आमा समूहले गरे सामूहिक फूल खेती

  २०७६ जेठ २२ गते १४:५८     विकासन्युज

काठमाडौं । गाउँमा फूलको मागलाई आपूर्ति गर्न डाँडागाउँका आमा समूहले सामूहिक फूल खेती शुरु गरेका छन् । घरवासमा आउने पाहुना हुन् वा कुनै औपचारिक कार्यक्रममा आवश्यक पर्ने फूल बजारबाट खरिद गरेर होइन आफैँ उत्पादन गर्ने लक्ष्यका साथ सामूहिक फूलखेती शुरु गरिएको हो ।

कास्कीको पूर्व भेगस्थित मादी गाउँपालिकाको केन्द्र वडा नं– ३ याङ्जाकोटस्थित डाँडागाउँमा आमा समूहले थप आयआर्जनका साथै आगन्तुक पाहुनाको स्वागतका लागि गाउँमै फूल खेती शुरु गरिएको समूहका अध्यक्ष पूर्णश्री गुरुङले बताएका छन् । घरवास कार्यक्रमलाई उत्पादनसँग जोड्ने उद्देश्यका साथ व्यावसायिक रुपमा फूलखेती शुरु गरिएको उनले जानकारी दिएका हुन् ।

स्थानीय ननसुब्बा गुरुङले निःशुल्क प्रदान गर्नुभएको करिब एक रोपनी जग्गामा टनेलसहित चार हजार रुपैयाँमा खरिद गरेको फूलको बीउबाट बेर्ना उत्पादन गरी खुला रुपमा ५०० बिरुवा रोपिएको उनले बताएका छन् । त्यसैगरी, फूलखेतीका लागि कूल ५० हजार रुपैयाँ खर्च गरिएको जानकारी दिँदै उनले त्यसका लागि वडास्तरीय बजेटबाट २५ हजार रुपैयाँ अनुदान प्राप्त भएको जानकारी पनि दिएका छन् ।

उक्त टलेनभित्र ढकमक्क सयपत्री फूल फुलेका र घरवासमा आउने पाहुनालाई त्यही फूल टिपेर सामूहिक रुपमा तयार गरेको मालाले स्वागत गर्ने समूहको अभियानलाई निरन्तरताका लागि गाउँपालिकाको महत्वपूर्ण भूमिका रहने समूहका सचिव लालकुमारी गुरुङले बताए ।

ग्रामीण पर्यटन प्रवर्धन गर्ने लक्ष्यका साथ अन्नपूर्ण आरोहण दिवस मनाउन सो घरवास कार्यक्रममा पुगेको टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल(टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घ एवं नेपाल पर्वतारोहण सङ्घ अन्नपूर्ण शाखासहितको करिब १०० को हाराहारीमा रहेको टोलीलाई स्थानीय विभिन्न पाँच वटा आमा समूहले तयार गरेका मालाले स्वागत गरेका थिए ।

याङ्जाकोट सामुदायिक घरवास सञ्चालक समितिका अध्यक्ष रोशन गुरुङका अनुसार आमा समूहले सामूहिकरुपमा उत्पादन गरेको अर्गानिक फूल खरिद गरी पाहुनालाई स्वागत गर्न पाउँदा खुशी लागेको छ । गाउँमा रहेको बाँझो जग्गामा युवा शक्तिलाई परिचालन गरी कृषिमा संलग्न गराई जैविक उत्पादनमा जोड दिइने उनले जानकारी दिदैं भने, “रमणीय गाउँ याङ्जाकोटमा २५० वटा घरमध्ये अहिले १० वटामा घरवास कार्यक्रम सञ्चालन गरिएको छ जसमा १५० को क्षमता रहेको छ ।

यसरी खादा र आयातीत मालारहित घोषित सो गाउँपालिका १२ वटै वडामा फूल उत्पादनका लागि आमा समूहलाई अनुदानको व्यवस्था गरिएको मादी गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङले जानकारी दिए । पहिलो आर्थिक वर्षमा पर्यटकीय गाउँ ताङतिङको आमा समूहलाई एक लाख रुपैयाँ अनुदान प्रदान गरी फूल उत्पादनलाई जोड दिइएको उल्लेख गर्दै उनले बाह्रै महिना फूल उत्पादन गर्नेतर्फ गाउँपालिकाले तयारी गरिरहेको समेत बताएका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.