बाँदरमुढेमा १२ करोडको लागतमा स्मृति उद्यान बनाइने

  २०७६ जेठ २३ गते १४:१६     विकासन्युज


रत्ननगर । चितवन माडीको बाँदरमुढे घटनाका मृतकको सम्झनामा स्मृति उद्यान बनाइने भएको छ । घटना भएको ठाउँदेखि ५०० मिटर पश्चिमपट्टिको विद्यालयको तीन बिघा क्षेत्रफलमा उद्यान बनाउन लागिएको हो ।

माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले बाँदरमुढे घटना भएको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न उद्यान बनाउन लागिएको बताए । उद्यान निर्माण गर्न रु १२ करोडको डिपिआर निर्माण भएको उनले जानकारी दिए । उद्यान निर्माण गर्न डिपिआर सम्पन्न भई अर्थ मन्त्रालयबाट स्वीकृत भइसकेको छ । “बहुवर्षीय योजनाका लागि शहरी विकास मन्त्रालयमा पेश गरेका छौँ”, उनले भने, “आगामी आर्थिक वर्षबाट काम शुरु हुन्छ, यो नेपालकै लागि ऐतिहासिक पर्यटकीय क्षेत्रको रुपमा रहन्छ ।”

प्रमुख ढकालका अनुसार यो उद्यानमा पर्यटकीय पूर्वाधार निर्माण हुनेछ । उद्यानमा फन पार्क, मृतक सबैका शीर कुँदिएका स्मारक बनाउने, माडीको संस्कृति, वेषभूषा झल्कने सङ्ग्रहालय बनाउने र सबैले पूजा गर्न मिल्ने गरी मन्दिर बनाउने योजना नगरपालिकाको छ । “मृतकका पीडितले बनाएको पुरानो स्मारक पनि यथावत रहन्छ”, उनले भने, “उद्यानले शान्ति प्रक्रियामा आइसकेपछि सो घटनालाई कसरी हेरिएको छ भन्ने सन्देश प्रवाह गर्छ । जसले गर्दा उद्यानमा ऐतिहासिक महत्व झल्किन्छ ।”

राष्ट्रिय आधारभूत विद्यालय बाँदरमुढे र दिवाकर स्मृति विद्यालयसँग मर्ज हुन लागेकाले उद्यानलाई चाहिने जग्गा सहजरूपमा प्राप्त भएको उहाँको भनाइ छ । विस २०६२ जेठ २३ गते यात्रुबाहक बसमा शक्तिशाली एम्बुस पडकिएर ४२ ले ज्यान गुमाएका थिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.