रुख काटेर बनाइयो बाटो फराकिलो

  २०७६ जेठ २२ गते १६:१३     विकासन्युज

काठमाडौँ । उपत्यकाको ट्राफिक व्यवस्थालाई चुस्त तथा दुरुस्त बनाउन करिडोर निर्माणको कामलाई तीव्रता दिइएको छ ।महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि अगाडि सारेको तीन महिने कार्ययोजनाअन्तर्गत करिडोर निर्माण कार्यलाई तीव्रता दिएको हो ।

करिडोर निर्माणका क्रममा महाशाखाले आज काठमाडौँ महानगरपालिकाको सहकार्यमा बालाजु गुरु नानक मठ अगाडि रहेको रुख काटेर बाटो फराकिलो बनाएको हो ।उक्त करिडोर बढाएसँगै अब झोरदेखि बानियाटार, नयाँ बसपार्क, म्हैपी, बालाजु हुँदै शोभाभगवती हुँदै कालीमाटीसम्म सवारी साधन चल्न सहज हुनेछ ।

महाशाखाका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले रातोपुल, सेतोपुल, भत्केकोपुल, बालकुमारी पुल, नयाँ बसपार्क क्षेत्रमा करिडोर निर्माण गरिसकेकोको जानकारी दिएका छन् ।यस्तै, महाशाखाले उपत्यकाको ट्राफिक सुधारका लागि सवारी साधनमा प्रदूषण चेकजाँच, जेब्राक्रसिङ निर्माण, चालकलाई सचेतनामूलक कक्षालगायतका कार्यक्रम पनि सञ्चालन गरिरहेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले करिडोर निर्माणसँगै उपत्यकामा सवारी सञ्चालनमा सहज हुने बताए । “करिडोर निर्माण गरेर मात्र हुँदैन, सवारी साधन चल्ने खालको हुनुपर्छ”, उनले भने । यसै क्रममा साहले यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा ११ लाख सवारी साधन सञ्चालनमा रहेको समेत बताएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.