राष्ट्र बैंकबाट विदा लिदै नारायण पौडेलले भने–‘तपाईहरु सबैको भलोहोस्’

  २०७६ जेठ २५ गते १२:४१     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले आजबाट राष्ट्र बैंकबाट अवकाश पाएका छन् । कार्यालय नगई उनले सामाजिक सञ्जालबाट आफू सेवानिवृत भएको जनाउदै राष्ट्र बैंकमा कार्यरत सबैको भलो चिताएका छन् ।

३० वर्षे सेवाअवधिका आधारमा अनिवार्य अवकाश लिनु नपर्ने गरि नेपाल राष्ट्र बैंकले २०७४ कात्तिकमा संशोधन गरेको कर्मचारी नियामावली कार्यान्वयन गर्न सर्वोच्च अदालतले बाटो खोलिदिएपछि पनि त्यसको कार्यान्वयन नहुँदा पौडेलसहित चार कार्यकारी निर्देशकले आजबाट अनिवार्य अवकाश पाएका छन् ।

नारायण पौडेल

‘आज भन्दा ठिक ३० वर्ष अघि २०४६ जेठ २५ गते नेपाल राष्ट्र बैंकको अधिकृत तृतीय पदमा सेवा प्रवेश गरी आजबाट सेवानिवृत्त भएको छु । यस अवधिमा आदरणीय अग्रज, समकक्षी एवम् अन्य सम्पूर्ण साथीहरूसंग विभिन्न हैसियतमा संगै काम गर्ने सुअवसर प्राप्त भयो । पछिल्लो समयमा पत्रकार साथीहरुसंगको सामिप्यमा रहेर काम गर्ने भूमिकामा पनि रहेँ । सँगै रहँदा, बस्दा र सहकार्य गर्दा यदाकदा हामीबीच केही तितामिठा अनुभव पनि रहे होलान्, ती चिरकाल पर्यन्त भने होइनन् । आगामी दिन सबैका लागि शुभ हुन्, शुभ रहुन्, सबैको भलो होस्’ उनले फेसबुकमा लेखेका छन् ।

पछिल्लाे समय उनी राष्ट्र बैंककाे नियमन विभाग प्रमुख र प्रबक्ताकाे जिम्मेवारीमा थिए ।

शुक्रबार साँझ बसेको नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक अनिर्णयकाे बन्दी बन्दा विदामा बसेका कार्यकारी निर्देशकहरु पौडेल, नरबहादुर थापा, भीष्मराज ढुङ्गाना र भरत शर्मा आचार्यले निराशजनक रूपमा अवकाश पाएका छन् ।

उनीहरूले इच्छाएकाे अवस्थामा अदालतकाे सहयाेगमा पुर्नवहालीकाे सम्भावना रहेकाे कानुनव्यवसायीहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.