चीनद्वारा अमेरिकी सामानमाथि थप भन्सार कर उठाउन शुरू   

  २०७६ जेठ १८ गते २१:२३     विकासन्युज

बेइजिङ । चीनले शनिबारदेखि लागु हुने गरी केही अमेरिकी उत्पादनमाथि भन्सार कर थप गरेको चिनियाँ राज्य परिषद्को भन्सार कर समितिले जनाएको छ ।

घोषणा अनुसार अमेरिकाबाट उत्पादित लगभग ६० अर्ब अमेरिकी डलरका आयातित सामान सूचीमध्ये केही सामानका लागि छुट्टाछुट्टै थप कर उठाउनेछ । यसरी लिइने थप करमा सामान अनुसार थप २५ प्रतिशत, २० प्रतिशत र १० प्रतिशतको भन्सार कर असुल्नेछ । त्यस्तै पहिला थप छ प्रतिशतको भन्सार कर उठाउने गरेको सामानमा निरन्तर छ प्रतिशत थपिएको छ ।

चीन–अमेरिका व्यापार विवादबारे अमेरिका र चीनबीच लामो समय छलफलपछि विश्व समुदायले विवाद अन्त्य गरी दुई ठूला अर्थतन्त्रले सम्झौता गर्ने अपेक्षा गरिएको थियो ।

चिनियाँ कानून र नियम बमोजिम, चीनले ’अविश्वसनीय एकाइ सूची’ खडा गर्ने छ । जसमा बजारको नियमको पालना नगर्ने, सम्झौता विपरीत काम गर्ने, व्यापारिक उद्देश्य बाहेकका अन्य लक्ष्य लिएकाहरूले चिनियाँ कम्पनीमाथि नाकाबन्दी र आपूर्ति विच्छेद गरेर चिनियाँ कम्पनीको आधिकारिक हक अधिकारमा गम्भीर क्षति पुर्याएका विदेशी व्यवसाय, संगठन वा व्यक्तिलाई नै समावेश गराइने चीनले बताएको छ । यसका लागि चीनले आवश्यक ठोस कदम छोटो समयमै सार्वजनिक गर्ने चीनले शुक्रबार नै बताएको थियो ।

“चीनले विचारविमर्श र छलफलमार्फत व्यापार द्वन्द्व र मतभेदको समाधान गर्नुलाई प्राथमिकता दिइरहेको बताउँदै आएको छ । तर अमेरिकाले पेलेर अघि बढ्न खोजेमा चीनले पनि बाध्य भै तदनुरूप कदम चाल्न पछि हट्ने छैन,” चिनियाँ बाणिज्य मन्त्रालयका प्रवक्ताले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.