विश्व बैंकले गर्यो सन् २०२१ सम्मको आर्थिक वृद्धिदरको प्रक्षेपण, यसवर्ष ७.१ प्रतिशत रह्ने

  २०७६ जेठ २३ गते १३:०३     विकासन्युज

काठमाडौं । विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत पुग्ने संशोधित अनुमान प्रक्षेपण गरेको छ । बिहीबार राजधानीमा कार्यक्रम आयोजना गरेर बैंकले नेपाल डेभलमपेन्ट अपडेट सार्वजनिक गरेको हो ।

केन्द्रीय तथ्यांक विभागले यस अघि वैशाखमा यस वर्ष मुलुकको आर्थिक वृद्धिदर ६.८१ प्रतिशत रह्ने तथ्यांक सार्वजनिक गरिसकेको छ ।

विभागले सो तथ्यांक सार्वजनिक गरेपनि आगामी आवको बजेट प्रस्तुत गर्दा अर्थमन्त्री डा. युवराज खतिवडाले ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान प्रस्तुत गरेका थिए ।

विश्व बैंकको पछिल्लो प्रक्षेपणले लक्षित आर्थिक वृद्धिदर हासिल हुन नसकेपनि नेपालको अर्थतन्त्र केही उस्किएको तथ्यांक सार्वजनिक गरेको छ । बैंकले आगामी आव २०७६/७७ मा ६.४ प्रतिशत आर्थिक वृद्धि रह्ने समेत प्रक्षेपण गरेको छ भने आव २०७७/७८ मा साढे ६ प्रतिशत आर्थिक वृद्धिदर रह्ने अनुमान गरेको छ । कार्यक्रममा डा. खतिवडाले दोहोरो अंकको आर्थिक वृद्धि दीगो विकास हुनुपर्ने बताए ।

बैंकले यस वर्ष ४.१ प्रतिशत मूल्य वृद्धि रहने अनुमान गरेको छ । नेपाल सरकारले भने साढे चार प्रतिशत मूल्य वृद्धि रह्ने तथ्यांक सार्वजनिक गरेको छ ।

विश्व बैंकले आयोजना गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकको दीगो विकासका लागि तीव्रगतिमा काम गर्नुपर्ने बताए । अहिले जति विकास भएका छन्, यसलाई दीगो बनाउदै यसबाट अझ बढी प्रतिफल लिने बनाउनु पर्ने हुन्छ,’ डा. खतिवडाले भने ‘ विश्व बैंकको यो डकुमेन्टमा धेरै कुरा आएका छन् । नेपालको पूर्वाधार निर्माणदेखि सामाजिक पक्षलाई समेत समेटेर बनाइएको प्रतिवेदनले नेपालको विकासमा थप टेवा पुग्छ ।

विस्तारै हाम्रो अर्थतन्त्र बढ्दै छ । स्रोत र साधन निश्चित छन्,’ उनले थपे ‘संघीयतालाई संस्थागत गर्न चुनौती छ ।’ आर्थिक विकासमा समानुपातिक सहभागिता आवश्यक रहेको उनको भनाइ छ । देशको अर्थतन्त्र बढ्दै गएपनि स्रोत व्यवस्थापनमा तथा राजस्व संकलनमा भन्सारमा निर्भर हुनुपरेको उनले बताए ।

कार्यक्रममा विश्व बैंक नेपालकी वरिष्ठ अर्थशास्त्री केन एजिमेनारीले व्यापार घाटा नेपालका लागि चुनौतीपूर्ण भएपनि दीगो विकास लक्ष्य प्राप्त गर्न तिव्र गतिमा विकास निर्माणका काम गरिनु पर्ने बताइन् । विश्व बैंकका दक्षिण एसिया अर्थशास्त्री हेन्स टिमरले कमजोर निर्यात, अस्वस्थ प्रतिष्पर्धाको बजार र महिला सहभागिता निकै कम हुनु नेपाली अर्थतन्त्रका लागि चूनौती रहेको जानकारी दिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.