प्रदेश र स्थानीय तहलाई संघीय सरकारले तीन खर्ब १३ अर्ब रुपैयाँ हस्तान्तरण गर्ने

  २०७६ जेठ २० गते १९:१६     विकासन्युज

काठमाडौं । संघीय सरकारले प्रदेश र स्थानीय तहलाई तीन खर्ब १३ अर्ब रुपैयाँ हस्तान्तरण गर्ने भएको छ । संघले अन्तरसरकारी वित्त हस्तान्तरणले गरेको व्यवस्था अनुसार प्रदेश र स्थानीय तहलाई उक्त बजेट विनियोजन गरेको हो ।

संघीय सरकारले संघीय बजेटबाट प्रदेश सरकारलाई ५५ अर्ब २९ करोड ८६ लाख वित्तीय समानीकरण अनुदान र ४४ अर्ब ५४ करोड ५८ लाख सशर्त अनुदान शीर्षकअन्तर्गत हस्तान्तरण गरेकोे हो ।

संघीय बजेट प्रणालीको वित्तीय हस्तान्तरण शीर्षकबाट आगामी आवमा दुई खर्ब १३ अर्ब ८२ करोड रुपैयाँ स्थानीय तहमा विनियोजन भएको छ । सो रकममध्ये सशर्त अनुदानतर्फ एक खर्ब २३ अर्ब ८७ करोड हो भने समानीकरण अनुदानतर्फ ८९ अर्ब ९४ करोड ७० लाख हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले महानगरपालिकालाई तीन अर्ब १३ करोड वित्तीय समानीकरण अनुदान प्रदान गर्ने भएको छ भने चार अर्ब ६२ करोड सशर्त अनुदान प्रदान गर्ने भएको छ । वित्तीय समानीकरण र सशर्त अनुदानअन्तर्गत ६ वटा महानरपालिकाले संघीय सरकारबाट कुल सात अर्ब ४५ करोड १४ लाख अनुदान पाउने व्यवस्था बजेटले मिलाएको छ ।

११ वटा उप–महानगरपालिकाले आगामी आवमा चार अर्ब ६२ करोड सशर्त अनुदान पाउने भएका छन् भने तीन अर्ब ४८ करोड ४१ लाख वित्तीय समानीकरण अनुदान बजेटले विनियोजन गरेको छ । आगामी बजेटबाट २७४ वटा नगरपालिकाहरूले कुल ९५ अर्ब २८ करोड ९९ लाख रुपैयाँ बजेट पाउने भएका छन् । नगरपालिकालाई वित्तीय समानीकरण अनुदान शीर्षकमा संघीय सरकारले ३९ अर्ब ७७ करोड ९६ लाख रुपैयाँ विनियोजन गरेको छ भने सर्शत अनुदान शीर्षकबाट ५५ अर्ब ५१ करोड विनियोजन भएको छ ।

नयाँ बजेटले वित्तीय हस्तान्तरण शीर्षकबाट चार सय ६२ वटा गाउँपालिकालाई एक खर्ब दुई अर्ब ७८ करोड बजेट विनियोजन गरेको छ । गाउँपालिकाले वित्तीय समानीकरण अनुदानमार्फत ४३ अर्ब ५५ करोड २१ लाख अनुदान पाउने भएको छ भने ५९अर्ब २३ करोड २५ लाख सशर्त अनुदान रहेको अन्तर सरकारी वित्तीय हस्तान्तरण २०७६/७७ मा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.