाको डेपुटी प्रोजेक्ट म्यानेजर निरन महर्जनले जानकारी दिए । त्यस्तै खानेपानी भण्डारण गर्न २० लाख लिटरको ३ वटा रिजर्भवायर पानी ट्यांकी निर्माण गरिनेछ । पोखराको पस्र्याङ, फूलबारी र कोल पाटनमा रिजर्भवायर ट्यांकी निर्माण गर्न लागिएको डेपुटी प्रोजेक्ट म्यानेजर महर्जनले बताए ।

पोखरा खानेपानी सुधार तथा विस्तारको लागि याचियो इन्जिनियरिङ्ग कम्पनी लिमिटेडले विस्तृत डिजाइन गरेको थियो । सन् २००४ मा यसको सम्भाव्यता अध्ययन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.