अन्नपूर्ण आधार शिविर जोड्ने १५ किलोमिटर पदमार्ग निर्माण शुरु

  २०७६ जेठ १९ गते ११:३९     विकासन्युज

म्याग्दीम्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको छ । अन्नपूर्ण गाउँपालिका र पर्यटन विभागको सहयोगमा नारच्याङदेखि आधार शिविर जोड्ने पदमार्ग निर्माण शुरु भएको हो ।

पदमार्ग निर्माणका लागि चालू आर्थिक वर्षमा पर्यटन विभागबाट रु २० लाख र गाउँपालिकाले रु तीन लाख विनियोजन गरेको छ । जोखिमपूर्ण अवस्थामा रहेको पदमार्गमा सहज र सुरक्षित आवतजावतका लागि स्तरोन्नति गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष मनबहादुर पुर्जाले बताए ।

हुमखोलादेखि आधार शिविरसम्म करीब १५ किलोमिटर पदमार्गलाई यसै आर्थिक वर्षभित्र फराकिलो बनाउने र सिँढी निर्माण गर्ने लक्ष्य छ । अक्करे पहाड काटेर मानिस हिँड्ने बाटो बनाइएको छ । कतिपय ठाउँमा काठमा टेकेर पहाड पार गर्नुपर्ने अवस्था छ ।

बस्तीदेखि टाढा र भौगोलिकरूपमा विकट ठाउँमा पदमार्ग बनाउन गाउँबाट आवतजावत सम्भव नभएकाले जङ्गलमै बास बसेर काम गरिएको मजदुर लालबहादुर शेरपुञ्जाले बताए । उपभोक्ता समितिमार्फत पदमार्ग निर्माणमा २९ मजदुर परिचालन भएका छन् । पर्यटकको सुविधा र गाउँको पर्यटन विकासका लागि दुखकष्ट सहेर पदमार्ग निर्माणमा जुटेको अर्का मजदुर केशमान पुर्जाले बताए।

खाना र खाजा खाने समयबाहेक बिहान ६ देखि साँझ ६ बजेसम्म पदमार्ग बनाउन तल्लीन हुन्छन् । सन् १९५० को जुन ३ मा फ्रान्सका मौरिस हर्गोजले पहिलोपटक आरोहण गरेको आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्ग विसं २०६८ मा स्थानीयवासीको पहलमा पहिचान भएको हो ।

यसअघि पदमार्ग नहुँदा मुस्ताङको ताउलुङ हुदै पाँचदेखि सात दिन लगाएर जोखिमयुक्त बाटो भएर पर्यटक आधार शिविर पुग्ने गर्दथे । पदमार्ग खुलेपछि आरोही र पर्यटकका खाद्यान्न, बन्दोबस्तीका सामान भरियाले लैजान थालेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.