विपद् व्यवस्थापन, पुनर्निर्माण, उर्जा र जलवायु परिवर्तन सम्बन्धी दक्षिण एसियाली सम्मेलन सोमबारदेखि

  २०७६ जेठ २६ गते १७:४६     विकासन्युज

काठमाडौं । विपद् व्यवस्थापन, पुनर्निर्माण, उर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहहरुको भूमिका सम्बन्धी दक्षिण एसियाली सम्मेलन सोमबारदेखि काठमाडौंमा हुने भएको छ ।

सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका स्थानीय तहका जनप्रतिनिधिहरु र विज्ञहरुको सहभागिता रहनेछ । यस्तै चीनका प्रतिनिधि पनि सहभागी हुनेछन् ।

सम्मेलनमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणका उपलब्धीहरु र त्यसको दीगोपनासम्बन्धी विशेष प्रस्तुति दिने कार्यक्रम छ । यस्तै विज्ञहरु, गाउँपालिका र नगरपालिका प्रमुखहरुको पनि प्रस्तुति रहने छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले विपद्, पुनर्निर्माण लगायतका विषयमा तुलनात्मक रुपमा अनुभव आदान–प्रदान गर्न र भावी रणनीति बनाउन सहयोग पुर्याउने उद्देश्यले सम्मेलन आयोजना गर्न लागेको जानकारी दिए ।

गाउँपालिका राष्ट्रिय महासंघका कार्यकारी अधिकृत बिमल पोख्रेलले स्थानीय तहसँगको सहकार्यमा नेपालमा निजी आवास पुनर्निर्माणले फड्को मारेको र नेपालले प्राप्त गरेको उपलब्धीहरु तथा अनुभवबाट अन्तर्राष्ट्रिय समुदायले समेत सिक्न सकून भनेर सम्मेलनको आयोजना गरेको जानकारी दिए ।

सोमबार र मंगलबार हुने सम्मेलन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, गाउँपालिका राष्ट्रिय महासंघ, नेपाल नगरपालिका संघ, युनाइटेड सिटी एण्ड लोकल गभरमेन्ट एसिया प्यासिफिक र युरोपेली युनियनको संयुक्त आयोजना हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.