नयाँ सीईओ नियुक्तीसँगै सनराइज बैंकमा खटपट, निरज श्रेष्ठलाई पहिलाे गाँसमै ढुंगा

  २०७६ जेठ २७ गते २२:४०     विकासन्युज

काठमाडौं । सनराईज बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्तीको विषयलाई लिएर सञ्चालक समितिमा खटपट भएको छ । नयाँ सीईओको पक्ष र विपक्षमा सञ्चालक समितिका सदस्यहरू दुई भागमा विभाजित भएका छन् ।

सीईओ  नियुक्त गर्न गत बुधबार बसेकाे सञ्चालक समितिको बैठकमा मत विभाजित भएपछि सञ्चालक शैलेन्द्र गुरागाई बैठकको बीचमै उठेर निष्केका थिए । उनले प्रस्तावित सीईओको कार्यसम्पादन क्षमता र अस्थिरताबारे प्रश्न उठाएका थिए ।

सीईओ छनौट समितिमा आफूलाई वाइपास गरेर नाम बोर्डमा ल्याएकोमा पनि उनले असहमति प्रकट गरेका छन् । सीईओ छनौट समितिमा मालचन्द दुगड, बच्चराज तातेल, शैलेन्द्र गुरागाई, ओमकृष्ण जोशी थिए ।

मालचन्द र गुरागाईको अनुपस्थितिमा छनौट समितिले नाम सिफारिस गरेको थियो । उक्त नाम मालचन्द दुगड अनुपस्थित भएको सञ्चालक समितिमा पेस गरिएको थियो ।

‘निरजको नाममा छनौट समितिमा पनि बहुमतको आधारमा निर्णय भयो, सञ्चालक समितिमा पनि बहुमतका आधारमा निर्णय भयो’ सञ्चालक शैलेन्द्र गुरागाईले भने ।

‘बैठकमा म उपस्थिति थिईन । नयाँ सीईओ नियुक्ती गर्ने निर्णय प्रक्रियामा मेरो सहभागिता नै छैन’ मालचन्द दुगडले विकासन्युजसँग भने ।

तर बैंक सञ्चालक समितिको अध्यक्ष मोतिलाल दुगडले नयाँ सिईओ नियुक्तीमा सबैको सहमति भएको बताए ।

सनराईज बैंकको सञ्चालक समितिमा यसअघि भएको विवाद राष्ट्र बैंकसम्म पुगेको थियो । नयाँ सीईओ नियुक्तीको क्रममा फेरी विवाद देखिएको छ ।

नियुक्ती कै क्रममा विवाद भएपछि निरज श्रेष्ठलाई बैक चलाउन कठिन हुने अनुभवि बैंकर्सहरु बताउँछन् । ‘सञ्चालक समितिको सर्बसहमतिमा निर्णय गराएर नियुक्ती लिनुपर्ने हो । अहिले नै विवाद भयो भने पछि बोर्डलाई मिलाएर जान गाह्रो हुन्छ’ एक जना अनुभवी बैंकर्सले भने ।

श्रेष्ठकाे कार्यकाल ४ वर्ष तोकिएको छ । उनले असार २ गतेदेखि जिम्मेवारी समाल्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.