धितोपत्र राफसाफ एकैदिन हुने व्यवस्था गर्दैछौंः डा रेवतबहादुर कार्की

  २०७६ जेठ २६ गते १०:५१     विकासन्युज

धितोपत्र बोर्डले शनिबारमात्रै आफ्नो स्थापनाको २७ औं वार्षिकोत्सव मनाएको छ । धितोपत्र बजारको नियामक निकायको रुपमा रहेको बोर्डको स्थापना २०५० माघ २५ गते भएको थियो । धितोपत्र बजारको २६ वर्षे छोटो इतिहासका बाबजुद यो क्षेत्रले नयाँ प्रविधि र अभ्यासलाई आत्मसात गर्दै अघि बढिरहेको छ । यद्यपि यो बजारलाई अन्तराष्ट्रिय स्तरमा पुर्याउनको लागि अझै धेरै प्रयासहरू गर्नुपर्ने आवश्यकता देखिएको छ । प्रस्तुत छ बोर्डको वार्षिकोत्सवको अवसरमा धितोपत्र बजारको हालको अवस्था, समस्या र आगामी योजनाबारे केन्द्रित रहेर बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीसँग गरिएको विकास बहसः

धितोपत्र बोर्डले २७ औं वार्षिकोत्सव मनाउँदै गर्दा यो अवधिमा बोर्डले गरेका कामहरुको समीक्षा कसरी गर्नुहुन्छ ?
वार्षिकोत्सवको मुख्य उद्देश्य भन्नु नै विगतका आफ्ना सफलता र असफलताको सिंहावलोकन गर्ने हो । विगतको सफलताले थप नयाँ काम गर्ने अभिप्रेरणा मिल्छ भने असफलतालाई सच्याएर अघि बढ्न पनि सकिन्छ । त्यसैले हाम्रो २७ औं वार्षिकोत्सवले पनि हामीलाई हाम्रो विगतको ‘रिभ्यु’ गर्ने अवसर दिएको छ, यस अर्थमा यो वार्षिकोत्सव महत्वपूर्ण छ ।

खासगरी २६ वर्षको यो अवधिमा विशेषतः पुँजी बजारको विकासका लागि धेरै कामहरु भए । अन्तर्राष्ट्रिय रुपमा प्रचलनमा रहेका बजार प्रणालीका राम्रा अभ्यास र प्रविधिलाई आत्मसात गर्दै हामीले पुँजी बजारलाई थप व्यवस्थित, मर्यादित र प्रतिस्पर्धात्मक बनाउने सम्दर्भमा काम गरेका छौं । कराएर शेयर खरिद बिक्री गर्ने हाम्रो प्रणाली छोटो अवधिमै अटोमेटेड बन्न सकेको छ । धितोपत्र राफसाफ हुन ५-६ महिना लाग्ने अवधि ३ दिनमा झरेको छ । यसलाई अझै १ दिनमा ल्याउने तयारी छ ।

शेयर आवेदनका लागि घन्टौंसम्म लाइन बस्नुपर्ने अवस्था अन्त्य भई इलेक्ट्रोनिक डिभाइससम्म लगानीकर्ताको पहुँच आइपुगेको छ । यसरी आम लगानीकर्ताहरूले महसुस गर्न सक्नेगरी हामीले बजारको विकास र विस्तार गरेका छौं । त्यसबाहेक पनि बजारका विभिन्न स्टेक होल्डरहरूको गतिविधिहरुलाई थप प्रतिस्पर्धी र गुणस्तरीय बनाउने काम पनि हामीले गरेका छौं । समग्रमा बजारको विकासका लागि हाम्रो प्रयासलाई हामी उत्साहप्रद नै मान्छौं, यसमा अझै धेरै अघि बढ्नुपर्ने र धेरै गर्नुपर्ने आवश्यकता हामीले देखेका छौं, भोलिका दिनमा यस्ता आवश्यकताहरुलाई पूरा गर्नेतर्फ हाम्रो पाइला अघि बढु्ने छ ।

धितोपत्र राफसाफ हुन ५-६ महिना लाग्ने अवधि ३ दिनमा झरेको छ । यसलाई अझै १ दिनमा ल्याउने तयारी छ ।

बोर्डको अध्यक्षको हैसियतमा तपाईको ४ वर्षे कार्यकाल सकिन लागेको छ । आफ्नो कार्यकाललाई कसरी समीक्षा गर्नुहुन्छ ?
सरकार तथा नियामक निकायले गर्ने भनेको बजार सुधारका कामहरु हुन् । बजारलाई कसरी प्रभावकारी, बहुआयामिक तथा पारदर्शी बनाउने भन्ने हो । पछिल्लो दशकमा हामीले ओटीसी बजार सञ्चालन तथा शुल्क कटौती, अनलाइन ट्रेडिङ, आश्वा प्रणाली आदि जस्ता थुप्रै व्यवस्था ल्याई कार्यान्वयन गरिसकेका छौं । जसले गर्दा प्राथमिक बजारमा लाखौं लगानीकर्ताले घरबाटै शेयर बजारमा लगानी गर्न तथा शेयर किनबेच गर्न पाएका छन् । त्यस्तै, धितोपत्रको सार्वजनिक निष्कासनमा १० कित्ता पाउने समावेशी वितरण प्रणालीको शुरुवात भएको छ ।
१० कित्ताको लागि पनि आवेदन गर्न सक्ने व्यवस्थाले विद्यार्थीसहित स–साना पूँजी भएको वर्ग समेतको सहभागिता बढेको छ । त्यस्तै, चालू आवको एक नेपाली एक डिम्याट खाता अभियानमा समेत व्यापक सहभागिता बढ्ने देखिएको छ । भारतमा आश्वा प्रणाली अनिवार्य गर्न ८ वर्ष लागेको तर हामीले यसलाई ६ महिनामै अनिवार्य गरेको हौं ।

९० दिनसम्म बैंकमा जम्मा हुने लगानी अहिले एक हप्ताको अवधिमै फर्किन्छ । त्यस्तै, आईपीओ बाँडफाँड भएपछि कारोबार हुन पहिला ६ महिना लाग्थ्यो । अहिले एक/दुई हप्ता अर्थात ढिलामा एक महिनाभित्रै दोश्रो बजारमा कारोबार गर्न पाइने छ । यति हुँदा पनि कति राम्रो भएको छ भने कतिलाई अप्ठ्यारो भइरहेको होला । किनकी यहाँ राम्रो कामको मूल्याङ्कन र प्रशंसा नगर्ने चलन छ ।

हकप्रद तथा बोनस सेयर डिम्याट खाता र नगद लाभांश लगानीकर्ताको बैंक खातामा जाने व्यवस्था, धितोपत्रको प्रिमियम गणना विधि र प्रकृया निर्धारण, धितोपत्र सार्वजनिक निष्कासनमा प्राकृतिक व्यक्तिले मात्र आवेदन दिन पाउने व्यवस्था लागू भएको छ । त्यस्तै, दोस्रो बजारमा धितोपत्रको कारोबार वृद्धि हुँदै गएकोले भुक्तानी प्रक्रियालाई सहज बनाउन ४ वटा क्लियरिङ्ग बैंक(ग्लोबल आईएमई, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट र प्रभु) थप भएका छन् ।

ओटिसी बजारको विकास र कारोबार शुल्कमा कटौती, मर्चेण्ट बैंकरको कार्यक्षेत्र थप तथा चुक्ता पुँजी वृद्धि, दलाल व्यवसायी सेवा शुल्कमा कटौती र धितोपत्र दलाल व्यवसायीको पूँजी वृद्धि तथा वस्तु विनिमय बजार ऐन र वस्तु विनिमय बजार सम्बन्धी नियमावली, २०७४ लागू भएको छ ।

पछिल्लो समय प्राथमिक बजारमा लगानीकर्ताको आकर्षण धेरै बढेको छ । बजारमा आएका नयाँ आईपीओहरूमा देखिएको लगानीकर्ताको संख्या र सेन्ट्रल डिपोजिटरीको डिम्याट संख्याले यसलाई प्रमाणित गर्छ ।

त्यस्तै, क्रेडिट रेटिङ्ग नियमावली अन्तर्गत तोके बमोजिम योग्यता पुगेका विदेशमा स्थापित भई क्रेडिट रेटिङ्ग गरिरहेका संस्थाले कम्तीमा ५१ प्रतिशत र बढीमा ७५ प्रतिशत स्वामित्व ग्रहण गरी प्रचलित कानुन बमोजिम नेपालमा संयुक्त लगानीमा कम्पनी स्थापना गरी क्रेडिट रेटिङ्ग व्यवसाय सञ्चालन गर्न पाउने व्यवस्था भएको छ ।

बोर्डले विभिन्न कोणबाट सुधार गरिरहेको छ । पहिले संस्थाको क्षमता बढाउन संस्थागत सुधार जस्तै, २२-२३ जना कर्मचारीमा अहिले बढेर करिब ७५ जति पुगेको छ । त्यस्तै, विभिन्न लगानीकर्ताहरुको गुनासो सुनि त्यसलाई कसरी समाधान गर्ने भन्ने तर्फ लागि परेका हुन्छौं । प्राथमिक बजार, दोश्रो बजार, मर्चेन्ट बैंकिङ सेवा, ब्रोकरको मात्र नभई संस्थागत सुधार समेत गरिरहेको छ ।

यति मात्रै नभइ हामीले अन्तर्राष्ट्रिय बजारमा पनि आईओएससीओ, एएनएनए, ओईसीडी आईएनएफई, एएफआईई/एसएएसआरएफको सदस्यता प्राप्त गरिसकेका छौं । जसका लागि हामी २०५० सालदेखि निरन्तर प्रयासमा रहेका थियौं । यससँगै धितोपत्र बजार अन्तर्राष्ट्रियकरण भएको र लगानीकर्ताहरूले बजारको गहिराइ हेर्न पाउने भएका छन् ।

हाम्रो काम भने बजार सुधार गर्ने, नयाँ नयाँ प्रडक्टहरु ल्याउने हो । यस सन्दर्भमा मार्जिन ट्रेडिङ, ओपन इन्ड म्युचअल फण्ड स्किम, भेन्चर क्यापिटल जस्ता योजनाहरू बजारमा ल्याइसकेका छौं । जुन भारतमा बाहेक अन्य देशमा छैनन् । यस्ता प्रडक्टहरू हामीले लगानीकर्ताहरूको पोल्टामा राखिदिएका छौं । अब त्यसलाई के कसरी प्रयोग गर्ने, मार्केटलाई कहाँ लैजाने भन्ने कुरा लगानीकर्ताको हातको कुरा हो । यस्तो अवस्थामा अब कसले कति गर्यो, के के हुनुपथ्र्यो भन्नेजस्ता कुराहरु सापेक्ष विषय हुन् ।

बजारको सुधारका लागि धेरै कामहरु गर्ने प्रयास गरेको छु र आफ्नो कार्यअवधि रहुन्जेल थप कामका लागि अघि बढ्नेछु । तर मेरो कार्यकालको समीक्षा भने म आफैं गर्दिँन, तपाईँहरु (पत्रकार) र आम लगानीकर्ताले नै मेरो कार्यको समीक्षा गरुन् ।

बजार सुधारको लागि यतिका काम भइरहँदा पनि लगानीकर्तामा अपेक्षित उत्साह चाहिँ किन नदेखिएको ?
पछिल्लो समय प्राथमिक बजारमा लगानीकर्ताको आकर्षण धेरै बढेको छ । बजारमा आएका नयाँ आईपीओहरूमा देखिएको लगानीकर्ताको संख्या र सेन्ट्रल डिपोजिटरीको डिम्याट संख्याले यसलाई प्रमाणित गर्छ । त्यसैले यसमा लगानीकर्ता आकर्षित छैनन् भन्ने होइन, यो बजारमा धेरै आकर्षण देखिएको छ ।

तर तपाईले दोस्रो बजारकोे कुरा गर्नुभएको होला । दोस्रो बजारलाई कन्ट्रोल गर्ने भनेको डिमान्ड र सप्लाईले हो । बजारमा रहेका कम्पनीहरुको पुँजी वृद्धिले गर्दा यसको आपुर्ति बढ्यो, पछिल्ला केही वर्षहरूमा बैंकको पुँजी २ अर्बबाट ८ अर्ब पुगे, त्यहीअनुसार अन्य बैंक, वित्तीय संस्था, बीमा कम्पनी र अन्य सूचीकृत कम्पनीहरुको पुँजी बढिरहेको छ । तर त्यसअनुसार माग पक्ष बढ्न सकेन ।
दोश्रो कुरा, निरन्तर जस्तो भएको तरलताको अभाव, जसले बैंक तथा वित्तीय संस्थाको ब्याजदर उच्च भयो । सबैलाई थाहा छ, बैंकको ब्याजदर र सेयर बजारबीच विपरित सम्बन्ध छ । यसका साथै, वित्तीय साक्षरता कम छ त्यसैले नि बजारमा बढी हल्ला हुने गर्छ ।

धेरै वर्षदेखि एनआरएनको लगानी दोश्रो बजारमा भित्र्याउने कुरा चलिरहेको छ । त्यो ठ्याक्कै भित्रिने दिन चाहिँ कहिले आउँछ ?
एनआरएनको विषयमा बजारमा जे जसरी हल्ला चलिरहेको छ, त्यो सबै नबुझेर हल्ला फैलिएको हो । जब म स्टक एक्स्चेञ्जको सीईओ थिएँ । त्यसबेला ट्रेडिङ अटोमेसन गरेपछि एनआरएन ल्याउने पर्यो भनेर प्रयास मात्र नभई अध्ययन समेत गरेको थिए । त्यो सन्दर्भमा एनआरएनको लागि श्रीलंकन मोडल सबैभन्दा उत्तम मानिन्थ्यो । एनआरएन जुन विकसित मुलुकमा मात्रै हुन्छ, त्यसैले उनीहरुलाई विकसित मुलुकमा जस्तै सुविधा नदिई यहाँ आउनेवाला छैनन् । त्यसैले हामीले २०७२ माघबाट टी प्लस टी गर्यौं र अहिले अनलाइन भइसकेका कारणले त्यसको आधार तयार भएको हो । तर अझै पनि हाम्रो बजार एनआरएनलाई आकर्षण गर्ने किसिमको बनिसकेको छैन । आगामी आवको बजेटले पनि त्यसलाई सम्बोधन गरेको छ साथै, अर्थ मन्त्रालयको कमिटिले पनि यस विषयमा अध्ययन गरिरहेको छ ।

हाम्रो काम भने बजार सुधार गर्ने, नयाँ नयाँ प्रडक्टहरु ल्याउने हो । यस सन्दर्भमा मार्जिन ट्रेडिङ, ओपन इन्ड म्युचअल फण्ड स्किम, भेन्चर क्यापिटल जस्ता योजनाहरू बजारमा ल्याइसकेका छौं ।

अहिलेसम्मको अध्ययनले एनआरएनले लगानी गर्न पाउने त्यस्तो के के व्यवस्था गरेको छ ?
यसमा तीन वटा कुरा हुन्छ । पहिलो त न्यूनतम कति लगानी गर्न दिने, दोस्रो अधिकतम कति दिने र तेस्रो कति वर्षदेखि कति लाभांश लैजान दिने ? करका विषयमा समेत स्पष्टता हुनु पर्यो । यसपछि हाम्रो बजार हेरेर मात्र उक्त लगानीको बाटो खुला गरिने छ । मुख्य कुरा त विदेशीहरू लगानी गर्न तत्पर हुनु पर्यो । नत्र उनीहरुलाई दोस्रो बजारमा भित्र्याउनु हाउँगुजी होइन ।

बजारमा सबैले एनआरएनलाई दोश्रो बजारमा भित्र्याउने विषयलाई हाउगुजी जस्तै मानिरहेका छन् । तर तपाईले होइन भन्नुभयो । किन ? के कारणले यसलाई सहजरुपमा लिनुभयो ?
हो त, एनआरएनलाई दोस्रो बजारमा भित्र्याउनु हाउँगुजी होइन किनभने अघि नै भनिसके कतिदेखि कतिसम्म लगानी गर्न दिने र कति वर्षदेखि लाभांश लैजान दिने भन्ने बारेमा स्पष्ट हुनुपर्यो । यसका साथै, १० हजारबाट कारोबार गर्न दिने भन्ने भयो भने उनीहरूले १० हजार डलरको खाता वाणिज्य बैंकमा खोलेपछि त्यसलाई नेपाली मुद्रामा कारोबार गर्न सजिलै पाउँछ । किनकी उनीहरुले नेपालको नागरिकता दिने भनिएको छ । तर हामीले बजारलाई भने अझ पारदर्शी र प्रभावकारी बनाउनु पर्छ ।

वित्तीय साक्षरताको सन्दर्भमा धितोपत्र बजारमा नयाँ लगानीकर्ता भित्र्याउन बोर्डले के-कस्तो सचेतना कार्यक्रम गरेकोे छ ?
हामीले यस्ता थुप्रै काम गरिरहेका छौं । पहिलो कुरा त हामीले नेपालको ७७ जिल्ला मध्ये ७२ जिल्लामा सचेतना कार्यक्रम गरिसकेका छौं । यति मात्र नभएर दोस्रो, प्रदेश प्रदेशमा पत्रकारहरूलाई आर्थिक तथा पुँजीबजार सम्बन्धि प्रशिक्षण दिँदै आएका छौं । हालसम्म २ र ६ नम्बरको प्रदेशमा सम्पन्न गरिसकेका छौं । अब आगामी २७ गते विराटनगर अर्थात प्रदेश नम्बर १ मा दिँदै योजना बनाएका छौं । त्यस्तै, टीओटी (टिचर्स ट्रेनिङ) अर्थात् लगानीकर्तालाई प्रशिक्षण, लगानीकर्तासँग रेडियोमा प्रत्यक्ष संवाद आदि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.