नयाँ दिल्लीमा महिलालाई सार्वजनिक यातायातमा निःशुल्क, ‘मतदातालाई प्रभावित पार्ने केजरीवालको योजना’

  २०७६ जेठ २१ गते ९:२७     विकासन्युज


नयाँ दिल्ली । भारतको राजधानी शहरमा झण्डै दश लाख महिलालाई सार्वजनिक यातायात सेवा निःशुल्क प्रदान गरिने नयाँ दिल्लीको सरकारले जानकारी गराएको छ ।

राज्य सरकारले ल्याएको उक्त योजना अन्तर्गत आगामी दुईदेखि तीन महिनाभित्रमा करिब आठ लाख ५० हजार महिलालाई सेवा दिने गरी योजना अघि सारिएको हो । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले भने, “राज्य सरकारले महिलालाई सार्वजनिक यातायातमा यात्रा गर्दा निःशुल्क सेवा प्रदान गर्न बार्षिक एक अर्ब १५ करोड रूपैँया खर्च लाग्नेछ ।”

उनले भने, “सरकारले ल्याएको यो योजना अन्तर्गत केही समयभित्र करिब एक लाख ५० हजार सार्वजनिक यातायातमा सीसीटीभी क्यामेरा जडान गरिने छ जसका कारण ती यातायातका साधनमा यात्रा गर्दा उनीहरूले सुरक्षित महशुस गर्नेछन् ।”

सरकारले यस कार्यक्रममा साना तथा पूराना गाडीलाई विस्थापित गरी ठूला तथा नयाँ गाडी भित्राउने र यसबाट दिल्लीको ट्राफिक प्रदुषणलाई पनि कटौति गर्न मद्दत पुग्ने अधिकारीहरूले बताएका छन् ।

संयुक्त राष्ट्रसंघको वातावरण मामिला हेर्ने एक संस्थाको अध्ययन अनुसार झण्डै दुई करोड व्यक्तिको बसोबास रहेको नयाँ दिल्लीलाई प्रदुषणका हिसाबले विश्वका केही समस्याग्रस्त शहरका रूपमा हेरिने गरेको छ ।

सोमबार योजनाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री केजरीवालले भने, “नयाँ दिल्लीमा सार्वजनिक यातायात प्रणाली र शहरी क्षेत्रका सवारीसाधनले लिने भाडाका कारण कैयौँ दिल्लीवासी कठिन पैदल यात्रा गर्न बाध्य भएका छन् । योजनाबाट उनीहरूले सुरक्षित तथा सहज यातायातको सुविधा लिन पाउने छन् ।”

नयाँ दिल्लीमा विशेष प्रभाव रहेको सानो आम आदमी पार्टीले आफ्नो गिर्दो साखलाई उठाउँदै आगामी जनवरीमा हुने विश्वास गरिएको विधान सभामा मतदातालाई प्रभावित पार्न यो योजना ल्याएको केजरीवालका आलोचकहरूले आरोप लगाएका छन् ।

सन् २०१५ को राज्य निर्वाचनमा केजरीवालको दलले निःशुल्क खानेपानी, विद्युत शुल्कमा छुट, आकर्षक स्वास्थ्य उपचार सेवा, तथा शिक्षामा सुधारको योजनाको घोषणा गर्दै भारी बहुमत ल्याउन सफल बनेको थियो । उसले सन् २०१२ को सामूहिक वलात्कार र हत्याको घटनापछि दिल्लीमा महिलाको सुरक्षालाई सुधार गर्ने प्रतिवद्धता गरेको थियो ।

तर अप्रिल र मे महिनामा भएको राष्ट्रिय (लोकसभा) निर्वाचनमा आफ्नो पूरानो साख बचाउन असफल भएको थियो । जबकी भारतीय राजनीतिमा अनुदारवादी मानिने प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (भाजपा)ले भने दिल्ली लगायत भारतभर दोस्रो पटक पनि उल्लेखनीय जनमत ल्याउन सफल भएका छन् ।

विधान सभामा नयाँ दिल्लीमा भाजपाको अगाडि केजरीवालको आम आदमी पार्टीले कडा प्रतिस्पर्धाको सामना गर्नुपर्ने अपेक्षा धेरै भारतीय विश्लेषकहरूले गरेका छन् । रासस/एएफपी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.