पुनःनिर्माणको लागि भारतले नेपाललाई दियो १ अर्ब ६० करोड

  २०७६ जेठ २८ गते ८:२८     विकासन्युज

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाको उपस्थितिमा नेपालका लागि भारतीय राजदूत मन्जीव सिंह पुरीले अर्थसचिव डा राजन खनाललाई रु एक अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका छन् ।

भारत सरकारले आवास पुनःनिमाणका लागि नुवाकोट र गोरखा जिल्लाका ५० हजार लाभग्राहीलाई प्रदान गरेको पहिलो तथा दोस्रो किस्ताको शोधभर्नाका लागि उक्त रकम उपलब्ध गराएको हो । हालसम्म भारतले नेपाललाई रु चार अर्ब ५० करोड प्रदान गरिसकेको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ ।

नेपाल सरकारले तोकेको मापदण्ड अनुरुप घरधनीहरुले घर पुनःनिमाण गरेको सुनिश्चित गर्न भारत सरकारले घरधनीलाई सामाजिक–प्राविधिक सुविधा प्रदान गर्न युएनडिपी तथा युएनओप्ससँग साझेदारी गरिरहेको छ । उक्त कार्यक्रममा सरकारले भूकम्प पश्चातको पुनःनिमाणमा भारत सरकारले प्रदान गरेको अटुट तथा उदार मानवीय सहयोगका लागि सराहना व्यक्त गरेको छ ।

सोही अवसरमा उक्त साझेदारीका लागि नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्दै राजदूत पुरीले भारत सरकार तथा भारतीय जनता नेपालमा भूकम्प पश्चातको पुनःनिमाण परियोजना पूरा गर्न प्रतिबद्ध रहेका दोहोर्याउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.