पर्यटन क्षेत्रको कुम्भमेला ‘हिमालयन ट्राभल मार्ट’ आजदेखि, ४३ देशको सहभागिता

  २०७६ जेठ २३ गते ९:३४     विकासन्युज

काठमाडौँ । नेपालसहित ४३ मुलुकका पर्यटन व्यवसायीको जमघट रहने ‘हिमालयन ट्राभल मार्ट’को तेस्रो संस्करण आजदेखि काठमाडौँमा शुरु हुँदैछ । पर्यटन क्षेत्रको कुम्भमेलाका रुपमा लिइने मार्टमा अन्तरदेशीय पर्यटन प्रवद्र्धन तथा व्यापार विस्तारमा सहयोग पुग्ने अपेक्षा लिइएको छ ।

नेपाललाई हिमालयन प्रवेशद्वारका रुपमा परिचति गराउँदै नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना हुने मार्टको आज साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नेछन् । सोल्टी क्राउन प्लाजामा यही जेठ २६ गतेसम्म चल्ने मार्टमा ४३ देशका करीब ७०० ले सहभागिता जनाउने मार्ट आयोजक प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष सुनिल शाक्यले बताए ।

सन् २०१७ देखि वार्षिक कार्यक्रमका रुपमा आयोजना हुँदै आएको मार्ट नेपाललाई अन्तर्राष्ट्रिय रूपमा चिनाउने सशक्त ब्राण्डका रुपमा विकसित हुँदै गएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम तथा पाटा इन्टरनेशनलको सहयोगमा पाटा नेपाल च्याप्टरले मार्ट आयोजना गर्न लागेको हो ।

मार्टअन्तर्गत यस पटक व्यवसायीसँग व्यवसायी ९बीटुबी० मार्टमा ३० मुलुकबाट विश्वव्यापी क्रेता कम्पनी र छ मुलुक (नेपाल, भारत, पाकिस्तान, चीन, भूटान र थाइल्याण्ड) बाट ५४ विक्रेता कम्पनी तथा संस्थाले सहभागिता जनाउने पाटा नेपालले जनाएको छ ।

नेपालको पर्यटनलाई विश्वबजारमा प्रवद्र्धन गर्ने उपयुक्त थलोका रुपमा ट्राभल मार्ट स्थापित भएको नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । मार्टमा सहभागिता जनाउने सबै विदेशी पाहुना बुधबारसम्म नेपाल आइसकेका पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत सिइओ सुरेशसिंह बुडालले जानकारी दिए ।

मार्टमा प्रमुख वक्ताका रुपमा विश्वविख्यात हिमाल आरोही डक स्कट रहनेछन् । यस्तै अन्य दुई दर्जन राष्ट्रिय वक्ता तथा पर्यटनसम्बद्ध सरोकारवालाबीच पर्यटनका विविध पक्षबारे चर्चा हुने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.